काठमाडौं- एकीकृत नेकपा माओवादी अन्ततः विभाजित भएको छ । दुई दिनअघि सुरु भएको नेकपा माओवादी वैद्य विचार समूहको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो ।
वैद्यपक्षीय नेता नेत्रविक्रम चन्द विप्लवले औपचारिकरुपमा पाटी विभाजन भएको घोषणा गरेका हुन् । नयाँ कार्यसमिति चयन गर्न शीर्ष नेताहरुको भेला जारी छ ।
नयाँ पार्टी गठनको औपचारिक घोषणा भने भोलिमात्रै गरिने छ। नयाँ पार्टीको नाम नेकपा, माओवादी रहने छ । नेकपा र माओवादीको बीचमा कमा रहनेछ ।
यसअघि भेलाले २१ समूहमा छलफल चलाउँदा ९५ प्रतिशत बढीले नयाँ पार्टीको घोषणा गरी अघि बढ्नुपर्ने राय दिएका थिए। कार्यकर्ताको रायअनुसार नै माओवादी पार्टी फुट्ने भएको हो। ***