नेपालका कम्युनिस्ट पार्टीहरूको इतिहास केलाउने हो भने फुटको राजनीतिलाई नौलो मानिँदैन। विचार र सिद्धान्तको नाममा एउटै छातामुनि लामो समयसम्म रहन नसक्ने उनीहरूको विशेषता नै हो। शक्ति र पकड जमाउन कम्युनिस्टहरू आफ्नो हित र स्वार्थका लागि कुनै पनि बेला फुट्न सक्छन्। जोसुकैसँग घाँटी जोड्न तयार हुन्छन्। एकीकृत नेकपा माओवादीको फुटमा पनि त्यही पृष्ठभूमिले काम गरेको छ। माओवादीको यो फुटले एकथरीको उद्देश्य पूरा पनि भएको छ भने सिंगो माओवादीलाई यसले ठूलो धक्का पुर्याएको छ। यसो भन्दै गर्दा माओवादीको यो फुटले नेपालको सिंगो राजनीतिलाई अत्यन्तै अप्ठेरो स्थितिमा पुर्याएको कुरालाई नकार्न सकिँदैन। माओवादीको यो फुटले संविधान निर्माणको प्रक्रिया र शान्तिप्रक्रियामा समेत गम्भीर धक्का लागेको छ, जुन तथ्यलाई सबैले स्वीकार्न सक्नुपर्छ।
माओवादीभित्र विशेषगरी पुष्पकमल दाहाल पक्ष र मोहन वैद्य पक्षबीचमा फुटको बीउ चुनबाङ बैठकबाटै रोपिएको हो। त्यसलगत्तै उनीहरूकै भाषामा संसदबादी दलहरूसँग दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि झन् आगोमा घिउ थप्ने कार्य भयो। त्यो अवस्थाका बीच पनि यी दुई पक्ष लामो समय एकै छातामुनि रहे। यद्यपि यो अवधिमा हरेक निर्णय र हरेक एजेन्डामा वैद्य पक्षले असन्तुष्टि जनाइरहृयो।
लोकतान्त्रिक गणतन्त्रको मुद्दा होस् वा विप्पा सम्झौता वा हतियार बुझाउँदा वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनेदेखि संविधानसभा विघटनको घटनासम्म वैद्य पक्षले पार्टी नेतृत्वको विरोध गर्दै रहृयो। यी सबै घटनाक्रमबाट अगाडि बढ्दै जाँदा पछिल्लो समयमा वैद्य पक्ष र पुष्पकमल-बाबुराम पक्षबीचमा लगभग पानी बाराबारको स्थिति रहृयो र अन्ततः औपचारिक रूपमै वैद्यपक्षले विभाजनको बाटो समात्यो।
यतिबेला माओवादी फुटको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन्। पुष्पकमल दाहाल निकटका नेता हरिबोल गजुरेलले सार्वजनिक रूपमै क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) र भारतीय राजनीतिक गुप्तचर संस्था (रअ) ले पार्टी फुटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। कसैले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका निकटस्थहरूको पनि पार्टी फुटाउन ठूलो भूमिका रहेको अड्कल काटेका छन्।
राजनीतिक खेलमा ठूलालाई निस्तेज पार्ने, आफ्नो अनुकूलको ‘लाइन’ मा ल्याउने, बुख्याँचा बनाउनेजस्ता कार्य नहुने पनि होइन। कुनै पनि छिमेकीको चाहना आफ़्ना छिमेकी मुलुकको राजनीति आफू अनुकूल होस् भन्ने रहनु अस्वाभाविक होइन। संसारमा ठूला शक्तिले छिमेकी वा त्यसभन्दा परकालाई पनि आफ्नो वशमा ल्याउने कार्यमा षड्यन्त्र नहुने होइन, यो एउटा रीत नै हो। तर नेता गजुरेलले भने झैं माओवादी फुटाउन भारतको महत्त्वपूर्ण भूमिका रहृयो भन्ने कुरालाई मान्न सकिने अवस्था देखिँदैन। वैद्यलाई काखी च्यापेर दाहाललाई भित्तामा पुर्याउने अथवा दाहाललाई काखी च्यापेर वैद्यलाई भित्तामा पुर्याउने खेल अर्थ राख्ने भारतीय शक्तिहरूले खेलेको मान्न सकिँदैन। हुनसक्छ, महत्त्वपूर्ण अर्थ नराख्ने केही शक्ति लागे होलान्, तर त्यसले खासै ठूलो अर्थ राख्दैन।
