काठमाडौँ- सतसट्ठी वर्षअगाडि आणविक विध्वंशबाट पीडित जापानी जनता कुनै पनि आणविक संयन्त्रको विरोधमा उत्रिएका छन् र उनीहरू जापानमै पारमाणविक ऊर्जा संयन्त्रको समेत विरोधमा उत्रिएका छन् ।
आजभन्दा ६७ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्त राज्य अमेरिकाले दुई अणुबम खसायो । ‘लिटिल ब्वाइ’ र ‘ˆयाट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा करिब ७० हजार र नागासाकीमा करिब ४० हजार गरी चार दिनभित्र करिब एक लाख १० हजार नागरिकले तत्कालै ज्यान गुमाए ।
उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भयो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए ।
युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।
हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम-२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । १० फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी-२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो ।
जापानबाट एक हजार पाँच सय माइल सुदूर दक्षिणमा पर्ने उत्तरी प्रशान्त महासागरको मेरियाना द्वीपमा अवस्थित वायुसैनिक केन्द्रबाट ६ अगस्त १९४५, सोमबारका दिन स्थानीय समय अनुसार बिहान ०२:४५ बजे १२ जना चालकको दलसहित उक्त बमवर्षक विमान गोप्य आक्रमणका लागि प्रस्थान गरेको थियो ।
इनोला गे बमवर्षक विमान उड्नुपूर्व मौसमसम्बन्धी जानकारी दिन तीनवटा ससाना विमान र त्यतिखेरका आधुनिक क्यामेरा र धेरैथरी मापनयन्त्रजडित अन्य दुई पथप्रदर्शक विमान पनि सँगै उडेका थिए ।
म्यानहृयाट्न प्रोजेक्ट नामाङ्कित यस आक्रमण परियोजनामा अमेरिकाले अनुसन्धान, बम निर्माण र अन्य गतिविधिमा मात्र दुई अर्ब अमेरिकी डलर खर्च गरेको थियो । यसअघि यस्ता बम कहिल्यै परीक्षण भएका थिएनन् र विमानबाट पनि खसाइएको थिएन ।
पूर्वनिर्धारित योजना र कार्यक्रमअनुसार उक्त बमवर्षक विमान स्थानीय समयअनुसार बिहान ०८:१५ बजे हिरोसिमा नगरमाथिको आकाशमा पुग्यो । त्यतिखेर हिरोसिमा नगरको मौसम अत्यन्त सफा थियो ।
हिरोसिमा नगरको आइओइ नदी माथिको पुललाई लक्ष गरी चालकदलले बम खसाइदिए । उक्त नगरबाट एक हजार नौ सय फिटमाथि आकासमा ठूलो आवाजका साथ उक्त बम विस्फोट भयो । उक्त बम आगोको अत्यन्त भयानक पिण्डमा परिवर्तन भई लक्षभन्दा करिब आठसय फिट पर विस्फोट भयो । हेर्दाहेर्दै, बैजनी र गाढा कैलो रङका, ठूलाठूला च्याउ आकारका धँुवाको मुस्लोका साथ गाढा रातो रङको आगोका भयानक लप्काहरूले जमिन सतहभन्दा ४० हजार फिटमाथिसम्म उठेर प्रलय मच्चाएको देखियो ।
नब्बे हजार घरधुरी र तीन लाख ५० हजार जनसङ्ख्या रहेको नगरमा विस्फोटस्थलको तीन माइल व्यासक्षेत्रभित्रका दुई तिहाइ भूभाग अर्थात् ६० हजार घरधुरीसहित बालीनाली, उद्योग कलकारखानालगायतका भौतिक र प्राकृतिक संरचना आगोका लप्कामा परी दुई मिनेटभित्रै समूल नष्ट भए । महिला तथा अबोध बालबालिकासहित करिब ७० हजार निर्दोष नागरिक तत्कालै सखाप भए ।
सर्वत्र आगो बलिरहृयो र ज्वालामुखी विस्फोट भएका बखत निस्कने लाभाजस्ता लेदो नगरका सडकभरि खोलाझैँ बग्नथाले । छानाका टायल, ढुङ्गा, माटा, जस्तापातालगायतका संरचना सबै पग्लेर बग्नथाले ।
माथिसम्म फैलिएको बाक्लो कालो धुँवाले दुई मिनेट अघिसम्म झलमल्ल घाम लागेको उज्यालो नगर अन्धकारमय बन्यो । सडक, ढल, चौर, जहाँतहीँ डढेको मानव शवको थुप्रो लाग्यो । बाँचेकाहरू सबै आगाले डढेका, काला, कपाल र शरीरका अन्य भागमा रौँविहीन नाङ्गा, अन्धअपाङ्ग, कुप्रा, कङ्काल, ख्याक वा भूतप्रेत जस्ता देखिए ।
यस प्रलयकारी घटनाको पाँच वर्षभित्रै विकिरणबाट पीडित अरू ७० हजार निर्दोष नागरिकको ज्यान गयो । हिरोसिमा नष्ट भएको तीन दिनभित्रै, नगरमा के कति जनधन क्षति भयो भन्ने हेर्ननपाउँदै अमेरिकाले जापानको अर्को प्रमुख नगर नागासाकीमा पनि बम आक्रमण गर्यो ।
९ अगस्त १९४५, बिहीबारका दिन जापानबाट एक हजार ५०० माइल टाढा उत्तरी प्रशान्त महासागरको टिनियान द्वीपबाट स्थानीय समयानुसार बिहान ०३:४९ बजे उडेको बक्स कार नामक अर्को बी-२९ सुपर फोरट्रेस बमवर्षक विमानले बिहान ११:०२ को स्थानीय समयमा नागासाकी नगरको एक हजार छ सय ५० फिटमाथि आकासमा ‘फ्याट म्यान’ नामक आणविक बम विस्फोट गरायो ।
मेघगर्जन भन्दा सयौँगुणा चर्को आवाजसहित अत्यन्त तेज गतिमा विस्फोट भएको आगोको विशाल लप्कासहितको बमले नागासाकी नगरमा पनि हिरोसिमामा घटेका जस्ता सबै घटना दोहोर्यायो ।
दुई लाख ७० हजार जनसङ्ख्या रहेको नगरमा विष्फोटस्थलको दुई माइल व्यासक्षेत्रभित्रको करीब ४० प्रतिशत भूभागसहित बालीनाली, उद्योग, कलकारखानालगायतका भौतिक र प्राकृतिक संरचना दुई मिनेटभित्रै समूल नष्ट भए ।
महिला तथा अबोध बालबालिकासहित करिब ४० हजार निर्दोष नागरिक तत्कालै सखाप भए । यस प्रलयकारी घटनाको वर्ष दिनभित्रै विकिरणबाट पीडित अरू ३४ हजार निर्दोष नागरिकको ज्यान गयो र यस घटनाबाट मारिनेको सङ्ख्या ७४ हजार पुग्यो ।
प्लुटोनियम-२३९ भन्ने रासायनिक तत्व प्रयोग गरी निर्माण गरिएको बम नागासाकीमा खसालिएको थियो । विश्लेषक तथा अन्वेषकहरूका अनुसार युद्धबाट अछुत जापानका हिरोसिमा, कोकुरा, नागासाकी, क्योटो र निगाता नगरहरूलाई लक्ष गरी भीषण आक्रमण गर्ने गोप्य योजना अमेरिकाले बनाएको थियो ।
यी विस्फोट जापानमा सैनिक केन्द्र स्थापना गर्ने तथा निर्दोष नागरिक संहार गर्ने उद्देश्यले गरिएको थिएन भनी अमेरिकी सरकारले प्रतिवाद गर्दै आएको छ । ठूला मानवीय गल्तीका कारण ती आक्रमण हुनपुगेको भनी धेरै वर्षदेखि अमेरिकी सरकारले स्वीकार्दै आएको छ
विगतका धेरै वर्षमा गरिए झैँ बम खसालिएका दुवै स्थानमा यसपालि पनि हजारौँ जापानी नागरिक जम्मा भई ६७ वर्षअघिको दुःखद नरसंहारको स्मरण गर्दै मारिएका हजारौँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनीहरूले विश्वका कुनै पनि नागरिकले आगामी दिनमा त्यस्तो भयावह नरसंहार सहनु नपरोस् भन्ने कामना गरेका छन् ।
मारिएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न ती नगरमा आयोजना गरिएका स्मरणसभाका सहभागीमाझ नागासाकी नगरप्रमुखले जापानलाई आणविक केन्द्रमुक्त राष्ट्र बनाउने अठोट गर्नुभएको छ ।
जापानमा आणविक केन्द्र रहेका कारण आज पनि नागरिकहरूको मष्तिष्कबाट ती सन्त्रासमय दिनहरू नहटिसकेकाले विश्वलाई आणविक शक्तिमुक्त बनाउन सो समारोहमा सबैसँग आग्रह गरिएको छ ।
जापानमा हाल आणविक भट्टीको पुनः स्थापना गर्न नहुने विषयमा नागरिकले आवाज उठाइरहेका छन् । गतवर्षको मार्च महिनामा गएको भूकम्पका कारण त्यहाँको आणविक भट्टीमा क्षतिपुगेपछि नागरिकमा पुनः भय छाएको हो ।