काठमाडौं – लामो समयदेखि मृगौला रोगबाट पीडित राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द्र शाहको ६६ वर्षको उमेरमा निधन भएको छ। ४ असार राति सिंगापुरको एक अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो।
शाह दक्षिण एसियाली खेलकुद (हालको साग) का परिकल्पनाकारका रुपमा चिनिन्छन् । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रहेका शाहकै नेतृत्वमा १९८४ देखि नेपालबाट दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीय खेलकुद प्रतियोगिता सुरु भएको थियो ।
२०३४ सालदेखि ४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका शाहको कार्यकालमा नेपालले १९८८ को सिओल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनीतर्फ कास्य पदक जितेको थियो। उनले २०४५ सालमा नेपालको चर्चित दशरथ रंगशाला काण्डपछि सदस्यसचिव पदबाट राजीनामा गरेका उनी शाहीकालमा उनी सूचना प्रविधि उच्चस्तरीय आयोगको अध्यक्ष थिए। ***