काठमाडौं – बीबी एयरवेजको पहिलो उडान BO 428 जहाज आज दिउँसो १२:५० मा २०१ यात्रुसहित कम्बोडियाको सियाम रिपबाट त्रिभुवन बिमानस्थलमा अवतरण भएको छ ।
यसै अवसरमा बीबी एयरवेजका अध्यक्ष भवन भट्टले भन्नुभयो – यो हाम्रो मात्र उपलब्धि होईन यो सम्पूर्ण देशको नै उपलब्धि हो।’यो उडानले देशको आर्थिक उन्नतिको लागि थप हौसला प्रदान गरेको छ र हामी अझ अघि बढ्नका लागि धेरै उत्साहित भएका छौं ’- उहाले थप्नुभयो ।
एक महिनापछि औपचारिक अन्तराष्ट्रिय उडान थाल्ने तयारीमा रहेको यो चार्टर उडान कम्बोडियाको टोन्लेसाप कम्पनीसंग संयुक्त रुपमा संचालन गरिएको छ ।एयरवेजले आफ्नो नियमित उडान असोज २५ गतेदेखि संचालन गर्दैछ । उक्त नियमित उडान मलेसियाको क्वालालम्पुर र चीनको हंगकंगतर्फ हुनेछ भने जापानको नारिताका लागि पनि एयरवेजले हप्ताको दुईवटा चार्टर उडान गर्नेछ ।
एयरवेजले क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चार पटक र हङकङमा तीन पटक उडान भर्नेछ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि सोमबार, शुक्रबार र आइतबार उडान हुनेछन् । एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तिका लागि रु ३६,०००/- बाट शुरु हुन्छ । हङकङका लागि भने काठमाडौं-हङकङको दोहारो भाडादार रु ४८,०००/- बाट आरम्भ हुनेछ ।
“त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरण हुनु ठूलो कुरा नहोला तर निजी क्षेत्रको संलग्नताबाट भएको नेपालको अन्तर्राष्ट्रिय उड्डयनको ईतिहासमा एउटा ठूलो फड्को हो,” एयरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले भन्नुभयो । बीबी एयरवेज गैर आवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबर्द्धित छ, जसको स्वामित्वमा जापान र नेपालमा कैयन व्यवसायहरू छन् । भट्ट गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हुनुहुन्छ ।
बीबी एयरवेजले आफ्नो उडान एक बोइङ ७५७-२०० बाट आरम्भ गर्ने छ र छिट्टै नै अर्को बी-७५७ थप्ने छ । दोस्रो एयरक्राफ्ट थपिने वित्तिकै एयरवेजले आफ्नो सेवालाई बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गर्ने छ साथै छिट्टै नै थप दुई बोइङ ७६७ थपेर यसले युरोप तथा अष्ट्रेलियामा उडान भर्ने योजना बनाएको छ ।