हुनान – विश्वको पहिलो उच्च क्षमतायुक्त हलुका रेलको निर्माण कार्य सम्पन्न भई शुक्रबार पूर्णरुपमा रेल तयार भएको छ । चीनको हुनान प्रान्तको झुझोउमा रहेको लोकोमोटिभ तथा रोलिङ स्टक निगम लिमिटेड (सीएसआर) झुझोउ इलेक्ट्रिक लोकोमोटिभ कं. लिमिटेडले उक्त रेल तयार पारेको हो ।
उक्त कम्पनीका जेनेरल म्यानेजर जु जोङजियाङले बताए अनुसार यस रेलमा अहिले जस्तो हाइटेन्सन लाइनबाट विद्युत प्राप्त गर्नको लागि छतमा राखिएको परम्परागत पेन्टोग्राफको प्रयोग गरिएको छैन । यसको छतमा बक्स-प्रकारको सुपरक्यापासिटर रहेको हुन्छ भने हरेक डब्बाको मुनी चार्ज स्पट रहेका हुन्छन् । रेल स्टेशनमा रोकिएको समयमा ३० सेकण्डभित्र पूर्णरुपमा विद्युत चार्ज भैसक्नेछ । रेलमा बढीमा ३२० यात्रु अटाउन सक्नेछन् ।
यस रेलले कम ऊर्जा खपत गर्नुका साथै थोरै जमिन उपयोग गर्ने भएकोले कम लागतमा पर्यावरणीय अनुकूल शहरी सार्वजनिक यातायात निर्माणको लागि यो नयाँ समाधान हुन सक्ने कुरा जोङजियाङ बताउँछन् ।
– सिन्ह्वा