Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024
तेहरान (इरान)– प्रधानमन्त्री डा बाबुराम भट्टराईले असंलग्न मुलुकको १६ औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुभएको छ ।
असंलग्न आन्दोलनको संस्थापक सदस्यको नाताले प्रधानमन्त्री डा. भट्टराईले शुक्रबार स्थानीय समयअनुसार बिहान ११ बजे सम्बोधन गर्नुभयो । प्रधानमन्त्रीले विश्व शान्ति र भाइचारामा जोड दिँदै नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाइरहेको विषयमा सम्बोधन गर्नुभएको थियो ।
असंलग्न मुलुकको शिखर सम्मेलनको शुक्रबारको सत्र सुरु भएको छ । तेहरानको मध्य भागमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शिखर सम्मेलनको दोस्रो दिनको सत्र स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको छ ।
शुक्रबार सरकार प्रमुख तथा राष्ट्रप्रमुखले आ-आफ्नो धारणा राखेपछि तेहरान घोषणापत्र जारी गरेर समापन गर्ने कार्यक्रम रहेको ‘नाम’ सम्मेलनको सचिवालयले जनाएको छ । समापन समारोह भन्दा पहिले तेहरान घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री डा भट्टराई र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।
बिहीबार अबेर भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । असंलग्न मुलुकहरूको शिखर सम्मेलनका क्रममा सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा बढी समय उहाँहरूबीच भएको भेटमा नेपालको पछिल्लो राजनीतिक स्थिति र राजनीतिक दलहरूबीच भइरहेको सहमतिको प्रयासबारे कुराकानी भएको प्रधानमन्त्री डा. भट्टराईले राससलाई जानकारी दिनुभयो । भेटका क्रममा प्रधानमन्त्री डा. भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २०० मेगावाट विद्युत् पूर्णरूपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा प्रसारण लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभएको थियो । सो आग्रहमा भारतीय प्रधानमन्त्री डा. सिंहले तत्काल २०० मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउने भन्ने विगतको सहमतिअनुसार नै उपलब्ध गराइने बताउनुभयो ।
प्रधानमन्त्री डा. भट्टराई र भारतीय प्रधानमन्त्री डा. सिंहबीच ‘वान टु वान’ भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न र नेपालमा लगानी बढाउनका लागि नेपालका तर्फबाट आग्रह गर्नुभएको थियो ।
दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासम्म जनताको जीवनस्तर उठ्न नसक्ने भएकाले यसतर्फ नेपाल सरकार लागेको र त्यसमा सहयोग गर्न भारत सरकारलाई प्रधानमन्त्री डा. भट्टराईले आग्रह गर्नुभएको थियो । यसैगरी नेपालको जलस्रोत र आर्थिक विकासमा सहयोग गर्न पनि प्रधानमन्त्री डा. भट्टराईले भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्रीले नेपालको आग्रहअनुसार नै भारत सरकार नेपाललाई सहयोग गर्न तयार रहेको र नेपाललाई विशेष सहयोग गर्ने बताउनुभएको थियो । नेपाल आफ्नो देशको सहयोगसूचीमा अग्रस्थानमा छ भन्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विशेष चासो राख्नुभएका भारतीय प्रधानमन्त्री डा. सिंहले राजनीतिक सङ्कटको समाधान नेपालका राजनीतिक दलहरूको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँको भनाइ थियो –नेपालको वर्तमान राजनीतिक सड्कटको समाधानका लागि नेपालका राजनीतिक दलहरू नै सक्षम छन्, दलहरूबीचको सहमति नै प्रमुख विषय हो ।
सो अवसरमा प्रधानमन्त्री डा. भट्टराईले दलहरूका बीच सहमतिको प्रयास भइरहेको र संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल प्रतिबद्ध रहेको बताउनुभएको थियो । “हामी सबै दल सहमति निर्माणका क्रममा छौँ, छलफल र संवाद भइरहेको छ, छिट्टै सहमति कायम गरेर अगाडि बढ्नेमा दलहरू एकमत रहेको मैले जानकारी गराएँ, उहाँ(भारतीय प्रधानमन्त्री)ले दलहरू मिलेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको बताउनुभयो,”— प्रधानमन्त्री डा.  भट्टराईले जानकारी दिनुभयो ।
“भेट एकदमै महत्वपूर्ण रह्यो, वर्तमान सरकारले चालिरहेको कदमप्रति उहाँ(भारतीय प्रधानमन्त्री)ले खुसी व्यक्त गर्नुभएको थियो ।”प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो ।
अहमनिदेजादको रात्रीभोजमा प्रधानमन्त्री सहभागी
असंलग्न मुलुकहरुको शिखर सम्मेलनमा भाग लिन तेहरानमा आइपुग्नुभएका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमनिदेजादले बिहीबार राति रात्रिभोजको आयोजना गरेका छन् ।
सो रात्रिभोजमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई , उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल डा. निरञ्जनमान सिंह बस्नेतको सहभागिता रहेको थियो ।
तेहरानको प्रसिद्ध स्थान पर्सियन गल्फ हलमा आयोजित रात्रिभोजमा परम्परागत इरानी कला र नाच प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति अमनिदेजादले इरान सबै राष्ट्रसँग मित्रताको हात बढाउन चाहन्छ भन्दै कोही कसैसँग शत्रुता साँच्न आवश्यक नरहेको बताए । प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत नेपाली प्रतिनिमण्डलसँग पनि राष्ट्रपति अहमनिदेजादले सम्मान प्रकट गर्दै नेपालप्रति गहिरो स्नेह रहेको बताए ।
करिब चार घन्टा चलेको सो रात्रिभोजमा इरानी राष्ट्रपतिले सामूहिक र एकल कुराकानीसमेत गरेका थिए ।
प्रधानमन्त्री–मुन भेट
प्रधानमन्त्री डा. बाबुराम भट्टराई ले असंलग्न मुलुकहरुको शिखर सम्मेलनका क्रममा हिजो संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनसँग भेटेका छन् ।
भेटमा अवरुद्ध संविधान निर्माण प्रक्रिया र जुन विन्दुबाट यो प्रक्रिया अवरुद्ध भएको थियो सोही विन्दुबाट सुरुवात गर्नुपर्ने भन्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
प्रधानमन्त्री डा. भट्टराईले बिहीबार नै क्युबाका उपराष्ट्रपति तथा प्रतिनिधिमण्डलका नेता जोसे आर. माचोडा भेन्चुरालाई भेटेर दुवै राष्ट्रले विभिन्न क्षेत्रमा प्राप्त गरेका अनुभवबारे विचार आदानप्रदान गरेका थिए ।
यसैगरी, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरान र बोलिभियाका आफ्ना समकक्षी क्रमशः अली अकबर सालेही र डाभिडा चोकेहन्ससँग द्विपक्षीय भेटवार्ता गरे । ***
तपाईको प्रतिक्रिया