काठमाडौ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले असार भित्रमै सहमतिको राष्ट्रिय सरकार गठन हुने दावी गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले असम्बैधानिक रुपमा अध्यादेशमार्फत ल्याउन लागेको बजेट राष्ट्रपति डा. रामबरण यादवले रोक्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा डा. महतले संविधान त काम चलाउन भईसकेको सरकारले बजेट ल्याउन नसक्ने ठोकुवा गर्दै सहमतिको सरकार बनेपछि मात्रै बजेट सार्वजनिक गर्ने बताए ।
साक्षात्कारमा उनले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ४३ बमोजिम सहमतिको सरकार गठनकोलागी तत्काल आब्हान गर्नु पर्ने भन्दै त्यसपछि मात्रै मुलुकले निकास पाउने दावी गरे ।
उनले भने–राष्ट्रपतिले सहमतिको सरकार निर्माणकोलागी आब्हान गरेपछि उपयूक्त विकल्प प्रस्तुत हुन्छ । राष्ट्रपतिले अब तत्काल सहमतिको सरकार गठनकोलागी आब्हान गर्नु पर्छ ।
माओवादी अध्यक्षले नेपाली सेना आफ्नो पक्षमा रहेको र ५ सय वर्ष शासन गर्ने भनि दिएको अभिब्यक्तिलाई गैरजिम्मेवारी पनको परकाष्टाको संज्ञा दिदै उनले प्रचण्ड मुर्खहरुको स्वर्गमा रमाईरहेको भनि टिप्पणी गरे ।
उनले भने–नेपालको राष्ट्रिय सेना नेपालको सुरक्षामा प्रतिबद्ध छ । त्यो पार्टीको नियन्त्रणमा छ भन्नु हास्यास्पद र गैर जिम्मेवार भनाई हो ।