पोखरा– एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले दुई÷चार दिनमा सबै राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति बन्ने र देशले निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
अस्वस्थ्यताका कारण आरामका लागि पोखरा आउनुभएका दाहालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिन गत भदौ २८ गतेदेखि पोखरा विमानस्थल अगाडि बसेका रिले अनसनकारीलाई सम्बोधन गर्दै सरकारको नेतृत्व भने जो सुकै पार्टीले पनि गर्नसक्ने बताउनुभयो ।
पहिला चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति भएको थियो तर अहिले परिस्थिति फेरिएकाले दलहरुबीच घनिभूत छलफल भएपछि सरकारको नेतृत्व गर्ने पार्टीको निक्र्यौल हुनेछ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले पोखरा विमानस्थल निर्माणमा देखिएका कानुनी जटिलता टुङ्ग्याउन मन्त्रिस्तरीय टोली चीन जान लागेको जानकारी दिनुभयो ।
पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोली छिटै चीन जान लागेको बताउँदै उहाँले टोलीमा विमानस्थल सरोकार समितिका सदस्यलाई पनि समावेश गरिन लागेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नसमेत आग्रह गर्नुभयो ।
उहाँले अनसनकारीलाई खादा लगाएर स्वागत गर्नुका साथै आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाउनुभयो ।