Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा-माओवादीको पक्षमा केही कार्यकर्ता देखिए पनि हङकङका अधिकांश माओवादी कार्यकर्ता संस्थापन पक्षमा उभिएका छन्। हङकङ कमिटिका कार्यबाहक सचिव, सहसचिव सहित दुई तिहाई बढी सदस्यले शान्ति र संविधानको विकल्प नरहेको भन्दै एकीकृत माओवादीमै रहने निर्णय गरेका हुन्।

जिल्लास्तरको मान्यता पाएको माओवादीको हङकङ कमिटीमा रहेका ३१ मध्ये ६ जना बाहिर छन् भने दुई जना स्वतन्त्र र ४ जना वैद्यले नेतृत्व गरेको माओवादीको पक्षमा देखिएका छन्। कार्यबाहक सचिव जेबी ओख्राबु, सहसचिव पवन बस्नेत सहित १९ जना संस्थापन पक्षमा लागेका हुन्।

पार्टीमा आएको विभाजनबारे छलफल गर्न आइतबार बसेको बैठकमा अधिकांश सदस्यले शान्ति, संविधान र पार्टी एकताको पक्षमा बोलेको सचिव ओख्राबुले बताए। ‘देशकाल, परिस्थिति हेर्दा अहिले शान्ति र संविधान नै पहिलो प्राथमिकता हुनुपर्छ भन्ने प्रायः साथीहरूको मत रह्यो’, ओख्राबुले भने, ‘त्यसका लागि अध्यक्ष प्रचण्डले नेतृत्व गरेको एकीकृत नेकपा माओवादीलाई अझै बलियो बनाएर जाने सहमति भयो।’

नयाँ पार्टी गठन गर्न काठमाडौँमा आयोजित वैद्य पक्षको भेलामा सहभागी भएर हङकङ फर्केका जिमि किराँती सहित चार जना भने खुलेरै नेकपा-माओवादीमा लागेका छन्। उनीहरू नयाँ पार्टीको हङकङ कमिटी गठन गर्ने तयारी गर्दैछन्।नेकपा-माओवादी बनेपछि क्रान्तिको मार्ग प्रसस्त भएको’ दावी गर्दै किराँतीले फेसबुक मार्फत् साथीभाईलाई अधुरो क्रान्ति पुरा गर्ने बाटोमा हिंड्न’ आग्रह गरेका छन्।

वैद्य पार्टीमा लाग्ने ठानिएका केही संस्थापनतिरै फर्किइरहेका छन् भने केहीले तटस्थ बस्ने बताएका छन्। किराँतीले नयाँ पार्टीको नेतृत्व गर्न आग्रह गरेपनि आफु केही समय कतै नलाग्ने विष्णु गुरुङले बताए। ‘जुटेर त केही भएन फुटेर के होला’, बैठक बसेर हङकङमा पार्टी भागबण्डा गरिएको आरोप लगाउँदै गुरुङले थपे, ‘युद्धमा जाने कि चुनावमा भन्ने नै प्रष्ट नभएपछि वैद्य पक्षको के भर भो, नयाँ पार्टी के का लागि ? ‘

फुटपछि काठमाडौँमा पार्टी कार्यालय र सम्पत्ति कब्जा गर्ने मामिलामा विवाद देखिए पनि हङकङका माओवादीले भने सहमतिमै भागबण्डा गर्ने तयारी गरेका छन्। ‘विचारको आधारमा को कता लाग्ने भन्ने भएकाले आरोप प्रत्यारोप नगर्ने, लाञ्छना नलगाउने र लेवीबाट उठेको पैसा पनि सहमतीमै बाँड्ने समझदारी भएको ओख्राबुले बताए। ***

तपाईको प्रतिक्रिया