माओवादीभित्र तुलनात्मक रूपमा वैद्यभन्दा दाहाल र भट्टराई नै भारतीयहरूसँग नजिकिन चाहन्छन्। दाहालले भीडको मनोविज्ञान बुझेर सभाहरूमा भारतविरुद्ध अनेक गालीको वर्षा नगरेका होइनन् तर उनको मनोविज्ञान र उनको भारतीयमाझ प्रस्तुत हुने शैलीबाट त्यो केबल कार्यकर्तामाझ ‘पहिचान’ राख्ने कदममात्रै हो भन्ने प्रष्ट हुन्छ। बरु बेलाबेला वैद्यजीहरूले दाहाल र भट्टराईलाई रअको ‘दलाल’को आरोप लगाउन पछि पर्दैनन्। नयाँ पार्टी गठनको समयमा पनि वैद्यले त्यही शब्द दोहोर्याएका थिए। त्यसकारण पनि माओवादी फुटमा भारतीय शक्तिले भूमिका खेलेको भन्ने आरोपमा पत्याउन सकिने आधार देखिँदैन।
जहाँसम्म पूर्वराजा ज्ञानेन्द्र र उनका सहयोगीहरूको भूमिका रहृयो भन्ने कुरा छ। इतिहास केलाउने हो भने कम्युनिस्ट शक्ति र दरबारका बीचमा एकअर्काका अभीष्ट पूरा गर्नका लागि बेलाबेलामा घाँटी नजोडिएको होइन। भूमिगत अवस्थामा दरबारसँग सम्बन्ध रहेको कुरालाई दाहाल आफैंले पनि स्वीकारेका छन्। अझ केसम्म पनि भनिँदैछ भने माओवादीलाई भूमिगत अवस्थामा दरबारले सहयोग गरेको पनि थियो।
दरबारले कुन स्वार्थमा माओवादीलाई प्रयोग गर्यो यसै भन्न सकिने अवस्था अझै छैन। त्यसो हो भने दरबारको मनस्थिति पनि संसद्वादी दललाई ‘काउन्टर’ दिने थियो भन्ने बुझिन्छ तर कुन विषयमा दुवै पक्षबीचको असन्तोष बढ्दै गयो र राजतन्त्र फालियो, अहिले सबैका आ-आफ्नै अड्कल होलान् तर यकिनका साथ भन्न सकिने अवस्था भने छैन। यो पृष्ठभूमिलाई आधार मान्ने हो भने माओवादी फुटमा ज्ञानेन्द्र र उनका सहयोगीका भूमिका हुन सक्लान् तर वैद्यले यस विषयलाई ‘वाहियात’ भनेका छन्। यसो भन्दैगर्दा राजनीतिमा पर्दा पछाडिबाट ‘रिमोट’ चलाउनेको अनुहार र उद्देश्य न कसैले देखेका हुन्छन् न त कसैले बुझेका नै हुन्छन्।
विभिन्न कोणबाट जसरी जे विश्लेषण भए पनि माओवादी फुटमा पार्टी अध्यक्ष दाहालको ढुलमुले चरित्र, अस्पष्ट अडान र आफ्नो स्वार्थका लागि पार्टीभित्र दोहोरो भूमिका खेल्ने प्रवृत्तिले ठूलो काम गरेको छ। हिजो कुनै समय वैद्यलाई काखी च्यापेर भट्टराईलाई भित्तामा पुर्याउने र आज भट्टराईलाई च्यापेर वैद्यलाई भित्तामा पुर्याउने दाहाल प्रवृत्तिका कारण पनि माओवादी फुटेको कुरालाई नकार्न मिल्दैन।
अर्को महत्त्वपूर्ण पक्ष भनेको पार्टी खुला राजनीतिमा आएपछि पार्टीको महाधिवेशन गराउनुपथ्र्यो तर उनको नेतृत्व मोहले त्यतातिर ध्यान गएन। अन्तिम समयमा आएर नेतृत्व छाड्ने कुरा त गरे तर समय निकै घर्किसकेको थियो। उनको मनोविज्ञान नै शक्ति हातमा नहुँदा आफू असुरक्षित होइन्छ भन्ने थियो। त्यसकारण पनि उनले कहिल्यै शक्ति हस्तान्तरण गर्न चाहेनन्, फलस्वरूप माओवादी फुट्यो।
