बैतडी- देहिमाण्डौमा बिहीबार राति घर झगडाले उग्ररुप लिँदा ससुराले भरुवा बन्दुक पड्काएपछि बुहारी घाइते भएकी छन्। सदरमुकामसँगै पूर्वमा जोडिएको देहिमाण्डौ गाविस-९ का ६७ वर्षीय प्रेमसिंह थलालले रिसको झोकमा घरमा रहेको भरुवा बन्दुक पड्काउँदा आफ्नै ३२ वर्षीया बुहारी तारा घाइते भएकी हुन्।
घाइतेलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि नेपालगन्जमा थप उपचारका लागि लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो। घाइतेको बायाँ हातमा गोली लागेको उनका छिमेकी महेश भण्डारीले बताए।
प्रेमसिंहले छोरा करनसँग झगडा भएपछि आवेगमा आएर भरुवा बन्दुक पड्काउँदा बुहारीलाई गोली लागेको बताइएको छ। अभियुक्त अहिले प्रहरी नियन्त्रणमा छन्।