काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी)ले वर्तमान सरकार संविधान सभाको निर्वाचन यता गठन भएका सबै सरकारहरुभन्दा असफल र राष्ट्र तथा जन हित बिपरीतको सरकारको रुपमा इतिहासमा अंकित हुन पुगेको ठहर गरेको छ ।
आरम्भमा प्रतिपक्षी दलहरुको समेत समर्थन र सहयोग पाएको एमाओवादी– मधेशी मोर्चाको डा. बाबुराम भटराईले नेतृत्व गरेको सरकार संविधान सभाको निर्वाचन यता गठन भएका सबै सरकारहरुभन्दा असफल र राष्ट्र तथा जन हित बिपरीतको सरकारको रुपमा इतिहासमा अंकित हुन पुगेको छ ।
संविधानसभा चुनावपछि गिरिजाप्रसाद कोइरालासँगै प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नेतृत्वको सरकार थियो । ‘ डा. बाबुरामको नेतृत्वमा सरकार गठन हुँदा जस्तो किसिमको बिजातीय समीकरण बनेको थियो त्यसप्रति धेरैले आरम्भदेखि नै सन्देह र अबिश्वासको आँखाले हरिरहेका थिए । अन्ततः त्यही कुरा सही ठहरिन पुगेको छ । यो सरकारको अन्त्य गर्ने र राष्ट्रिय सहमतिको मूर्त मार्गचित्र आजको पहिलो राष्ट्रिय र ज्वलन्त आवश्यकता बन्न गएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
मुस्ताङ्ग गाडी चढ्ने र जनताको घर दैलोमा पुग्ने जस्ता सस्तो लोकप्रियताका सौन्दर्य प्रशाधन जस्ता केही सामान्य कदम चाले पनि डा. बाबुरामको सरकारले संविधान सभालाई अबसान गरायो भने सहमतिको राजनीतिलाई समाप्त पारेको र शान्ति प्रकृयालाई पनि बेवारिसे तुल्याएर मुलुकलाई अन्यौल र अनिश्चितताको डरालाग्दो भूवरीमा धकेलेको पार्टीले ठहर गरेको छ ।
‘राष्ट्रिय हित बिपरीत बिप्पा सम्झौता, बिमान स्थल भारतीय कम्पनीलाई दिने, स्थापित मूल्य मान्यता बिपरीत प्रशासनलाई परिचालन गर्ने, भ्रष्टाचारलाई बढावा दिने र नेपालको गौरब तथा गरीमालाई गिराउने सरकारको रुपमा या सरकारका एक बर्षे कार्यकाल ठहरिन पुगेको छ ,’ विज्ञप्तीमा भनिएको छ ।