मस्को– रसियाको साइबेरियाको एक गाउँमा एक सन्काहा बाबुले आफ्ना दुई साना छोरा, श्रीमती तथा उनका आमाबाबुको हत्या गरी, छिमेकीलाई उनीहरूको अन्त्येष्टिका लागि छ हजार अमेरिकी डलर खर्च दिइ आत्महत्या गरेका छन् ।
यी पुरुषले रसियाको दक्षिणी भागमा रहेको साइबेरियाको खाकासिया क्षेत्रमा आफ्ना चार तथा नौ वर्षीय छोरा, ३८ वर्षीय श्रीमती तथा उनका पाका आमाबाबुलाई सटगन प्रयोग गरी मारेको अनुसन्धान समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसपछि यी पुरुषले आफूहरूलाई गाडेर अन्त्येष्टि गरिदिन आग्रह गरिएको एक लिखत सहित पाँच हजार अमेरिकी डलर तथा चालिस हजार रुबल छिमेकीको घरमा छिराइदिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । यी काम सकेपछि यी पुरुषले आफैलाई गोली हानेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अन्य कुरा उल्लेख गरिएको छैन भने लाइफन्युज नामक पत्रिकाले आफ्नो वेबसाइटमा पारिवारिक विवादका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेको छ ।
यी पुरुष आफ्ना श्रीमती तथा छोराका साथमा बेलारुसमा बसोबास गर्थे तर उसकी पत्नी आफ्ना छोराहरूलाई लिएर साइबेरियामा आमाबाबु नजिकै बस्न थालेकी थिइन । त्रिचालीस वर्षीय पित्र इभानसिन ती महिलाको घरमा देखापरेपछि विवाद आरम्भ भएको थियो र रातीको समयमा यी पुरुषले आफ्नो परिवारको हत्या गरेको बताइएको छ ।
अनुसन्धान समितिका प्रवक्ताले यी पुरुषकी श्रीमतीले पारपाचुके चाहेको जानकारी दिएकी छन् ।