Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
टोकियो- जापानका वित्तीय सेवामन्त्रीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उहाँ सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँले आत्महत्या गरेको अनुमान गरिएको समाचार आजका जापानी अखबारहरुले सम्प्रेषण गरेका छन् ।
 त्रिहत्तर वर्षीय तादाहिरो मात्सुसिता विवाहित रहेका तर अर्का एकजना महिलासँग अवैध सम्बन्ध राखेको सार्वजनिक भएपछि सोही कारण उहाँले आत्महत्या गरेको हुनसक्ने समाचारमा जनाइएको छ ।
जापानको एउटा ट्याबलोइड पत्रिकाले तीन दिनअघि उहाँको सो सम्बन्धको विषयमा समाचार लेखेको थियो । सो समाचारपछि उहाँले आत्महत्या गरेको बताइएको छ ।
ती महिलासँगको अवैध सम्बन्धका बारेमा बुधबारको अङ्कमा विस्तृत विवरण दिइने समाचार सो पत्रिकाले गत शनिबारको अङ्कमा सूचनाको रुपमा छापेको थियो । सो समाचार आउनुअगावै मन्त्रीले आत्महत्या गर्नुभएको समाचारमा जनाइएको छ ।
उहाँ प्रधानमन्त्री योसिहिको नोदाको मन्त्रिपरिषद्मा हुलाक सुधार राज्यमन्त्री पनि हुनुहुन्थ्यो । उहाँलाई आफ्नै घरमा लडिरहेको अवस्थामा फेला पारिएको र अस्पताल लगिएको केही समयपछि नै उहाँको मृत्यु भएको पुष्टि गरिएको जापानी सरकारी टेलिभिजन एनएचकेले उल्लेख गरेको छ ।
प्रधानमन्त्री नोदाले उक्त मृत्युको समाचारबाट आफू स्तब्ध भएको बताउनुभएको छ । मात्सुसिता सन् १९९३ मा लिबरल डेमोक्रयाटिक पार्टीका तर्फबाट संसदको तल्लो सभामा निर्वाचित हुनुभएको थियो ।
मन्त्री तादाहिरोको एकजना महिलासँगको सम्बन्धका बारेमा एउटा स्थानीय पत्रिका सकान सिन्कोमा भोलि बुधबार विस्तृत रुपमा समाचार आउने जानकारी ती महिलाले नै सार्वजनिक गरेको बताइएको छ ।
सोही घटनापछि मन्त्रीले आत्महत्या गरेको देखिएको जापानको एक दैनिक पत्रिकाले आज जनाएको छ । ती महिलाका बारेमा भने सबै विवरण जानकारीमा ल्याइएको छैन ।
जापानी प्रधानमन्त्री र मन्त्रिपरिषदका सबै सदस्यहरुले मङ्गलबार नै मन्त्री तादाहिरोप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया