काठमाडौ- नेपाली काँग्रेस निकट नेता तथा कार्यकर्ताहरुले केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई वर्तमान सरकार फसाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यस विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष उदय शमसेर राणाले तत्कालिन अवस्थामा राजनीतिक प्रतिसोध साध्न राजा ज्ञानेन्द्र र शाही आयोगले जवरजस्ती काँग्रेस नेता खुमबहादुर खड्का माथि लगाएको झुठा मुद्दालाई बर्तमान असम्बैधानिक सरकारले उल्टाएर काँग्रेसका नेताहरुलाई छानी छानी कारवाही गराउने षडयन्त्र गरेको भन्दै शाही शासनले लगाएको मुद्दामा अहिले कारवाही गर्नु उचित नहुने तर्क गरे ।
उनले माओवादी सरकारले माओवादी कार्यकर्ता र अन्य जनताकालागी अलग अलग कानुनको प्राक्टीस गरेको भन्दै अदालतले सर्वोश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङगेल खुलेआम हिडेको उदाहरण प्रस्तुत गरे ।
उनले भने- जनतालाई अर्को र माओवादीलाई अलग अलग कानून छ । बालकृष्ण ढुङगेललाई जन्मकैद हुँदा समेत छुट छ, खुमबहादुरलाई सजाय दिलाउने प्रयास भईरहेको छ । शाही कालिन आरोपमा अहिले कारवाही गर्नु सरकारको फसाउने षडयन्त्र सिवाय केही होईन ।
कार्यक्रममा महासमिति सदस्यहरु राजु श्रेष्ठ, गणेशबहादुर विष्ट, हेमन्त मल्ल, र स्ववीयू सभापति शुभराम बस्नेतले राजतन्त्रको कोपभाजनमा परेका खुमबहादुर खड्कालाई अहिलेको सरकारले समेत फसाउने षडयन्त्र गरेको भन्दै खड्कालाई फसाउने गरी फैसला भए त्यस विरुद्ध देश ब्यापी प्रतिकार गर्ने चेतावनी दिए । यद्यपि उनीहरुले न्यायालयले खड्कालाई न्यायदिने विश्वास ब्यक्त गरे ।
गणेशबहादुर विष्टले खुमबहादुर खड्काको पक्षमा फेसला नभए काँग्रेसको यूवाहरुले आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिए । उनले ज्ञानेन्द्रले लगाएको आरोप अहिलेको सरकारले पनि कायम राख्नु दुखद भएको बताए ।
खड्का विरुद्धको मुद्दामा सर्वोच्च अदालतले आगामि साउन ३० गते फैसला सुनाउँदै छ ।
उनीमाथि २ करोड ३६ लाख ८७ हजार भ्रष्टचारको आरोप छ ।