
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा अर्थमन्त्री पुनले मन्त्री परिषदले अध्यादेशबाट ल्याएको बजेट राष्ट्रपतिले समेत रोक्न नसक्ने दावी गरे ।
साक्षात्कारमा उनले भने- बजेट ल्याउने सरकारको काम हो । यो राष्ट्रपतिले त रोक्न सक्नुहुन्न,प्रतिपक्षले अबरोध गर्दैमा बजेट रोकिदैन, द्वन्द्वकाबीच पनि नियमित प्रकृयाअनुसार नै पूर्ण बजेट आउँछ ।
प्रतिपक्षी दलहरुले राष्ट्रपतिलाई बजेटको विषयमा विवादमा तान्ने काम गरेको आरोप लगाउँदै मन्त्री पुनले भने- मन्त्री परिषदको सिफारिसको निर्णयलाई राष्ट्रपतिले अनुमोदन गर्ने हो, राजनीतिक पार्टीले गर्न नसकेको कुरा राष्ट्रपतिले गर्न सक्दैनन् ।
मन्त्री पुनले राष्ट्रपतिको अहिलेसम्मको भूमिका सन्तोषजनक रहेको उल्लेख गर्दै थपे- आफै पनि राष्ट्रपति विवादमा तानिनु हुन्न । अविभावकले गल्ती गरे भने देश दुर्घटनातिर जान्छ । राजा ज्ञानेन्द्रले गल्ती गरेका कारण माघ १९ निम्तिएको उदाहरण हामीमाझ ताजै छ ।
मन्त्री पुनले बजेटलाई नै केन्द्रविन्दुमा राखेर प्रतिपक्ष दलहरु मुडभेडमा जान्छन भन्ने आफूलाई नलागेको स्पष्ट पार्दै जसले जस्तो अवरोध गरे पनि ४ सय २९ अरबको पूर्ण बजेट आउने बताए ।
प्रतिपक्ष दलहरुले सरकारले गरेका हरेक कामलाई असंवैधानिक भन्दै विरोध गर्दै आएका दलहरुले अहिले सरकारले असंवैधानिक काम गरेको रहेन छ भन्ने बुझन थालेको दावी गर्दै उनले नेपालमा बाहिरि शक्तिले केही नगर्ने भएकोले दलहरु मिलेर नै निकास खोज्नुपर्ने बताए ।
पर्यटन, कृषि पूर्वाधारको क्षेत्र र विदेशी लगानीकर्तालाई मैत्रीपूर्ण वातावरण बनाउनका लागि बजेट आउने उल्लेख गर्दे मन्त्री पुनले लाखौं युवाहरु विदेश पलायन हुनबाट रोकेर स्वदेशमै आत्मनिर्भर बनाउने खालेको बजेट आउने दावी गरे ।
मलमा ३ अर्ब १० करोड खर्चमा थप गरी ४ अर्ब बनाएकोले अब मलको अभाव नहुने विश्वास ब्यक्त गर्दै यस पटकको बजेट गत वर्ष जस्तो घाटामा नजाने आय र ब्यय बारबार हुने खालेको बजेट आउने बताए । ***