भद्रपुर– क्रियाशील महिला पत्रकार समूह झापाका अध्यक्ष माया पकुवाल पतिपत्नीबीच कटुता भएमा एक दुई वर्ष अलग बसेमा सम्बन्ध पुनः सुमधुर हुन सक्ने र यसले सम्बन्ध विच्छेद टार्न सक्ने दरिलो उदाहरण दिनुहुन्छ ।
आफैँ सम्बन्धविच्छेदका लागि अग्रसर भएकी महिला पत्रकार पकुवाल भन्नुहुन्छ– श्रीमान्सँग सम्बन्ध चिसिँदै गएपछि हामी सम्बन्धविच्छेदको अवस्थामा पुग्यौँ, सम्बन्धविच्छेद गर्नुभन्दा अलग्गै बस्ने सोचाइ राखेर म जागिर खान थालँे, दुई वर्षजति दुवै अलग बसेपछि एक अर्काको अभाव खट्किन थाल्यो, अन्ततः हामी दुवै पुराना कटुता बिर्सेर र जागिर पनि छाडेर यतिखेर खुसीसँग जीवन बिताइरहेका छौँ । आवेशमा आई सम्बन्धविच्छेद गरेर पछि पछुताउनुभन्दा बिग्रेको सम्बन्ध सुमधुर बनाउनेतर्पm प्रयास गर्नुपर्ने र एकले अर्काको गल्तीलाई बिर्सेर दाम्पत्य जीवन सफल बनाउन प्रयासरत रहनुपर्ने उहाँको सुझाव छ ।
पहिले बिरलै हुने गरेका पतिपत्नीबीचको सम्बन्धविच्छेदका घटना नेपाली समाजमा अहिले आएर बढ्दै गएको पाइएको छ । यसलाई अहिले समाजको एक विकराल समस्याका रुपमा पनि परिभाषित गर्न थालिएको छ । वैवाहिक सम्बन्धमा विचलन आएका कारण जीवनपर्यन्त सुखदुःखका साथ बस्ने वाचाबन्धनमा बाँधिएका जीवनसाथीको सम्बन्ध टुट्दै नयाँ सम्बन्ध स्थापना हुनु र फेरि टुट्नुजस्ता घटना समाजकै लागि चिन्ताको विषय बनेको छ ।
चन्द्रगढीका कुमार पौडेल श्रीमतीलाई वैदेशिक रोजगारमा पठाएपछि निकै खुसी देखिन्थे । तीन वर्षपछि श्रीमती विदेशबाट रकम बोकेर फर्किन् र आफन्तको घरमा बास बसेर सम्बन्धविच्छेदका लागि सिधै अदालत पुगिन् । दसवर्षीय छोरालाई राम्रो विद्यालयमा पढाउने र घर बनाउने आफ्नो सपना सबै भताभुङ्ग भएपछि पौडेल रक्सीसेवनमा यसरी डुबे कि अहिले उनी थलिएर जीवनमरणसँग जुधिरहेका छन् । पौडेलका भिनाजु राजु न्यौपाने भन्छन्– ‘पटक पटक बिरामी पर्दै यतिखेर थलिएको छ कुमार । उसलाई उपचारका लागि काठमाडौँसम्म लग्यौँ, जन्डिस र कलेजो रोगले पीडित उसलाई अहिले आफ्नै घरमा राखी उपचार गराइरहेका छौँ ।
यस्तो समस्या पौडेलको मात्र होइन, विगत केही वर्षदेखि बढ्दै गएको भेटिन्छ । यस विषयमा गहिरिएर हेर्दा संयुक्त परिवारको अवधारणा हराउँदै जानु, वैदेशिक रोजगारप्रति आकर्षित हुनु, महिला बढी मात्रामा स्वतन्त्र हुन खोज्नु, घरेलु हिंसा, पतिपत्नीबीच तनाब उत्पन्न हुनु, एक अर्काबीच अविश्वास पैदा हुनु र पश्चिमी सभ्यताको प्रभाव बढ्दै जानु प्रमुख कारकतत्व रहेको बौद्धिक वर्गको ठम्याइ छ ।
सम्बन्धविच्छेदका विविध कारणमध्ये मुख्य कारक तत्वका रुपमा यतिखेर वैदेशिक रोजगारलाई नै लिइएको छ । पतिले विदेशबाट कमाएर श्रीमतीका नाममा पठाएको रकम श्रीमतीले कुम्ल्याएर अर्कैसँग हिँड्न सम्बन्धविच्छेद गर्न खोज्नु र कतै पति परस्त्रीको चङ्गुलमा परेर आफ्नी श्रीमतीलाई दुःख दिएर पारपाचुकेका लागि बाध्य पार्नुजस्ता घटना सयौँको सङ्ख्यामा पुग्न थालेपछि समाजका लागि यो चिन्ताको विषय बनेको हो ।