माओवादी फुटपछि दुवै पार्टीका भावी दिन त्यति सहज छैन। एकीकृत नेकपा माओवादीले त आफूलाई संसदीय प्रक्रियामा ढाल्न सक्छ। उसले संविधान निर्माण र शान्तिप्रक्रियामा एकखाले प्रतिबद्धता पनि जनाएको छ। झन् अब त एकीकृत माओवादीलाई बाध्यकारी अवस्था पनि सिर्जना भएको छ। ऊसँग संसदीय परम्परालाई नै पछ्याउने र जतिसक्दो चाँडो शान्तिप्रक्रियालाई टुङ्ग्याएर संविधान निर्माण गर्ने र जनतामाझ जानुको विकल्प छैन। अब पनि हिजोजस्तै हरेक विषयमा खोचे थाप्ने र शान्ति प्रक्रिया अवरुद्ध पार्ने कार्य एकीकृत माओवादीबाट भयो भने त्यसले सबैभन्दा ठूलो क्षति उसलाई नै पुर्याउनेछ।
माओवादीले पहिले नै शान्तिप्रक्रिया र संविधान निर्माणको विषयलाई टुङ्ग्याउने कार्य गरेको भए आज यो अवस्था नआउन पनि सक्थ्यो। अर्कोतिर वैद्य पक्षको आगामी कार्यदिशा स्पष्ट छैन। वैद्यको एउटै उद्देश्य भनेको परम्परागत कम्युनिस्ट विचारधारालाई जीवित राख्ने हो भन्ने देखिन्छ तर एक्काइसौं शताब्दीमा यो वैद्यको परम्परागत कम्युनिस्ट सोचले ठूलो उपलब्धि हासिल गर्न सक्दैन। वैद्यले भनेजस्तै जनवादी क्रान्ति, जनविद्रोह वा जनवादी गणतन्त्रका कुरा केबल नारामै मात्र सीमित रहने विषय हुन्।
वैद्यले ‘संसदवाद’ विरुद्ध आवश्यक परे मुलुकमा ‘जनविद्रोह र जनयुद्ध’ गर्ने चेतावनी दिएका छन्। वैद्यले जनविद्रोहका कुरा गर्दैगर्दा उनको पार्टीका सदस्य र कार्यकर्ताबीच पनि दुई लाइनको कुरा अगाडि आएको छ। त्यसकारण पनि वैद्यले अगाडि सारेको अस्पष्ट कार्यदिशामा नवगठित पार्टीका सदस्यहरूबीच भोलि ठूलो द्वन्द्वको अवस्था सिर्जना हुने देखिन्छ।
सहरी विद्रोह वा पुरानै प्रकृतिको विद्रोहमा जाने भन्ने लाइनमा ठूलै मतभेद वैद्यका सहयात्रीबीच छ। यही विषयले वैद्यको नवगठित पार्टी सहज ढङ्गले अगाडि बढ्ने अवस्था देखिँदैन। यही विषयले वैद्यको पार्टी फेरि पनि विभाजनको बाटोतर्फ अगाडि बढ्ने लगभग निश्चित छ। त्यो अवस्था नआए पनि अब कुनै खाले एकदलीय सर्वसत्तावाद लाद्ने र त्यसका लागि जनविद्रोह गर्ने सपना कसैले नदेख्दा हुन्छ। छिमेकी मुलुक भारत र अमेरिकाजस्ता मुलुकको प्रत्यक्ष चासो रहने यो मुलुकमा कुनै व्यक्ति वा समूहले एकदलीय सर्वसत्तावादको परम्परागत सोच पाल्नु आफैंमा हास्यास्पद विषय हो।
यो कुरालाई वैद्य वा उनका सहयात्रीले नबुझेको भन्न सकिँदैन तर यति बुझ्दाबुझ्दै पनि जनविद्रोह वा जनयुद्धसम्म जाने कार्यदिशामा अगाडि बढ्ने प्रयत्न भयो भने ती र त्यस्ता समूहको अवसान निश्चित छ। त्यसकारण पनि वैद्यले कार्यकर्तालाई लोभ्याउन मात्र मीठा कुरा गरेका हुन् भन्ने बुझ्न सकिन्छ र सँगै उनले अन्य पक्षलाई दिएको धम्की हो भन्ने पनि बुझिन्छ। यी सबै पृष्ठभूमिमा वैद्यको आगामी दिनको राजनीतिक यात्रा अत्यन्तै कठिन देखिन्छ।
जे भए पनि अहिलेको संगीन राजनीतिक अवस्थामा मुलुकका राजनीतिक दलहरू टुक्रिँदै जानु भनेको कसैका लागि हितकर हुँदैन। शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको विषय आफैंमा भड्खालोमा परेको अवस्थामा दलहरूको फुटको राजनीतिले उक्त विषयलाई झनै पछाडि धकेल्नेछ। ***