काठमाडौं । यही असार १० गते आइतबार देखाइने मच्छिन्द्रनाथको भोटो जात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । उक्त कुरा गृह मन्त्रालयले जनाएको छ ।
वर्षा तथा सहकालका देवता मच्छिन्द्रनाथको भोटो देखाउने खास साइत नहुने र सो दिन प्रमुख अतिथिको रुपमा राष्ट्रपति डा. रामवरण यादवको आगमनपछि करिब ५ बजे भोटो अवलोकनका लागि प्रदर्शन गरिने ललितपुर गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो ।
भोटो देखाउनका लागि आवश्यक तयारी पूरा भइसकेको ललितपुर उपमहानगरपालिकाका कर्मचारी अशोक श्रेष्ठले बताउनुभएको छ । भोटो देखाउने जिम्मेवारी ललितपुर गुठी संस्थानको हो भने तयारीसम्बन्धी व्यवस्थापन ललितपुर उपमहानगरपालिका र सुरक्षा व्यवस्थाका जिम्मेवारी ललितपुर जिल्ला कार्यालय तथा प्रहरी कार्यालयको रहेको बताईएको छ । ***