
‘बाबुरामले सितिमिति राजीनामा दिदैनन्,’ उनले अगाडि भने, ‘घेराबन्दीमा पारेर जनबलबाटै बर्खास्त गर्न सशक्त आन्दोलनको आवश्यकता छ ।’ प्रधानमन्त्रीलाई पदबाट हटाउन बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्ने उनको जोड थियो । राष्ट्रपतिले नभई आन्दोलनले प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताए । तत्काल प्रधानमन्त्री को भन्ने विषय प्राथमिक नभएको भन्दै आन्दोलनले लक्ष्य भेटेपछि तय हुने बताए । भावी प्रधानमन्त्रीको विषय अहिले उठान गर्नु आन्दोलनलाई कमजोर बनाउनु सरह हुने उनको तर्क थियो ।
साक्षात्कारमा बोल्दै गजुरेलले आफू सत्तामा टिकिरहन प्रधानमन्त्रीले संविधानसभा बिघटन गरेको बताए । उनले भने, ‘संविधानसभा बिघटन गरी सत्ता लम्याउने प्रधानमन्त्रीलाई सडकबाटै बर्खास्त गर्न सबै राजनीतिक दल, नागरिक समाज र आम जनता सडकमा उत्रनुको विकल्प छैन ।’ गजुरेलले प्रधानमन्त्री भट्टराई विदेशीबाट संचालित भएको आरोप लगाए । उनले भने ‘भट्टराई कहाँबाट संचालित छन्, कसले कुन षड्यन्त्रबाट उनलाई टिकाईरहेको छ सबैलाई थाहा छ ।’ विदेशीकै आँडमा कोहीपनि पदमा टिकिरहन नसक्ने इतिहास स्मरण गराउँदै जनबलबाट सत्ता परिवर्तन हुने ठोकुवा गरे ।
गजुरेलले संविधानसभाको निर्वाचन मंसीर ७ गते कुनै हालतमा हुन नसक्ने ठोकुवा गरे । सरकारले निर्वाचन सफल गर्न नभएर सत्तामा टिक्नका लागि घोषणा गरेको उनको तर्क थियो ।