सम्बन्धविच्छेदका घटना बढ्दै गएकाले कतिपय परिवारमा पतिपत्नीबीच अविश्वाससमेत बढ्न थालेको छ । आफ्ना गलत काम बाहिर नआओस् भनेर वा आपूm सुरक्षित रहनका लागि पनि बालबालिकालाई प्रभावमा राख्न पकेट खर्च बढी दिने, घुमफिरमा छुट दिनेजस्ता क्रियाकलापले बालबालिकामा समेत कुप्रवृत्ति बढी रहेको देखिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा भन्नुहुन्छ–पतिले विदेशबाट कमाएर श्रीमतीको खातामा पठाएको रकम श्रीमतीले कुम्ल्याएर अर्कैसँग बस्न खोज्नुु र श्रीमतीले कमाएर पठाएको रकम लिएर पतिले अर्की महिलासँग बस्न खोज्नेजस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको हो । सम्बन्धविच्छेदसम्बन्धी पीडितलाई पनि सहयोग गर्दै आउनुभएका एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको भनाइमा ग्रामीण र पहाडी क्षेत्रको तुलनामा सहरी क्षेत्रमा सम्बन्धविच्छेदको घटना विकरालरुपमा देखिएको छ । उहाँ भन्नुहुन्छ–कतै महिला दोषी त कतै पुरुष दोषी देखिन्छ, सम्बन्धविच्छेदका घटना नियन्त्रण गर्न कानुनमा सुधारको आवश्यकता छ ।
महिला तथा बालबालिका क्षेत्रमा कार्यरत संस्था कानुनी सहयोग तथा परामर्श केन्द्र झापाका संयोजक लक्ष्मी खनाल कोइरालाले दुई वर्षअघि अधिकांश महिला लोग्नेबाट पीडित भई सम्बन्धविच्छेदका लागि आएका देखिन्थे भने अहिले समयानुकूल महिलामा आत्मबल बढेको र उनीहरु सक्षम हुँदै गएका कारणले पनि सम्बन्धविच्छेदका घटना बढिरहेको बताउनुभयो ।
नयाँ पुस्ता अर्काको अधीनमा बस्न नचाहने, महिला बढी स्वतन्त्र हुन खोज्ने र घरमा मेलमिलापका साथ बस्न नचाहने मनोवृत्ति बढेको छ–नेपाल बार एसोसिएसन झापाका अध्यक्ष टङ्क उप्रेती भन्नुहुन्छ– ‘झापामा प्रेमविवाह गरेकी केटी विवाहकै दिन साँझपख माइती गएकी र केही दिनमै अंशसहित सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको घटना ताजै छ । यसैले सम्बन्धविच्छेदका लागि ऐनमा गरिएको व्यवस्थामा संशोधन हुनु आवश्यक छ ।’
जिल्ला अदालतका स्रेस्तेदार नवराज दाहाल महिलाले जतिखेर पनि सम्बन्धविच्छेदका लागि अंशसहित मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको बताउनुहुन्छ ।विवाहित महिलालाई नागरिकता पाउनका लागि विवाह दर्ता प्रमाणपत्रका साथै लोग्नेको हस्ताक्षरसमेत चाहिएको अवस्थामा लोग्नेले यस कार्यमा सहयोग नगरेको खण्डमा आफ्नो पहिचानका लागि पनि कतिपय महिलाले बाध्य भएर सम्बन्ध विच्छेद गराउनु परेका घटना पनि देखिएको छ । केन्द्रका संयोजक कोइराला भन्नुहुन्छ–विवाहको तस्बिर, चिठ्ठीलगायत प्रमाणका आधारमा पचासभन्दा बढी महिलालाई सम्बन्धविच्छेद गराएपछि पैतृक आधारमा उनीहरुले नागरिकता लिएका छन् ।
महिलामा सचेतना बढेपछि आफ्नो अधिकारका लागि उनीहरुले हिंसाविरुद्ध आवाज उठाउन थाले र पुरुषले त्यसलाई सहन नसकेपछि चिसिएको सम्बन्ध विच्छेदमा परिणत हुन थालेको हो भन्ने भनाइ भद्रपुरका पत्रकार तथा सहप्राध्यापक चिन्तामणि दाहालको रहेको छ ।
जिल्ला अदालत झापाको तथ्याङ्कअनुसार आव ०६७/६८ मा ४१८ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो भने गत आवमा यो सङ्ख्या बढेर ५३१ वटा पुगेको र त्यसमध्ये ४२५ वटा मुद्दा फछ्र्यौट भइसकेको छ । सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामध्ये झन्डै आधाजसो मुद्दा भुटानी शरणार्थीको रहेको सो अदालतले जनाएको छ ।
लोग्नेस्वास्नीको सम्बन्धविच्छेद हुने भएमा स्वास्नीलाई अंश भाग दिएपछि मात्र सम्बन्धविच्छेद गर्न सकिने कानुनी व्यवस्था रहेको छ । कानुनतः यसरी अंश लिइसकेपछि श्रीमतीले अर्को विवाह गरेमा अंशबापत पाएको सम्पति सम्बन्धविच्छेद गरेको लोग्नेलाई फिर्ता गर्नुपर्दैन ।