काठमाडौं – भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालले चाहेजस्तो सहयोग प्रदान गर्न भारत तयार रहेको बताउनुभएको छ । ब्राजिलमा भईरहेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनको सिलसिलामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको भेटघाटमा उहाँले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेन्डाहरूमा पूरापूर सहयोग प्रदान गर्न भारत इच्छुक रहेको बताउनुभयो ।
नेपालको जारी शान्तिप्रक्रियाप्रति चिन्ता प्रकट गर्दै भारतीय प्रधानमन्त्री डा. सिंहले नेपालले अहिलेको सङ्क्रमणकाललाई होसियारीपूर्वक व्यवस्थापन गर्ने आशा व्यक्त गर्नुभएको प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिनुभयो ।
बैठकपछि प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, “नेपालको शान्तिप्रक्रियाले पूर्णता पाओस् र नेपाली जनताको आकाङ्क्षाअनुरूप बलियो बहुदलीय लोकतन्त्र स्थापित होस् भन्ने भारतको चाहना छ ।”
प्रधानमन्त्री डा. भट्टराईकाअनुसार दुवै देशका विदेश मन्त्रालयको तहमा नेपाल-भारत संयुक्त आयोगलाई क्रियाशील बनाई द्विपक्षीय सहयोग र आपसी हित प्रवर्द्धन गर्ने विषयमा भएको छलफल भएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालमा जारी शान्ति र संविधान लेखनको प्रक्रियाका बाँकी कार्य पूरा गर्न राजनीतिक दलहरूबीच राजनीतिक सहमति र समझदारी निर्माण गर्नु अति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
महासचिव मुनले ब्राजिलमा भइरहेको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको द्विपक्षीय भेटका क्रममा यस्तो धारणा राख्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री डा. भट्टराई र महासचिव मुनबीच नेपालको शान्तिप्रक्रिया र संविधान लेखन, नेपालको पछिल्लो राजनीतिक परिस्थिति, अतिकम विकसित मुलुकका सवालहरू तथा लुम्बिनीको विकाससमेतका विविध विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री डा. भट्टराईले संविधानसभाको म्याद समाप्त भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा महासचिव मुनलाई जानकारी गराउनुभएको थियो । ***