काठमाडौं – अस्ट्रेलियन प्रधानमन्त्री जुलिया गिलार्डले नेपालको विकासका लागि आगामी दिनमा अझ सहयोग बढाउने बताउनुभएको छ। दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा रहनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग हालै भएको भेटमा अस्ट्रेलियन प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
अस्ट्रेलिया सरकार नेपालमा आगामी दिनमा सहयोग बढाउन तयार रहेको र नेपालको आर्थिक समृद्धि होस् भन्नेमा आशावादी रहेको प्रधानमन्त्री गिलार्डले बताउनुभएको प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिनुभयो।
नेपालको पर्यटन, जलविद्युत् क्षेत्रमा सहयोग अभिवृदी गर्न तयार रहेकोमा जोड दिँदै आर्थिक समृद्धिका साथसाथै कृषिमा आधुनिकता भित्रयाउनका लागि पनि सहयोग गर्ने वचन उहाँले दिनुभएको प्रधानमन्त्री डा. भट्टराईले बताउनुभयो। सो अवसरमा दुई नेताबीच द्विपक्षीय हित र सहयोग आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले जानकारी दिनुभयो।
भेटवार्तामा प्रधानमन्त्री भट्टराईले नेपाल शान्तिप्रक्रिया र संविधान निर्माणको सङ्क्रमणकालीन अवस्थामा रहे पनि छिट्टै त्यसबाट मुक्त हुने र त्यसका लागि नेपालका मुख्य सरोकारवाला सचेत भएको जानकारी गराउनुभएको थियो। ***