उदयपुर (गाईघाट)– एमालेले जनजातिको माग सम्बोधन नगरेको भन्दै छुट्टै पार्टीको अभ्यास भइरहेको बताउने नेकपा (एमाले)का उपाध्यक्ष अशोक राईले गृहजिल्लामा भने बोली फेरे ।
असन्तुष्ट समूहका नेताहरू रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ र रिजवान अन्सारीसहित आएका उनले आफूहरूको विचार समेट्ने प्रयास गरे आफूहरू पार्टीको निर्णय मान्न तयार रहेको बताए । गृहजिल्लामा जिल्लास्तरका नेताहरुले राईलाई अलग्गै र झा, श्रेष्ठ र अन्सारीलाई सामूहिक भेटेर पार्टी फुटाउने नियतले जिल्ला प्रवेश गरेको भए ‘निको नमान्ने’ बताएका थिए ।
लोकतान्त्रिक आदिवासी तथा जनजाति महासङ्घ उदयपुरद्वारा आयोजित ‘समसामयिक राजनीति’ विषयक कार्यक्रममा भाग लिन उपाध्यक्ष राईसहित असन्तुष्ट नेताहरु जिल्ला आएका हुन् । उनीहरुले अहिलेसम्म आफूहरु पार्टीभित्रै अन्तर्संघर्षमा रहेको स्पष्टिकरण दिएका थिए ।
नेताहरुको भेटपछि केही जिल्लाका नेताहरुले भने राईलाई ‘ढुलमुले’ चरित्रको टिप्पणी गरे । ‘केन्द्रमा हुँदा एउटा कुरा गर्ने हामीसँग अर्कै कुरा गर्नुभयो,’ एमाले उदयपुर जिल्ला कमिटीका एक पदाधिकारीले भने, ‘साँच्चे पार्टीसँग नाता तोडेको भए हामी तपाईंका कुनै कार्यक्रममा सहभागी हुन्नौं भनेपछि उहाँले त्यस्तो होइनमात्रै भन्नुभयो ।’
उनले पार्टीको आठौँ महाधिवेशनबाट पारित १५ प्रदेशसहितको सङ्घीयतालाई आत्मसात गरे पार्टीमै रहेर काम गर्ने स्पष्ट पारे । उनले सबै आदिवासी, जनजाति तथा मधेसीसहितको पहिचान हुने सङ्घीयता पार्टीले पुनः अबलम्बन गर्नुपर्ने धारणा राख्दै पार्टीले विकल्प खुला नगरे आफूहरू विकल्प खोज्नसमेत तयार रहेको बताए ।