तनहुँ – बिहीबार रातीबाट परेको अबिरल वर्षाका कारण तनहुँ र बाग्लुङमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ। तनहुँको जामुनेमा एउटा घर भत्किदाँ घरमा बसेका ७ जनाको मृत्यु भएको छ। जामुने १,ट्याक्की डाँडामा साइबहादुर विकको घर भत्किदाँ उनकी श्रीमती, बहिनी, छोरी र छिमेकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा साइबहादुर विककी २४ वर्षीया श्रीमती रुपा विक, ८ र ६ वर्षिया छोरी पुर्णिमा र देविया, बहिनी १५ वर्षिया सम्झना विक छिमेकीहरु २० वर्षिया सुष्मा विक, २ वर्षिया रेखा विक र १५ वर्षिया दुर्गा विक रहेको प्रहरीले जनाएको छ।
साइ बहादुर भने बैदेशिक रोजगारको क्रममा भारतमा रहेका छन्। बिहान करिब ३ बजेको समयमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव स्थानीय बासिन्दा र प्रहरीले शुक्रबार बिहान निकालेको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए। उनीहरुको शव दमौली अस्पताल ल्याउदै छ।
त्यसैगरी बागलुङमा बिहीबार राति भएको अविरल बर्षाले आएको पहिरोमा पुरिएर हटियामा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुको पनि मृत्यु भएको आशंका गरिएको छ ।
हटिया-३का टेक बहादुर खत्रीको घर पहिरोमा परि तीन जना पुरिएका थिए। पहिरो मा पुरिएकी सो घरमा डेरा गरी बस्ने रेशकी पवित्रा सुनारलाई मृत अवस्थामा प्रहरी, स्थानीयबासीको सहयोगमा डोजर प्रयोग गरी बाहिर निकालिएको छ।
पहिरोमा सोही घरकी पवित्रा खत्री र मृतक सुनारको छोरा सुदीप बेपत्ता भएका छन्। पुरिएका दुई जनाको खोजी भैरहेकोले जीवितै पाईने सम्भावना न्युन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले बताएका छन्।