काठमाडौं – युरोकपको उपाधि विजेताको छिनोफानो गर्न आज स्पेन र इटाली भिड्दै छन् । युक्रेनको किभमा नेपाली समय राति साँढे १२ बजेपछि सुरु हुने खेलमा दुवै टोली उपाधिलाई आफ्नो पोल्टामा पार्ने दाउका साथ मैदानमा उत्रने छन् ।
प्रतियोगिताको सेमिफाइनलमा पेनाल्टीमार्फत पोर्चुगललाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको थियो । यस्तै जर्मनीलाई पराजित गर्दै इटालीले स्पेनसँग भिडन्त पक्का गरेको थियो ।
स्पेन अघिल्लो संस्करणको युरोकपको उपाधि बिजेता हो । सन् २००८ मा भएको उक्त खेलमा स्पेनले जर्मनीलाई पराजित गरेको थियो । यस्तै स्पेन विश्वकप २०१० को विजेतासमेत हो । स्पेनले सन् १९६४ मा भएको युरोकपको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो । समूह चरणको पहिलो खेलमा इटालीसँग बराबरीमा रोकिएको स्पेनले त्यसयताका सबै खेल जितेको छ ।
यस्तै इटाली समूह चरणको दुईवटा खेलमा बराबरीमा रोकिएको थियो । इटाली आजको खेलमा विश्वविजेता स्पेनलाई पराजित गर्दै दोस्रोपटक युरोकपको उपाधि जित्ने दाउमा रहेको छ । उसले यसअघि सन् १९६८ मा युरोकपको उपाधि जितेको थियो । स्पेन भने लगातार तीन ठूला प्रतियोगिताको उपाधि जित्नुका साथै लगातार दोस्रोपटक युरोकपको उपाधि जितेर रेकर्ड कायम गर्ने योजनामा रहेको छ । पछिल्ला खेलमा निकै चम्किएका इटालीका खेलाडी मारियो बालोटेलीले स्पेनका स्टार खेलाडीहरुलाई कडा टक्कर दिने खेल प्रेमीहरुको अनुमान छ । ***