काठमाडौँ- प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपमन्त्री फु लिङले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा शिष्टाचार भेट गर्नुभयो ।
प्रधानमन्त्री डा. भट्टराईसँग नेपाल-चीन परराष्ट्र सचिवस्तरीय परामर्श संयन्त्रको नवौं बैठकमा भाग लिन यहाँ आउनुभएका उपमन्त्री लिङले आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा कुरा गर्नुभएको बताइएको छ ।
उपमन्त्री लिङले गत जनवरीको दोस्रो साता चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा गर्नुभएको सहमतिअनुसार नेपालको आर्थिक र पूर्वाधार विकासमा आफूहरूले प्राथमिकता दिने अवगत गराउनुभयो ।
भेटपछि उपमन्त्री लिङले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ र विस्तार गर्न द्विपक्षीय परामर्श बैठक महत्वपूर्ण हुने पनि बताउनुभयो ।
साथै उपमन्त्री लिङले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सघाउने विश्वास दिलाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री डा भट्टराईलाई चीन भ्रमणको निम्तो पनि दिनुभएको छ ।
प्रधानमन्त्री डा. भट्टराईका प्रेस सहयोगी प्रशान्त लामिछानेका अनुसार भेटमा प्रधानमन्त्रीले नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।