काठमाडौं- सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी डेढ वर्ष जेल सजाय सुनाएका पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्कालाई जोगाउन सहयोग समिति गठन गरिएको छ ।
कांग्रेसका जिल्ला सभापतिहरुले खड्का बचाउ समिति गठन गरेका हुन् । समितिले आर्थिक सहयोग जुटाउँदै कानुनी प्रक्रियाबाट चोख्याउने अभियान सुरु गर्ने काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले जानकारी दिए ।
सर्वोच्च अदालतले खड्कालाई साउन ३० गते भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदसँगै ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो, त्यति नै बराबर जरिवाना गर्नुका साथै आम्दानीको स्रोत खुल्न नसकेका सवै सम्पत्ति जफत हुने फैसला गरेको थियो ।
फैसलाअनुसार खड्का काठमाडौं जिल्ला अदालतमा नगद बुझाएर जेल गएका छन् । ***