शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौ- न्यायाधीश रणबहादुर बममाथि बिहीबार गोली प्रहार भएको दिन उनका सुरक्षाका लागि नेपाल प्रहरीका असई महेश चौधरी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । बंगलामुखी मन्दिरबाट र्फकंदै गर्दा बममाथि गोली हान्ने समूहले पहिला उनीमाथि गोली चलाएको थियो । शरीरका तीन ठाउँमा गोली लागेर नर्भिक अस्पतालमा उपचार गराइरहेका गिरी सोमबार पाँच दिनपछि आईसीयूबाट जनरल वार्डमा सरेका छन् ।
२१९ नं. वार्डमा रहेका उनले त्यो दिनको घटनालाई यसरी बताए-
बंगलामुखी मन्दिरमा रानी साहेब ९रणबहादुर बमकी श्रीमती ( र सानो राजासाब ९बमका कान्छा छोरा) की श्रीमतीलाई छाडेर हामी बाहिरबाटै मन्दिरको दर्शन गरी सर्वोच्च अदालततर्फ हिँडेका थियौं । रानी साहेबहरू राम्ररी दर्शन गर्न लाइनमा बस्नुभएको थियो । मन्दिर बाहिर आएर गाडी चढेर मैले रेडियो बजाउँदा कान्तिपुर एफएममा ११ बजेको समाचार आइरहेको थियो । म चालक बस्ने सिटको छेउमा थिएँ । श्रीमान् र श्रीमान्का साथी राम गिरी पछाडिको सिटमा हुनुहुन्थ्यो । शंखमूल पुल पुग्न नपाउँदै हामी यूएन पार्क वाग्मती करिडोर हुँदै थापाथली निस्कनु थियो । मैले चालक अष्ट लामालाई टाउन प्लानिङको ठूलो र सीधा बाटोबाट भित्र पसौं भनें तर चालकले खोला किनारको बाटोबाट गाडी लगे । हामी खोला किनार पस्दा एउटा मोटरसाइकल सोझै बाटोबाट अघि बढेको थियो । दुईतिरका बाटो जोडिने पहिलो मोडमा मोटरसाइकल बिग्रिएजसो गरेर बिस्तारै कुद्यो । अघि(अघि पुगेपछि मोटरसाइकल तेस्र्यो । तेर्सिएको स्थानभन्दा २० मिटर टाढै हाम्रो चालकले गाडी रोके । म गाडीबाट उत्रिएँ । उत्रँदै गर्दा मैले चालकलाई तयारी अवस्थामा बस्नु भनेको थिएँ ।
मोटरसाइकलबाट एउटा व्यक्ति ओर्लियो । उसले हेलमेट खोल्यो । कालो माक्स लगाएको थियो । मैले उसलाई ‘हामीलाई हतार छ किन बीच बाटोमा गाडी रोकेको’ भनेर सोधें । उसले हर्न बजाउनु पर्दैन भन्यो । हर्न बजाएको त हो नि भन्दा उसले दुईपल्ट सरी सरी भन्यो र मोटरसाइकल भएतिर फर्कियो । मोटरसाइकलमा भएकाले स्ट्यान्ड उठाउन खोजेजसो गर्‍यो । मोटरसाइकलतिर फर्किएकाले हातका औंला देखाउँदै एक, दुई, तीन भनेर गन्यो । त्यसो गर्दा मात्र म झसंग भएँ ।
दुवै जनाले ममाथि प्रहार गरे । एउटा गोली टाउकोमाथिबाट कपाललाई छुँदै गयो । अर्को गोली घाँटीमा लाग्यो । मैले घुँडा टेकेर कम्मरमा रहेको पेस्तोल निकाल्न खोजें । तर हातले कम्मरमा पेस्तोल राख्ने खोललाई खोल्न सकेन । मलाई हानेपछि उनीहरू गाडीतिर दौडिए । घाँटीमा गोली लागिसकेकाले म बाँच्छु जस्तो त लागेको थिएन । मैले टाउको घुमाएर चालकलाई गाडी भगा भन्दा त गाडीमा चालक नै देखिनँ । पछिल्लो सिटमा बस्नु भएका श्रीमान्ले दुवै हात ठाडो पारेर आत्मसमर्पण गरेको देखें । मन थामिनसक्नु भयो । जसरी भए पनि श्रीमान्लाई बचाउँछु जस्तो लाग्यो । गोली हान्ने एउटालाई मैले तानें । उसले श्रीमान् बसेको गाडीको ढोका समातेको रहेछ । ढोका खुल्यो । श्रीमान् चार खुट्टा टेक्दै भाग्नुभयो । म श्रीमान्लाई जोगाउन उहाँतिर गएर छाती थापें । एउटाले पेस्तोल छातीमै टसाएर ममाथि गोली हान्यो । ममाथि नै ३ राउन्ड गोली खर्च गरिसकेका हुनाले यिनीहरूसँग धेरै छैन होला जस्तो लाग्यो ।
मर्छु जस्तै भएपछि श्रीमान्लाई बचाउन उहाँको शरीर ढाक्ने गरी दौडिएँ । उनीसँग भएका गोली सकिएछ । एउटाले मतिर देखाउँदै योसँग पनि पेस्तोल छ त्यही झिकेर हान भनेको सुनें । उनीहरूलाई पेस्तोल निकाल्न नदिन म भुइँमा लडें । उनीहरूले पेस्तोलको म्यागजिन निकालेर गोली हेरे, अनि भागे, म श्रीमान् भएतिर गएँ, अलि पर पुग्दा स्थानीयहरू हामीतिर आइरहेका थिए । मैले श्रीमान्लाई बचाइदिनुहोस्, उहाँ भीआईपी हो भन्दै आग्रह गरें ।
स्थानीयले मद्दत गरेर अस्पताल पनि पुर्‍याए । ट्याक्सीमा राखेपछि मैले एक हातले मेरो रगत बगिरहेको घाँटी र अर्को हातले श्रीमान्को छातीमा रगत आएको ठाउँमा रगत रोक्ने कोसिस गरेँ । थापाथली नपुग्दै बीचमा एउटा नयाँ पुल बनेको छ । त्यहाँसम्म श्रीमान् होसमा हुनुहुन्थ्यो । मलाई असई साब तपाईंलाई ठीक छ भनेर सोध्नु भो । मैले ठीक छ भनेँ । त्यसपछि केही थाहा छैन । म अघिल्लो साउनदेखि बम श्रीमान्को पीएसओ बसेको हुँ । बिहान डेढ घन्टा एक्लै मर्निङवाक र साँझ इभिनिङ वाक जानु हुन्थ्यो । कतैबाट कुनै प्रकारको धम्की आएको थाहा छैन । मैले अस्ति जेठ ९ गते श्रीमान् जेठ १४ आयो सुरक्षा खतरा हुन सक्छ, जोगिएर हिँड्नुपर्छ भनेको थिएँ । उहाँले मलाई केही हँुदैन । कसैको केही बिगारेको छैन । नखानु नडराउनु, खाएको विष पो लाग्छ नखाएको लाग्दैन भन्नुहुन्थ्यो । घटना भएको दिन मैले मेरो ज्यानै मारेर श्रीमान्लाई बचाउने कोसिस गरेको थिएँ तर सकिँन ।
तपाईको प्रतिक्रिया