काठमाडौं– राष्ट्रपति डा. रामवरण यादवलाई आएको निमन्त्रणामा प्रधानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिल जान लागेको तथ्य खुलेको छ ।
संविधानसभा विघटनपछि कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्री भट्टराई कार्यकारी प्रमुखको हैसियतमा जान लागेका हुन् । ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुन गइरहेको रियो प्लस ट्वान्टी वातावरणीय सम्मेलनमा भाग लिन राष्ट्रपति डा.रामवरण यादवलाई निमन्त्रणा गरिएको थियो ।
तर, प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको नाम काटेर आफ्नो नाम सिफारिस गरी सो कार्यक्रममा भाग लिन जान लागेका हुन् । ब्राजिलकी राष्ट्रपति डिल्मा रिसफले सम्मेलनमा भाग लिन औपचारिक रूपमा नेपालका राष्ट्रपति यादवलाई आफ्नो देशको भ्रमणका लागि निमन्त्रणा दिएकी थिइन् । ब्राजिलका राष्ट्रपतिबाट प्राप्त निमन्त्रणा पत्रलाई औपचारिकता दिन राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयमा पठाएको थियो ।
तर, प्रधानमन्त्री कार्यालयले राष्ट्रपति यादवको नाम हटाएर प्रधानमन्त्री भट्टराईको नाम सिफारिस गरेको स्रोतले बतायो ।