अमेरिका – चन्द्रमामा पाइला टेक्ने प्रथम मानव, अमेरिकी ख्यातिप्राप्त अन्तरिक्षयात्री निल आर्मस्ट्रङको देहावसान भएको उहाँका परिवारले शनिबार घोषणा गरेको छ र यसबाट उहाँको उपलब्धि तथा टिप्पणीयोग्य नरम व्यवहारप्रति सबैतिरबाट श्रद्धाञ्जलि आउन थालेका छन् ।
आर्मस्ट्रङले एउटा पुस्तालाई नै तारासम्म पुग्न अभिप्रेरणा दिनुभएको थियो र उहाँको मुटुमा यस महिनाको आरम्भमा बाइपास शल्यक्रिया गरिएको थियो । यसपछि उहाँको मुटुमा देखिएको समस्याका कारण उहाँको देहावसान भएको बताइएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।
उहाँलाई अमेरिकी सहासी व्यक्तिको रूपमा प्रशंसा गर्दै उहाँका परिवारका सदस्यले उहाँको उपलब्धिले युवा पुस्तालाई आफ्नो सपना पूरा गर्न कडा मेहनत गर्न तथा आफूभन्दा पनि ठूला लक्ष्यका लागि निस्वार्थरूपमा आफूलाई लगाउन अभिप्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
एपोलो ११ मा आर्मस्ट्रङसँगै रहनुभएका एड्विन बज एलड्रिनले पनि सन् १९६९ को जुलाई २० मा चन्द्रधरातलमा पाइला टेक्नुभएको थियो ।
चन्द्रमामा पाइला टेक्दा आर्मस्ट्रङले यो ‘‘एउटा मानिसका लागि सानो पाइला तथा मानवजातिका लागि ठूलो फड्को’’ भएको बताउनुभएको थियो र यो भनाइ इतिहासमा लेखिएको छ ।
चन्द्रमा पुग्नुहुने आमस्ट्रङलाई अमेरिका तथा अन्य १७ मुलुकले सम्मान गरेका थिए भने उहाँले आफ्नो विश्वव्यापी ख्यातिलाई कहिल्यै पनि अन्यथा नलिनुभएको र सार्वजनिक चासोबाट सँधै बाहिर रहन पनपराउनुभएको देखिएको थियो ।
उहाँको जीवनी निकै मूल्यमा बिक्री भएको थाहा पाएपछि उहाँले आफ्ना स्मरणमा रहने वस्तुहरूमा पनि हस्ताक्षर गर्न छोड्नुभएको थियो ।
पृथ्वीको पहिलोपटक परिक्रमा गर्नुहुने जोन ग्लेनले आर्मस्ट्रङलाई आख्यानात्मक नरमपना भएको व्यक्तिको रूपमा लिनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार उहाँको देहावसानबाट आफू निकै दुःखी भएको बताउँदै उहाँ अमेरिकाका सबै कालका लागि सबैभन्दा ठूला सहासी व्यक्ति भएको बताउनुभयो । उहाँले आर्मस्ट्रङले सानो पाइलाको व्यापक शक्तिको विषयमा अमेरिकी जनतालाई पाठ सिकाउनुभएको उल्लेख गर्नुभयो ।
अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले आर्मस्ट्रङको देहावसानले मानव विकासको एउटा अचम्मलाग्दो युगको अन्त्य भएको बताउनुभयो ।
आर्मस्ट्रङ्को सन् १९३० अगस्त ५ मा ओहियोको वापाकोनेटामा भएको थियो । उहाँले १५ वर्षको उमेरमा उडानको तालिम प्राप्त गर्नुभएको थियो र १६ औँ जन्म दिनमा विमानचालकको अनुमतिपत्र प्राप्त गर्नुभएको थियो ।
उहाँ नौसेनाका विमान चालक हुनुहुन्थ्यो र कोरियाली युद्धमा उहाँले ७८ पटक अभियानमा जानुभएको थियो ।
उहाँले नासाको पूर्व संस्था नेसनल एड्भाइजरी कमिटी फर एरोनाउटिक्समा सन् १९५५ मा प्रवेश गर्नुभएको हो । उहाँ सन् १९६२ मा अन्तरिक्ष यात्री बन्नुभएको थियो । उहाँ सन् १९७१ मा नासाबाट अवकास प्राप्त गर्नुभयो । उहाँले दश वर्षसम्म सिनसिनाटी विश्वविद्यालयमा अन्तरिक्ष इन्जिनियरिङ पढाउनुभएको थियो ।