
भ्रष्टाचारको कसुरमा डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका गुप्ताले आज रिपोर्टस नेपाल डटकमका लागि ऋषि धमलासँग कुरा गर्दै अहिले सरकारमा बस्नुको कुनै औचित्य नरहेको बताए ।
उनले भने, ‘मधेसी मोर्चाले सरकार छाडेर राजनीतिक निकासका लागि पहल गर्नुपर्छ ।’
‘प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन,’ उनले भने, ‘सत्तामा बसिरहनु भन्दा निकासका लागि पहल गर्नु महत्वपूर्ण हुन्छ ।’
मोर्चामा रहेका पाचजना अध्यक्षले अहिलेको निकास के हो भन्ने बुझ्नुपर्ने बताएका अध्यक्ष गुप्ताले भने, ‘मधेसी दलहरुमा सत्ता लोलुप्ता छ ।’उनले सत्ताको भ्रम र आरोप चिर्नपनि सत्ता छाडेर निकासका लागि पहल गर्नुपर्ने बताए ।नयाँ चुनावमा गएपनि त्यसअघि दलहरुबीच सहमति अनिवार्य रहेको गुप्ताको भनाई छ ।
उनले राजनीतिक सहमतिबाट आउने निकासले मात्रै देशलाई सही बाटोमा दिने सक्ने उल्लेख गरे ।
कामचलाउ सरकारका प्रधानमन्त्री भट्टराईले पछिल्लो पटक दिएको अभिब्यक्तिप्रति आक्रामक देखिएका गुप्ताले भने, ‘भट्टराईले सहमतिका लागि पहल गर्नुको साटो उत्तेजित हुने अभिब्यक्ति दिनु हुँदैन ।’
‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सहमति खोज्ने ठाउँमा विपक्षी दलहरुलाई चिडाउनु हुँदैन,’ उनले भने, ‘निकास लागि प्रधानमन्त्रीले पदबाट सहज बहिर्गमनमा जानुपर्छ ।’
भट्टराईले तत्काल आफूले राजीनामा नदिने भन्दै दलहरुले बालहठ गरेको आरोप लगाएका थिए । सो अभिब्यक्तिको चौतफि आलोचना समेत भईसकेको छ ।