टोकियो – एकिकृत नेकपा माओबादी पार्टी औपचारिक रुपमै बिभाजन भएपछि देश बिदेशमा रहेका उसका भातृ संगठनहरुले बिभिन्न प्रतिक्रियाका साथ बक्तब्यहरु जारी गर्ने क्रम चलिरहेको छ । यसै क्रममा सो पार्टीको जापान स्थित भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा जापानले पनि एक प्रेस बक्तब्य मार्फ़त आफ़्नो धारणा सार्बजनिक गरेको छ । मोर्चाका अध्यक्ष बेलु थापाद्वारा हस्ताक्षरित सो बक्तब्यमा देश निर्माणको लागि सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पाएको पार्टी एनेकपा माओबादीमा आएको बिभाजन संक्रमणकालीन अवस्थामा रहेको राष्ट्रिय राजनितिक परिस्थितिमा कुनै पनि हालतमा सहि नभएको र यस बिभाजनले मुलुक ५० औं बर्ष पछि पर्ने बताउंदै पार्टी बिभाजनको भर्त्सना गरिएको छ । उक्त बक्तब्यको पूर्ण पाठ निम्न अनुसार रहेको छ –
नेपाली जनप्रगतिशील मोर्चा जापानको प्रेस बक्तब्य:
मुलुकको आमुल परिवर्तन गर्दै शोषित पीडित बर्गको हक अधिकार रक्षाको पक्षमा लडदै राष्ट्रकै प्रमुख तथा सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुन सफ़ल हाम्रो गौरबशाली माउ पार्टी एकिकृत नेकपा माओबादीमा केहि समय यता देखिदै आएको बिबाद अन्तत पार्टी फ़ुटसम्म पुगेको छ । जसले बर्षौं देखि पार्टी र जनताको लागि भनेर आफ़्नो तन, मन, धन दिंदै आएका हामी कार्यकर्ताहरु अत्यन्तै मर्माहत भएका छौं । मुलुक परिवर्तनको संबाहक शक्तिको रुपमा रहेको पार्टीमा आएको यो फ़ुटलाई केबल एउटा राजनैतिक पार्टीको मात्र फ़ुट नभई करिब ३ करोड नेपाली जनताको भाग्यमा पर्न आएको गम्भीर बज्रपात र देशलाई अझै ५० औं बर्ष पछि धकेल्ने ठूलो दुर्घटनाको रुपमा हामीले लिएका छौं । यस किसिमको फ़ुटले एकातर्फ़ देशमा परिवर्तन नचाहने यथास्थितिबादी शक्तिहरुलाई खुसी बनाएको छ भने अर्को तर्फ़ अधिकांश न्यायप्रेमी, परिवर्तनका पक्षधरहरुलाई दुखित तुल्याएको छ । त्यसैले एकिकृत नेकपा माओबादीलाई फ़ुटाएर आज जसरी एउटा नयां पार्टीको घोषणा गरिएको छ, त्यस्ता फ़ुट परस्त कदमहरुको नेपाली जनप्रगतिशील मोर्चा जापान घोर भर्त्सना गर्दछ ।
१० बर्षे महान जनयुद्ध, १९ दिने जन-आन्दोलन, मधेस तथा आदिबासी जनजाती आन्दोलन लगायतका बिभिन्न कालखण्डमा भएका आन्दोलनहरुले स्थापना गरेको राजनैतिक उपलब्धिहरुलाई संस्थागत गर्दै रणनैतिक रुपमा जनताको सत्ता स्थापना गर्ने दिशा तर्फ़ अगाडि बढिरहेको समयमा एनेकपा माओबादी भित्रको यो फ़ुट जुनसुकै दृष्टिकोणबाट पनि देश र जनताको पक्षमा नभई परिवर्तन बिरोधि तत्वहरुको पक्षमा भएको कुरा स्पष्ट हुन्छ ।
पार्टी भित्र भएका मतभेदहरुलाई मार्क्सबादको संघर्ष-रुपान्तरण-एकताको सिद्धान्त अनुसार सुल्झाउने तर्फ़ नभई छताछुल्ल रुपमा सडकमा ल्याई आफ़्नै नेतृत्वको बिरुद्धमा जथाभाबी रुपमा प्रहार गर्ने, ब्यक्तिगत आरोप-प्रात्यारोपमा उत्रने र आफ़्नै पार्टीको सरकारको बिरुद्धमा कालो झण्डा देखाउने तथा पुत्ला जलाउने सम्मका कार्यहरु आफ़ै पार्टी अनुशासनको ठाडो उलंघन मात्र नभई अराजकताको पराकाष्ठा थियो । त्यति हुंदाहुंदै पनि पार्टी नेतृत्वले कुनै किसिमको कारबाहीको कदम नचाली देश र जनताको चाहना अनुरुप पार्टीलाई एकजुट राख्नको लागि सबै किसिमका त्याग गर्न प्रतिबद्धता जनाउंदा पनि त्यसलाई बेवास्ता गर्दै अन्तत करोडौं कार्यकर्ता लगायत समस्त नेपालीको ईच्छा र आकांक्षालाई कुठाराघात गर्ने गरी गरिएको पार्टी फ़ुटाउने कार्यको हिसाबकिताब ईतिहासले अवश्य नै गर्नेछ । त्यसमा पनि पार्टी फ़ुटाएर पनि अब के गर्ने भन्ने स्पष्ट कार्यदिशा नहुनुले सो फ़ुट कुनै राजनैतिक बिचारले नभई पद र प्रतिष्ठाको लागि भएको स्पष्ट भईसकेको छ । त्यसैले ब्यक्तिगत मतभेद र रिसिईबीका कारण आवेशमा आएर गरिएका यस्ता निर्णयहरुको आत्मसमिक्षा गर्दै जनताको पक्षमा राजनीति गर्ने हो भने अझै पनि एकता महाधिबेशन मार्फ़त एक ढिक्का भई अगाडि बढ्नको लागि हामी नेकपा-माओबादी र एकिकृत नेकपा माओबादीका शिर्षस्थ कमरेडहरुमा हार्दिक अनुरोध गर्दछौं । त्यसको लागि संस्थापन पक्षमा रहनु भएका कमरेडहरुले पनि आफ़्नो तर्फ़बाट भएका कमी कमजोरीहरुलाई मनन गर्दै आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाउन पार्टी शुद्धिकरण तर्फ़ लाग्न बिशेष सुझाब दिन चाहन्छौं ।
अन्तमा, यतिखेर मुलुक अत्यन्त संबेदनशील अवस्थामा रहेको र प्रतिक्रियाबादी शक्तिहरु बिभिन्न बहानामा सल्बलाउन थालेको परिप्रेक्ष्यमा हामी अग्रगामी परिबर्तनमा बिश्वास राख्ने जापानलगायत देश बिदेशमा रहेका पार्टी प्रति प्रतिबद्ध शान्ति, संबिधान र जनताको सु-शासनका पक्षधर कमरेडहरु पटक्कै विचलित नभई पार्टी फ़ुटको पक्षमा होईन पार्टी एकताको पक्षमा रही सदैब पार्टीको मुलधारमा रहेर अघि बढ्न हार्दिक अपील गर्दछौं ।
बेलु थापा
अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जापान
२०१२ जुलाई ३