पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले दुईदिने भ्रमणमा शनिबार नेपाल आएका विश्वकप विजेता कप्तान धोनीलाई प्रमाणपत्र दिँदै सद्भाव दूतमा नियुक्ति घोषणा गरे।
सन् २००६ मा भारतकै पूर्वकप्तान सुनिल गावस्कर काठमाडौं आउँदा नेपाल पर्यटन बोर्डले उनलाई सद्भावना दूत चुनेको थियो।
धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको ‘हाइ प्रोफाइल’ भ्रमणमध्ये एक हो।
नेपाल भ्रमण गर्ने उनी पहिलो वर्तमान टेस्ट कप्तान हुन्। भारतीय दूतावासले नेपाल क्रिकेट संघ र विपी कोइराला नेपाल-भारत फाउन्डेसनसँग मिलेर ‘युथ इङ्गेजमेन्ट’ कार्यक्रमलाई भनेर धोनीलाई काठमाडौं ल्याएको हो।
भारतीय राजदूत जयन्त प्रसादले याक एन्ड यती होटलमा आयोजित अन्तर्क्रियामा नेपाली क्रिकेटको प्रवर्द्धन गर्न धोनी नेपाल आएको बताए।