चितवन- केन्द्रमा पार्टी दुई टुक्रा भएपछि जिल्ला जिल्लामा माओवादीको विवाद उत्कर्षमा पुग्न थालेको छ ।
चितवनमा शनिबार बिहान एकीकृत नेकपा माओवादी र टुक्रिएर बनेको नेकपा-माओवादीबीच झडप भयो । झडपमा नेकपा-माओवादीका होमबहादुर खड्का, लालसिंह सिंहलगायत पाँच जना घाइते भएका छन् । एकीकृत माओवादीले गर्न लागेको अन्तरक्रियाको पूर्वसन्ध्यामा झडप भएको हो । कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्डका भाइसमेत रहेका पूर्वसभासद् नारायण दाहाल चितवन आएका थिए ।
चितवन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’को गृहजिल्ला हो । यहांको जिल्ला पार्टी कार्यालय कसको हुने भन्नेमा दुवै पक्षबीच विवाद छ ।
जिल्लाका २८ मध्ये २१ जनवर्गीय संगठनले संस्थापन माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले क्रान्ति पूरा गर्न नसक्ने भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा संगठित भएको घोषणा गरेका छन् ।