विमानस्थलमा कालोझण्डा देखाइने
काठमाडौं– ब्राजिलको रियो दि जेनेरीयोमा हुने अन्तराष्ट्रिय वातावरण तथा दिगो विकास सम्वन्धि सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा. बावुराम भट्टराई सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सरकार प्रमुखको हैसियतले संयुक्त राष्ट्रसंघका महासचिवको निमन्त्रणमा सम्मेलनमा प्रधानमन्त्री भट्टराई जान लागेका हुन् । नेपाल एउटा अल्प विकसित देश साथ साथै पहाडि देश पनि भएको हुनाले अल्प विकसित देश र पहाडि देशका विकास र पर्यावरणीय समस्या मुखरित गर्नको लागि सम्मेलन महत्वपूर्ण अवसर भएको प्रधानमन्त्री डा. बावुराम भट्टराईले बताए ।
सम्मेलनमा सरकार प्रमुखको हैसियतले त्यहाँ जानु आवश्यक मात्र नभएर र्निविकल्प भएको उनको भनाइ छ । विशेष महत्वराख्ने यस सम्मेलनको विषयलाई अनावश्यक ढंगले जानेर वा नजानेर विवादमा ल्याउन उपयुक्त नहुने प्रधानमन्त्रीले बताए ।
‘यो सम्मेलनमा जानु कुनै पार्टी वा व्यक्ति विशेषको कुरा भन्दा पनि देशको राज्यको कुरा हो,’ उनले भने । दिगो विकास नीति निर्माण गर्न र एक अर्काबाट सिक्नको निम्ति यो सम्मेलन महत्वपुर्ण हुने उनले विश्वास व्यक्त गरे ।
‘मुख्य रुपमा पहाडि मुलुक को समस्या अवगत गराउनको लागि यो असाध्यै महत्वपूर्ण अवसर हो,’ उहाँको भनाई थियो । सम्मेलनलाई सफल पार्न सवै एक जुट भएर लाग्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
विश्वमा देखिएको वातावरणीय समस्या समाधान गर्नको निम्ति संयुक्त राष्ट्रसंघको तत्ववधानमा आयोजित उक्त सम्मेलनमा विश्वका झण्डै १ सय ५० राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने छन् । २० बर्ष पहिला ब्राजिलमानै विश्व वतावरण सम्मेलन भएको थियो ।
उक्त सम्मेलनले जलवायु परिवर्तनले भयावह स्थिति बाट उन्मुक्ति पाउनको लागि विकसित र अल्प विकसित देशका सरकार र जनताले कस्तो नीति लिनु पर्छ भन्ने विषयमा घोषणापत्र तयार पारेको थियो ।
नेपाल अति कम विकसित देशहरुको समुह ९मिअ० को अध्यक्ष रहेको छ । अति कम विकसित देशहरुको सरकार र राष्ट्रप्रमुख हरुको वैठक नेपालकै आयोजनामा त्यहाँ हुने छ । बैठककोे अध्यक्षता प्रधानमन्त्री डा. बावुराम भट्टराईले गर्नेछन् ।
नेपालकै आयोजनामा त्यो वैठक आयोजना हुने हुँदा वैठकको अध्यक्षता गर्नको लागि पनि प्रधानमन्त्री सम्मलनमा जानु पर्ने हुन्छ । ३९ देश सदस्य रहेको समुहको अध्यक्षको हैसियतले प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु हुने छ ।
बैठकमा प्रधानमन्त्रीको अनुपस्थिति रहनु भनेको अति कम विकसित राष्ट्रको अध्यक्षको हैसियतले निर्वाह गनुपर्ने जिम्मेवारी र अन्तराष्ट्रिय दायित्व बाट विमुख भएको देखिने हुदा पनि सम्मेलनमा भाग लिन अपरिहार्य रहेको छ ।
यसको अतिरिक्त उच्च पहाडि देशहरुको समस्याको बारेमा पनि अर्को भेला त्यहाँ हुने छ । विश्वकै उच्च पहाड नेपाल भएको हुँदा नेपालको सहभागिता महत्वपुर्ण रहने छ । सो भेला नेपाल, स्विजरल्याण्ड र पेरुको संयुक्त आयोजनामा हुने छ । भेलाको सह– अध्यक्षता नेपालले गर्ने हुँदा पनि सम्मेलनमा सहभागि हुन जरुरी भएको बताइएको छ ।
पछिल्लो चरणमा दक्षिण अमेरिकाका देशहरुमा प्रगतिशिल सरकारहरुको बाहुल्यता रहेको छ । नेपालको अहिलेको स्थिति र दक्षिण अमेरिकाका देशहरु बीच धेरै समानाता भएको बताउँदै प्रधानमन्त्रीले एक अर्काको स्थिति बुझ्ने पनि अवसर हुने पनि बताए ।
साथै प्रधानमन्त्री डा. भट्टराईले ब्राजीलमा हाईड्रो पावरको पनि अवलोकन गर्नेछन् र त्यसका प्रमुखहरु सँग छलफल गर्नेछन् । यसै गरी उनले विभिन्न देशका राष्ट्रप्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्री सहमतिबिना विदेश गएको भन्दै कांग्रेस एमालेलगायत विपक्षी दलले त्रिभूवन विमानस्थलमा कालोझण्डा देखाउँदैछन् ।