Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जापान र नेपालको दुरी ७ घण्टामात्रै

टोकियो- नेपालको राष्ट्रिय ध्वजाबाहक हवाइजहाज लामो समयपछि फेरि जापान उत्रने भएको छ । “देश बनाउनका लागि संसारलाई नेपालको नजिक ल्याउने” (Building the nation by bringing the world closer to Nepal) उद्देश्यका साथ शुरु हुन लागेको यो उडानको शुरुवातले जापान र नेपालबीचको दुरी करिब ७ घण्टाको मात्रै हुने भएको छ । जापानका सफल नेपाली व्यवसायी भवन भट्ट अध्यक्ष रहनु भएको बीबी एयरवेजले आफ्नो सम्पूर्ण तयारी पुरा गर्दै जापानबाट आगामी अक्टोबर १३ तारिखदेखि हप्ताको २ उडान गर्ने घोषणा गरेको छ । नेपाललाई के न्द्रमा राखेर काम गर्दै आएका अल्पाइन टुर, हिमालयन खाङको, किङकि टुरिष्ट, खाजे ट्राभल्स, साङके टुर एण्ड ट्राभल्स लगायतका जापानका २५ भन्दा बढी प्रतिष्ठित ट्राभल एजेन्सीहरुलाई बीबी एयरवेज र यसको सेवाका बारेमा जानकारी गराउन हिजो बीबी एयरवेजको जापानस्थित कार्यालय सिन्जुकुमा एक कार्यक्रमको आयोजना गरिएको थियो । त्यस अवसरमा एनआरएनका केन्द्रिय कोषाध्यक्ष समेत रहनुभएका बीबी एयरवेजका अध्यक्ष श्री भट्टले नेपालीहरुको सबैभन्दा ठूला दुई पर्वहरु दशैं र तिहारलाई मध्यनजर गर्दै उडान तालिका तयार गरेको बताउनुभयो । नेपालको पर्यटनमात्रै नभएर समग्र विकासका लागि यो एउटा अभियानको शुरुवात पनि भएकाले नेपाली तथा जापानी मित्रहरुलाई सक्दो सहयोग गर्न उहाँले त्यसै अवसरमा आहवानसमेत गर्नुभयो ।

त्यस अवसरमा बीबी एयरवेजका क्षेत्रीय निर्देशक जापानी नागरिक नाकाओ हिरोयोसीले बीबी एयरवेजका विविध पक्षबारे जानकारी गराउँदै हरेक बुधबार र शनिवार जापानबाट नेपालका लागि सोझो उडान गर्ने बताउनुभयो । उहाँका अनुसार बीबी एयरवेज काठमाडौंबाट राति ११:३० मा उँडेर भोलिपल्ट बिहान ९ बजे नारितामा उत्रने छ भने नारिताबाट विहान ११:३० बजे उँडेर सोही दिन साँझ ५:३० बजे काठमाडौंमा अवतरण गर्ने छ । अहिलेका लागि टोकियोदेखि काठमाडौंको दुइतर्फि भाडा करिब एक लाख २० हजार (१२ मान) येन हुने पनि बुझिएको छ भने टिकट बुकिङ छिटै खुल्ला हुने जनाइएको छ ।

आठ वटा बिजिनेस सिटसहित २०२ सिट क्षमताको बोइङ 757-200 ER अक्टोबर सम्ममा बीबी एयरवेजसँग २ वटा हुने बताइएको छ ।

आइकाओ कोड बीबीडब्लु र आइएटा कोड बीओ रहेको उक्त एयरवेजले पहिलो उद्‍घाटन उडान यही सेप्टेम्बर १३ का दिन काठमाडौंबाट मलेसियाको क्वालालम्पुर गर्ने भएको छ । बीबी एयरवेजले काठमाडौंबाट हङकङ र ताइवानको उडान पनि सेप्टेम्बरबाटै थाल्ने छ भने अक्टोबरबाट टोकियोको उडान थपिने छ ।

ताइवानी विमान कम्पनी तोन्लेसाप संग भएको आईसीएमआई सम्झौताअनुरुप उडानको पहिलो ६ महिनासम्म विमान उपलब्ध गराउने कम्पनी तोन्लेसापको ब्यवस्थापनमा बिबि एअरवेज सञ्चालन हुने सो एअरवेजले जनाएको छ ।

जापानबाट हप्ताको २ उडान रहने बिबि एअरवेजको उडान शुभारम्भ भएपछि प्रशस्त मात्रामा जापानीहरु नेपाल भित्रिने अपेक्षा गरिएको र आफु बसेको मुलुकबाट नेपालको पर्यटन प्रबर्द्धनमा यथेष्ट सहयोग पुरयाउन सकिने अध्यक्ष भट्टले बताउनुभएको छ ।

स्मरण रहोस्, बिबि एअरवेजले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, दोहा, सिंगापुर र टोकियोका लागि अन्तरराष्ट्रिय उडान भर्ने अनुमति पाएको छ ।  ***

तपाईको प्रतिक्रिया