
‘प्रधानमन्त्री भट्टराईको भनाइबाट पार्टीमा कोही असन्तुष्ट छैन । अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको भन्ने कुरा हल्लामात्र हो,’ आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले भने– यो नै पार्टीको बटम लाइन हो । एयरपोर्टमा बोलेको कुराको पार्टीमा कहीँ कतै विरोध छैन ।
कांग्रेस–एमालेले जातीय पहिचानको संघीयतासहितको संविधानमा समर्थन जनाए र प्रधानमन्त्रीको विकल्प ल्याए मात्र भट्टराईले तत्काल राजीनामा दिने उनको भनाइ थियो ।
‘मुलुकलाई अस्तव्यस्त पारेर संवैधानिक संकट निम्तने गरी प्रधानमन्त्री भट्टराईले राजीनामा दिँदैनन्,’ उनले भने– विकल्प तयार नगरी सडकमा कुर्लिएको भरमा राजीनामा आउँदैन ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन सक्दैनन्, सहमतिका लागि आह्वान गर्न मात्र सक्छन् । संविधानका कुनै पनि धारामा त्यस्तो अधिकार छैन । राष्ट्रपतिबाट कुको अपेक्षा गरेका छैनौं । त्यसो भयो भने मुलुक दुर्घटनामा जान्छ,’ उनले भने ।
मन्त्री शर्माले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री र प्रचण्ड कोही बाधक नरहेको जिकिर गरे । साथै उनले सेना समायोजन विशेष समितिको बैठक असार १६ गते बस्ने र समायोजनको बाँकी प्रक्रिया अघि बढ्ने दाबी गरे ।