भोजपुर- सुन्दै अचम्म लाग्ने, मोरङको सुन्दरपुरको यो अप्रत्यारिलो घटना । चन्दा नदिएको झोकमा स्थानीय केही युवाले ढुकुरलाई लखेटेपछि बिरामीको मृत्युसागै पटाक्षेप भएको छ ।
दुई महिनासम्म लगातार बिरामीको कुरुवा बन्दै आएको ढुकुरलाई चन्दा नदिएको झोकमा केही स्थानीय युवाले ढुकुरलाई खेदाए पछि निको हुँदै आएकी बिरामी धनमाया गुरुङको निधन भएको हो ।
हेमाटोमेगाली भन्ने रोगले ग्रसित भएपछि डाक्टर र अस्पतालले माया मारेर घर फर्काइदिइएकी धनमाया गुरुङलाई घर फर्केको भोलिपल्ट दैवीशक्तिका रूपमा ढुकुरले सहयोग गरिरहेको थियो । आर्थिक अवस्था ज्यादै नाजुक रहेका ध्रुव गुरुङकी श्रीमती धनमायालाई थप उपचार गर्न रु. १२ लाख लाग्ने र उपचार गरे पनि लामो आयु नहुने अस्पतालले जनाएपछि सातोपुत्लो उडेका उनीहरूले बिरामीलाई असार २९ गते घर फर्काएका थिए ।
बिरामीलाई घर ल्याएको भोलिपल्ट बिहान ९ बजेतिर एउटा कन्ठे ढुकुर एक्कासि देखापरेको र त्यसपछिका दिनमा नियमित बिहान ६ बजे आउने र दिनभरि बिरामीसँग बसी साँझ ६.४० तिर जाने गरेको स्थानीयवासीले बताएका छन् । मोरङ सुन्दरपुर गाविस वडा नं ४ स्थित ज्योति माविको १२ धुर जग्गामा घर वनाएर बसोवास गर्दै आएका गुरुङले बनिबुतो र मजदुरी गरेर पेट पाल्दै आएका छन् । सङ्खुवासभादेखि बसाइँसराइ आएका गुरुङ २४ वर्षदेखि सुन्दरपुरको मोटेबाधमा बसोवास गर्दै आएका थिए । बसोवास गरेबापत बर्सेनि स्कुललाई १८ किलो धान तिर्ने गर्छन् ।
गरिबीका कारण छोराछोरी पढाउन नसकेका धनमाया तीन छोरा र एक छोरीकी आमा हुन् । सबै छोराछोरीको विवाह भइसकेको छ । सुरुमा मासिक धर्म गडबडी भएकाबारे उपचार गर्न गएकी धनमाया कलेजो, पाठेघर हुँदै पेटमा पानी जम्ने समस्याले ग्रसित भएकी थिइन् । गत फागुनदेखि उपचार गराउन सुरु गरेकी उनको उपचारका क्रममा विराटनगरको नोबेल र धरानको बिपी अस्पतालमा रु तीन लाखभन्दा बढी खर्च भइसकेको थियो ।