बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा योगेनबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । आइतबार लन्डन अल्पर्टन स्कुल हलमा सम्पन्न एनआरएनए यूकेको पाचौं अधिवेशनले क्षेत्रीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा कृष्ण तिमल्सेना र बालकृष्ण गुरुङ, राष्ट्रिय संयोजक योगकुमार फगामी, सह संयोजक संगीता मरहट्ठा र कोषाध्यक्षमा दासु पाण्डेलाई चयन गरेको छ। सदस्यहरुमा हरिबहादुर थापा, गोपालबहादुर गुरुङ, जयप्रकाश गुरुङ, अर्जुनकुमार कटुवाल, भीम गुरुङ, रामबहादुर गलामी र फणिन्द्र भट्टराई चयन भए। सुरेन्द्र श्रेष्ठ, थर्क सेन, सुष्मा लिम्बु राई, पशुपति भण्डारी र विजन भट्ट अन्तराष्ट्रिय परिषद्को सदस्यमा निर्विरोध निर्वाचित भए।

निर्वाचन समितिका संयोजक एनआरएनए अन्तर्राष्ट्रिय परिषद्का प्रवक्ता डा. हेमराज शर्माले नवनिर्वाचित एनआरएनए यूके पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। संशोधित विधानअनुसार, नयाँ कार्यसमितिले तत्काल थप एक उपाध्यक्षमा शान्ति थापा कुँवर र दुई सदस्यहरु बबी लामा र तस्बिर लामालाई मनोनित गरेको छ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले एनआरएन देशको आर्थिक विकासका मेरुदण्ड भएकाले उनीहरुको सिप र ज्ञानको उचित सदुपयोग गरिनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपाली संघका पूर्व सल्लाहाकार शेष घलेले आर्थिक वृद्धिमा योगदान गर्ने र नेपालमा लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्न एनआरएनले थप जोड दिने बताए। घलेले नेपालमा सामाजिक र आर्थिक लगानी आफ्नो प्राथमिकता रहेको बताए।

काठमाडौंमा रहेका एनआरएनए अध्यक्ष जीवा लामिछानेले टेलिफोनबाट सम्बोधन गर्दै नयाँ कार्यसमितिलाई आपसी सदभाव र एकता कायम गरी अघि बढ्न आग्रह गर्दै सफलताको लागि शुभकामना दिए। उनले विधि विधान नाघेर कसैले एनआरएन संस्था गठनको घोषणा गर्छ भने त्यसलाई केन्द्रले मान्यता नदिने प्रष्ट्याए।

साधारण सभामा एनआरएनए आईसीसी उपाध्यक्ष क्या हितमान गुरुङ, केन्द्रीय प्रवक्ता डा. हेमराज शर्मा, युरोप संयोजक कुमार पन्त, कूल आचार्य, एनआरएनए जर्मनीका प्रमुख संरक्षक पुष्प थापा, एनआरएनए ब्रुनाई अध्यक्ष विश्वदीप तिगेला, एनआरएनए यूके आईसीसी सदस्य विश्वआदर्श पण्डितलगायतले बोलेका थिए।

अधिवेशनले १२ बुँदे घोषणापत्र जारी गर्दै कोषाध्यक्ष दिलरास गुरुङको आर्थिक र संयोजक रामशरण सिम्खडाको वार्षिक प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ।

तपाईको प्रतिक्रिया