बागलुङ – नेपाली लोकगीतको झन्डै २०० वर्ष पुरानो इतिहासमा धौलागिरि अञ्चल यसको विकास र प्रवर्द्धनका हिसाबले अग्रभागमा देखिएको छ । लोकगीतको आधारभूत लय भनेको झयाउरे लय नै भएका कारण लोकगीतको लामो विकासक्रममा यस क्षेत्रको योगदान महत्वपूर्ण रहेको अन्वेषक प्रेम छोटा बताउनुहुन्छ । ’लोकगीत पुरानो झयाउरे लयको विकसित रूप हो, झयाउरे गीतको उदगमस्थल बागलुङ भएकाले पनि लोकगीतको क्षेत्रमा धौलागिरि अगाडि आउने नाम हो’ – छोटाले भने – ‘लोकगीतको सूत्रपात बागलुङबाटै भएको अनुसन्धानले पुष्टि गरेको छ ।’
बागलुङ जिल्लालाई लोकगीतको उदगमस्थलकारूपमा मानिएको छ । विसं १८७४ मा बागलुङ, बलेवा नेपानेका मनवीर मुखिया र राङखानीका गोर्या श्रीषले पहिलोचोटि झ्याउरे भाकामा ‘सालैजो’ गाएको इतिहासमा उल्लेख भएको छोटाले जानकारी दिए ।
तत्कालीन समयमा अङ्ग्रेज र गोर्खाली फौजबीच भएको युद्धमा गोर्खालीले हार बेहोरपछि पराजित मानसिकतामा ‘हाई गोरी’ भन्ने बोलको गीत गाइएको थियो । त्यो नेपाली झयाउरे भाकाको पहिलो गीत भएका अनुसन्धानले पुष्टि गरेको छोटाले बताउनुभयो । यसलाई विश्वविद्यालयले पनि मान्यता दिइसकेको छोटाको दाबी छ ।
गण्डक क्षेत्र र विशेषगरी धौलागिरि आसपास लोकगीतका लागि उर्वर क्षेत्र मानिन्छ । यहाँ प्रचलनमा रहेका सालैजो, यानिमायाँ, सुनिमाया, विनासालैजो, नानीलैजस्ता मौलिक लोकभाका झ्याउरे गीतबाटै विकसित भएको छोटाले तर्क दिए । विसं १८७४ तिर गाइएको ‘हाई गोरी’ देखि हालसम्म आइपुग्दा नेपाली लोकगीतसङ्गीतमा कायापलट नै भएको यस क्षेत्रका जानकारको भनाइ छ । सालैजो भाकामा गाइएको ‘हाई गोरी’ भन्ने बोलको गीतको ऐतिहासिकताको आडमा अहिले हजारौं लोकगीतको जन्म गराइदिएको छ । ‘हाईगोरी’ बोलमा झ्याउरे गाउने मनवीर मुखिया र गोर्या श्रीस तथा पछिल्लो समयमा नेपाली लोकगायनमा रुचाइएका पर्वतका गायक कुलेन्द्र विश्वकर्माले स्वर दिएको ‘डाँडै फुर्के सल्लो’ बोलको गीतसम्म आइपुग्दा धौलागिरि क्षेत्रमा लोकगीतका विकास र उपलब्धिको अवस्थालाई चित्रण गरेको संगीतकार श्रीकृष्णबम मल्लले बताएका छन् ।
लोकगीतको पछिल्लो बजारमा एकैसाथ देशभर चर्चित बनेको सो गीतको आधारभूत लयभूमि झयाउरे नै रहेको प्राज्ञ छोटाको भनाइ छ । अत्यधिक चर्चासँगै सो गीत धेरैको ओठमा गुञ्जियो । गीतका र्सजक नवराज पन्तका अनुसार ५० हजारभन्दा बढीले यो गीतलाई आफ्नो मोबाइलको सिआरबिटीमा डाउनलोड गरिसकेका छन् । उल्लिखित दुइ गीतको सिर्जनाकालको अन्तर झन्डै २०० वर्षको छ ।
लोकगीतसंगीतको तीव्र विकासक्रमसँगै गीतका सिर्जनाको संरचना, पृष्ठभूमि, शैली र भाव पक्षका दृष्टिकोणले कायापलट नै भएको संस्कृतिकर्मी छोटा मान्छन् तर मौलिकता मिचिंदैं जाँदा नेपाली लोकगीतको सुन्दर पक्ष नष्ट हुने हो कि भन्ने चिन्ता थपिएको छोटाको भनाइ छ ।
लोकगीतको बजार, श्रोताको रोजाई र र्सजकको उपस्थिति हेर्दा लोकगीतसङ्गीतमा धौलागिरिका सर्जकको प्रभावशाली भूमिका छ । म्याग्दीका खडग गर्बुजादेखि बागलुङका जीवन शर्मा, विष्णु खत्री लगायत धेरै कलाकार लामो समयको संघर्षपछि स्थापित भइसकेका छन् । उनीहरूले विभिन्न समयमा धौलागिरि अञ्चलका मौलिक भाकाको संवर्द्धनमा ठूलो योगदान पुर्याएका छन् ।
पछिल्लो समयको गायनमा बिकेका कुलेन्द्र विश्वकर्मा, याम क्षेत्री, देवी घर्ती, वसन्त थापा लगायत धौलगिरि अञ्चलभित्रका सयौं कलाकार अहिले नेपाली संगीत क्षेत्रमा व्यावसायिक रूपमा संलग्न छन् । धौलागिरिका सर्जकका गीत चर्चित र व्यावसायिकरूपमा पनि सफल रहेको कलाकारले दाबी गर्ने गरेका छन् ।
लोकगीतमा संगीत भर्दै आएका वसन्त थापाले भने ‘हामी दाबी गर्छौ हाम्रा गीत नै अहिले नेपाली लोकसंगीतको मूल प्रवाहमा छन् । ‘हामीले नयाँ प्रयोग र शैलीको पनि सुरुआत गर्यौं चाहे त्यो शब्द लेखनमा होस्, चाहे त्यो संगीतमा या त स्वर पक्षमा पनि’ गायक याम क्षत्रीले दाबी गरे । नजाऊ है सानु पँधेरीमा, शीतल दिने पिपल समी छ, डाँडै फुर्के सल्लो, रुमाल हल्लाई हल्लाईजस्ता चर्चित गीत धौलागिरिकै सर्जकका उत्पादन हुन् ।
धौलागिरि अञ्चलबाट काठमाडौं पुगेर विभिन्न संगीत कम्पनी खोल्नेको सङ्ख्या १०० भन्दा बढी रहेको कलाकारले बताएका छन् । सङ्गीत व्यवसायदेखि विभिन्न भूमिकामा यस क्षेत्रमा क्रियाशील हुनेको संख्या हजारौं रहको र यकिन गर्नै नसकिने श्रोता संगीत प्रालिका निर्देशक अर्जुन बोहराले बताए ।