भक्तपुर- विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका महत्वपूर्ण स्मारक तथा सम्पदा क्षेत्र युवाजोडीको प्रेम गर्ने थलोको रुपमा परिणत भएको छ ।
घन्टौंसम्म सम्पदा क्षेत्रमा अश्लील क्रियाकलाप गरेर बस्ने युवाजोडीका कारण पर्यटक तथा सम्पदा क्षेत्रको अवलोकन गर्न आउनेहरुलाई समेत समस्या परेको छ । स्मारक क्षेत्रमा प्रेम गर्ने जोडीको अश्लील क्रियाकलाप बढ्दै गएपछि यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीयवासीले प्रहरीलाई आग्रहसमेत गरेका छन् ।
विशेषगरी भक्तपुर नगर क्षेत्रको दरबार स्क्वायर, पाँचतले मन्दिर, दत्तात्रय, सिद्धपोखरी, सल्लाघारी च्वाङ्ग गणेश मन्दिर, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर क्षेत्रलगायत यहाँका प्रमुख स्मारक क्षेत्र तथा सार्वजनिकस्थलमा बिहानदेखि साँझसम्म नै युवाजोडीको अश्लील गतिविधि हुने गरेको भक्तपुरका श्रीभद्र श्रेष्ठले बताउनुभयो ।
सल्लाघारीको च्वाङ्ग गणेश परिसरमा दैनिक भेटिने युवाजोडी दिउँसै अश्लील गतिविधि गरेर बस्ने गरेकाले दिउँसो मन्दिर जानेहरुलाई समेत समस्या पर्ने गरेको सल्लाघारीका भीमप्रसाद वाग्लेले बताउनुभयो । नजिकै रहेको इवामुरा अस्पतालका कर्मचारीसमेत सल्लाघारीमा स्कुल तथा कलेज पोसाकमा आउने र अन्य युवाजोडीले अश्लील गतिविधि गर्ने गरेको सधैँजसो देखिने गरेको भन्दै ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो भएको बताउँछन् ।
अन्य क्षेत्रमा दिउँसो र साँझमात्र यस्ता युवाजोडीको गतिविधि बढ्ने भए पनि भीमसेन थापाले निर्माण गरेका ऐतिहासिक तथा धार्मिक महत्व रहेको भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा भने बिहानदेखि युवायुवतीको जोडीको बाक्लो उपस्थिति र अश्लील गतिविधि हुने गरेको स्थानीयको भनाइ छ ।
सिद्धपोखरीमा खुट्किलैपिच्छे बस्ने युवायुवतीको जोडी र यहाँको चारै दिशामा रहेका पाटी तथा यसको पछाडि बस्ने जोडीले कसैको परवाह नगरी निर्बाध रुपमा अश्लील गतिविधि गर्ने गरेको सिद्धपोखरीका एक भुजिया व्यापारीले बताए ।
पाटीको छेको लागेर लुगा फुकाल्ने, आलिङ्गन गर्ने, म्वाँइ खाने, संवेदनशील अङ्गहरु चलाउने र साँझपख बस्नेहरु कतिपयले शारीरिक सम्पर्कसमेत गर्ने गरेको भुजिया व्यापारी र स्थानीयले बताएका छन् ।
यौनजन्य क्रियाकलाप बढेको गुनासो आएपछि विगतमा प्रहरीले यस्ता सम्पदा एवम् पोखरीमा रात परेपछि छापा मार्ने र यस्ता जोडीलाई लखेट्ने गरे पनि अहिले प्रहरीले बेवास्ता गरेपछि यस्ता अश्लील गतिविधि फेरि बढेको हो ।
यस्ता जोडीलाई साँझ परेपछि सोधपुछ गरेर स्मारक क्षेत्रमा नबस्न आग्रह गर्दा उल्टै मानवअधिकार हनन गर्न खोजेको भन्दै आफूहरुलाई नै गालीगलौज गर्ने गरेको प्रहरीले बताएका छन् ।
सम्पदा क्षेत्रमा आउने जोडीमध्ये आधाजसो त कलेज ड्रेसमै आएर बस्ने गरेको बताउँदै दूधपाटीमा बस्दै आएकी मेनुका खत्रीले युवाजोडीको गतिविधि अपाच्य हुने गरेको बताउनुहुन्छ । काठमाडाँैका नाम चलेका कलेजबाट समेत यस्ता जोडी आउने गरेका बताइन्छ ।
नगरकोटको जङ्गलमा युवाजोडीका अश्लील क्रियाकलाप बढेको र जङ्गलमा घाँसदाउरा लिन तथा खेतबारीमा जान आउनसमेत समस्या पर्ने गरेको नगरकोटकी प्रमिला लामाले बताउनुभयो ।
नगरकोट जाने जोडीलाई खरिपाटी प्रहरी प्रभागले रोकेर नाम, ठेगाना, कलेज र नाता समेतको विवरण लिने गरे पनि नगरकोटको जङ्गलमा यस्ता जोडी प्रशस्त भेटिने गरेको स्थानीयको भनाइ छ ।
प्रेमका नाममा युवायुवतीमा अश्लील गतिविधि बढ्नु विकृति मात्रै नभई आˆनो जीवनलाई अँध्यारोमा धकेल्नु र सिङ्गो परिवार कै बदनाम गर्नुभएकाले यसतर्फ युवायुवती र उनीहरुका परिवार सचेत हुनुपर्ने देखिन्छ ।