काठमाडौ- विपक्षी गठबन्धनमा सहभागी राजनीतिक दल निकट २१ यूवा विद्यार्थी संगठनहरुले संयूक्त मोर्चा निर्माण गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदमुक्त नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित कार्यक्रममा गठबन्धनका यूवा विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै राजिनामा नदिए उनलाई पदमुक्त नगरेसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिदै विभिन्न आन्दोलनको घोषणा गरेका छन् ।
घोषित आन्दोलनका कार्यक्रममा साउन २८ गते आईतवार विहान सरकारले मनाउन लागेको यूवा दिवस असफल बनाउन अवरोध गर्ने र विदेशी नाम, विदेशी शैक्षिक संस्थाको आबद्धता भएका र सिटीभीटी अन्तर्गतका सबै शिक्षण सस्था बन्द गर्ने, साउन २९ गते ७५ जिल्लामा प्रधानमन्त्रीको मुखुण्डो सहित ब्यङग्य जुसससहित आन्दोलन गनसाउन ३० गते राजधानीमा यूवा स्वरोजकार कोष घेराउ र ७५ जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, साउन ३१ गते सरकारको बैद्यताको विषयमा गर्ने मतदानको विषयमा प्रचार प्रसार गर्ने, साउन ३२ गते सरकारको बैद्यताको विषयमा देशभरी मतदान गर्ने, भदौ १ गते मतदानको नतिजा घोषणा गर्ने र भदौ ३ गते राष्ट्रपतिलाई सो मतदानको परिणाम बुझाउने र सोही दिनबाट प्रधानमन्त्री निवास घेराउ गर्ने रहेकेा छ ।
कार्यक्रममा यूवा संघका अध्यक्ष महेश बस्नेतले राष्ट्रघाती सरकार अधिनायकबाट तीर उन्मुख भएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिएर सत्ता नछाडे बालुवाटबाट निकालेर कब्जा गर्ने चेतावनी दिए । उनले आफुहरुको आन्दोलन बर्तमान सरकार कायम रहेसम्म निरन्तर कायम रहने भन्दै अहिलेको सरकार विस्थापित गरेर मात्रै आन्दोलन अन्त्य हुने स्पष्ट पारे ।
बस्नेतले यूवा विद्यार्थी संगठनहरुवीच सहकार्य भएकोले यूवा संघले साउन ३२ गतेको नेपाल बन्द सहित घोषणा गरेको आन्दोलनको सम्पूर्ण कार्यक्रम समेत फिर्ता लिएको छ ।
कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष उदयसमशेर राणाले माओवादी सत्ता कब्जा गर्ने रणनीतिमा अगाडि बढीरहेको दावी गर्दै आफूहरुले माओवादीको चाल कुनै पनि हालतमा पुरा हुन नदिने स्पष्ट पारे । उनले प्रधानमन्त्रीको राजिनामा बाहेक कुनै पनि विकल्पमा आफूहरुले सम्झौता नगर्ने समेत स्पष्ट पारे ।
नेविसंघका अध्यक्ष रन्जीत कर्ण प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पदत्याग गरेर सहमतिकेा सरकारकोलागी बातावरण नबनाए अब सबै क्षेत्र उनी विरुद्धको आन्दोलनमा सक्रिय पूर्वक लाग्ने चेतावनी दिए । उनले अब पनि भट्टराईले पद नछाडे शैक्षिक संस्था पुरै ठप्प पार्ने बताए ।
अनेरास्ववीयूका अध्यक्ष माधव ढुङगेलले प्रधानमन्त्री डा बाबुराम भटटराई नेतृत्वको सरकार मुलुकलाई विघठन गराउने षडयन्त्रमा लागेको आरोप लगाउादै मुलुक बचाउन अबआन्दोलनको विकल्प नभएको स्पष्ट पारे । सहमतिको बहाना गरेर पदमा बसिरहने प्रधानमन्त्रीले पछिल्लो समयमा अलग्गै गठबन्धन निर्माण गरेर सहमतिको सम्भावनाको अन्त्य गरेको भन्दै अब आन्दोलनबाटै सरकार ढाल्ने घोषणा गरे ।
कार्यक्रममा अखिल छैठौका अध्यक्ष अनिलकुमार घिमिरे, अनेउसंघका अध्यक्ष लक्ष्मणदेब पाण्डे, मधेसी यूवा फोरमका अध्यक्ष योगेन्द्र यादव, नेप्रयूवा संघका अध्यक्ष जेपी केरुङग, राप्रयू संघका उपाध्यक्ष मोहनकाजी भण्डारी, अखिल पाचौका अध्यक्ष विनोद आचार्य, समाजवादी यूवा लिगका प्रवक्ता समिर राणा, राष्ट्रिय जनशक्ति यूवा संघका कावा अध्यक्ष दिनेश कार्की, यूवा कम्यूनिष्ट संघका अध्यक्ष श्याम राई, राष्ट्रिय जनशक्ति विद्यार्थी संघका अध्यक्ष धनसुर साही, अखिल एकीकृतका अध्यक्ष अर्जुन कार्की र चुरेभावर यूवा संघका रामेश्वर थापाले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए ।