शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौं- चार वर्षअघि संविधानसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले बाग्लुङ-२ बाट जिते। त्यसबेलाको क्षण सम्झन्छन्, ‘हजारौं जनताले घेरे, फेटा बाँधेर दुलाहाजस्तै सिंगारे, अबिर जात्रा गरेर संविधान लेख्‍न पठाएका थिए।’
संविधान बनाउन नसकी संविधानसभा विघटन भएको छ तर देश-विदेशबाट उनलाई फोन आइरहेको छ, ‘तपाईंले जित्नुभो, बधाइ छ भनेर।’ उनी छक्क छन्। दुःखी हुँदै भन्छन्, ‘त्यस्तो दुलाहा भएर आएको मान्छे, संविधानसभाको मलामी भएर फर्कंदैछु।’
केसी आफूलाई आएको बधाइबाट दिक्क पनि छन्। ‘मैले संघीयता हुन्न भने तर नेताहरूलाई संघीयतासहितको संविधान ल्याएर देखाइदिनुस् भनेको थिएँ’, उनले भने। उनले संघीयताको विरोध गरे पनि नेपाली जनताले ६० वर्षदेखि माग्दै आएको संविधानसभा विघटनको होस् भन्ने नचाहेको बताए।
पृथक बाग्लुङे शैलीमा आकर्षक बोलीमा उनले उखान सुनाए, ‘किसानको लैनो भैंसी थियो। उसकहाँ मोही माग्न छिमेकीले आउँथे। एकदिन भैंसी एकछिनको व्यथाले फ्याट्टै मरेछ। भैंसीवालाले भन्यो- ठेका बजेको सुन्न हुन्नथ्यो, मोही माग्न आइहाल्थे, बल्ल खाए।’ आफूलाई आएको बधाइ ग्रहण गर्ने हो भने भैंसीधनी जस्तै मूर्ख हुने उनले बताए।
संविधानसभा विघटनपछि केसीलाई जिल्ला फर्कन पनि गाह्रो लागेको छ। ‘उसबेला संविधान बनाउनका लागि दुलाहा बनाएर पठाएका थिए, फेरि खाली हात (भोट माग्न) कसरी त्यहीं जानू’, केसीले भने, ‘राष्ट्रिय जनमोर्चाले त टाउकै फोरे पनि संविधान बन्दैनथ्यो।’
सिन्धुलीबाट गत संविधानसभा निर्वाचनमा चुनिएकी निरकुमारी कँुवर (निरु दर्लामी) विघटित संभासद्लाई व्यंग्य सहित हाँसेर अभिवादन गर्दै आइन्, ‘नमस्कार है भूपू माननीयज्यूहरू।’ लगातार हाँसेर उनी पीडालाई छोप्न खोज्दै थिइन्। ‘पहिले माओवादीका लडाकूलाई अयोग्य भनेर घर फर्काइयो,’ उनी ख्यालठट्टा गर्दै थिइन्, ‘संविधानसभा विघटन भएपछि त कांग्रेस-एमाले-माओवादी सबै अयोग्य ठहरिए।’
गत संविधानसभा चुनावमा माओवादीले जनमोर्चाका लीलामणि पोखरेललाई समर्थन गर्ने निर्णय गरे पनि त्यसविरुद्ध विद्रोह गरी चुनाव जितेकी थिइन् उनले।
राज्य व्यवस्था समितिका पूर्व सदस्यहरूको अनौपचारिक भेटमा सभासद्हरूले आफ्नो मनको कुरा राखेका थिए। पहिला बोल्दिनँ भनेर हाँस्दै टारेकी दर्लामीले अन्तिममा मुख खोलिन्, त्यो पनि मन खोलेर।
‘मेरो अलि फरक किसिमको विजय भएकाले थुप्रै प्रश्नहरूका पोका बोकेर चार वर्षअघि काठमाडौं छिरेकी थिएँ’, सशस्त्र द्वन्द्वमा होमिदा पति र ११ वर्षीया छोरी मात्र हैन, भतिजा-भतिजीसेत उनी एकाएक भावुक देखिइन्। आँशु लुकाउने प्रयास गर्दै भनिन्, ‘नेपाली जनताको वर्गीय पक्षधर नेता जन्माउन धेरै मेहनत गर्नुपर्ला।’ उनको स्वरमा रोदन मिसिएको थियो।
दलका प्रमुख नेताका कारण ६०१ सभासद् इतिहासमै सबैभन्दा कलंकित पात्र बन्नुपरेको स्मरण उनले गरिन्। ‘हामीले त चार वर्ष तलबभत्ता खायौं, तर जसले मलाई यहाँ चुनेर पठाउनुभो, उहाँहरूको च्यातिएको साडी फेरिएको छैन,’ उनले भनिन्, ‘हामीले थुप्रै सपना बाँडे आएका छौं तर संविधानसभा विघटनको कलंकबाट मेरै पार्टीका अध्यक्ष प्रचण्ड पनि मुक्त हुनुहुन्न। जनताको अधिकार कसले कप्लक्क खायो, समीक्षा हुनुपर्छ।’
निरु त पहिलो पल्ट चुनाव जितेर आएकी पात्र हुन्। तर, ०४८ पछिका तीन चुनाव प्रत्यक्ष जितेका एमालेका डम्बरसिं साम्बाहाम्फेलाई पनि संविधानसभा विघटनबाट यस्तो पीडाबोध भएको छ, जुन यसअघि उनले दुई पटक चुनाव जित्दा भएका संसद् भंगमा भएको थिएन।
‘यसपटकको विघटनमा मेरो निष्ठा-आस्था गर्ल्यामगुर्लुम ढल्यो भन्ने लागेको छ’, उनले दिक्क मान्दै भने, ‘अब यो मुलुकमा संघीयता कहिल्यै आउँदैछ, संघीयताको उच्चारणसम्म हुन्न। दोषी शीर्षनेता हुन्।’
कांग्रेसका जगदीश्वरनरसिं केसी भन्ने आफ्नो गृहजिल्ला नुवाकोट गैहाल्ने तयारीमा छन्। ‘मुलुकको इतिहासमै सबै दलको शीर्षनेतृत्व असक्षम रह्यो’, उनले पनि आफू जनतासामु जिम्मेवारीबाट उम्कने बाटो निकाले, ‘हामी त कलंकित हौंला, तर ६०१ सबै कलंकित छैनन्।’
‘लुगा सिलाउँदा सिलाउँदै सभासद्’ भनी उसबेला चर्चामा आएकी कांग्रेसकी कृष्णकुमारी परियार भने अनुहार बिगार्दै बैठक कक्षमा पसिन्। आफ्नो बोल्ने पालो नआउञ्जेल मनमा भक्कानो पारेर बसेकी उनी पालो आउनेबित्तिकै बिलौना गर्न थालिहालिन्। ‘संविधानसभा खोइ भनेर जनताले बिलौना गरिरहेका छन्’, उनले डाको छाडेर रुँदै भनिन्, ‘संविधानसभा विघटन हुने बित्तिकै मलाई क्वाँ-क्वाँ रुन आयो, छोरीले नरुनुस् भन्दै सम्झाई।’
पहिलेपल्ट समावेशी संविधानसभामा आएकी उनले भनिन्, ‘हामीले कुरा राखेको सबै पानीमै गयो। अब संविधान नआउने भो।’ कसरी जिल्ला जाउँ कि भनेर आफूलाई पीडा भैरहेको बताइन्।
गुल्मीबाट गत संविधानसभामा प्रत्यक्ष चुनिएका माओवादीका सुदर्शन बरालले भने चाँडै जिल्ला जाने बताए। ‘अब जनतासँग गएर माफी माग्छु’, बेग्लैशैलीका वाकपटु बरालले भने, ‘कसरी संविधान बन्छ भनेर सभासद् दबाब समूह बनेन, संविधानका बारे सार्थक बहस सभासद् स्तरमा बनेन। सभासद्बाट पनि निरीह बन्ने प्रयत्न रह्यो, त्यसको प्रतिफल भोग्नैपर्छ।’
आफूहरू पनि शीर्षनेता जस्तै निर्वाचित भएर आएको स्मरण गर्दै उनले भने, ‘कति निरीह बनाइयो, हामी कति निरीह बन्यौं, त्यो पनि समीक्षा गर्न जरुरी छ।’
राप्रपाकी प्रतिभा राणाले संविधानका सदस्यहरू १४ गते राती खरानी जस्तो उडेको बताउँदै भनिन्, ‘हामीले शीर्षनेतालाई सधैं श्रद्धा र विश्वासका साथ हेर्‍यौं, अब खेद व्यक्त गर्ने बेला आयो।’
विघटित संसद्को राज्य व्यवस्था समितिका सभापति एमालेका रामनाथ ढकालले चार वर्षको अवधिका ६३ वटा बैठकको सभापतित्व गरेको स्मरण गरे। बोर्ड झिकिएको समितिकै बैठककक्षमा सभापतिको कुर्सी खाली राखी छेउको अर्को कुर्सीमा बसेका थिए उनी। ‘६० वर्षदेखिको जनताको बलिदानीपूर्ण संघर्षबाट संस्थागत गर्नेबेलामा रहस्यमय ढंगले संविधानसभा कसरी विघटन भयो?’ ढकालले भने, ‘संविधानसभा विघटन गर्नुको पछाडिका रहस्यहरू छिटै पटाक्षप हुनेछ।’
मंसीर ७ गते नयाँ चुनाव गर्ने घोषणा भएकोप्रति उनको प्रतिक्रिया थियो, ‘चार वर्षका लागि ६०१ सभासद्को फेरि चुनाव हुन्छ भन्ने मलाई विश्वास छैन।’ अनिर्वाचित सरकारले लामो समय शासन चलाउँदा अधिनायकवादको जन्म हुनसक्ने हुनाले राजनीतिक सहमतिबाटै समाधान निकाल्नुपर्ने उनले बताए।
एमालेकै राजकुमार राईले त यतिसम्म ठोकुवा गरे, ‘नेताका कारण हामी इतिहासकै नालायक भएर फर्केर जाँदैछौं, अब इतिहासमा कहिल्यै संविधानसभा चुनाव हुनेछैन।’ उनले पनि अब जनतासमक्ष जान गाह्रो पर्ने बताए। अर्का एमालेका सभासद् रिजवान अन्सारी त झन् बम्के, ‘असक्षम, नालायक र बेइमान नेतृत्वका कारण संविधानसभाको हत्या भयो, जनआन्दोलनलाई लिपीबद्ध गर्न सकिएन।’
नेपाल मजदुर किसान पार्टीकी लीला न्याइच्याईंले जेठ १४ गते संविधानसभा भवनमा सभासद्को व्यग्रता र चिन्ता सुनाइन्। ‘त्यहाँ कोही पनि अविभावक थिएन, के भइरहेका छ भन्ने कसैलाई थाहा थिएन’, न्याइँच्याईंले संविधानसभा निष्फल विघटनको कारण बताइन्, ‘बालुवाटार र सिंहदरबारले सधैं उछिन्दै आएको परिणाम हो यो।’ उनको पार्टीका अध्यक्ष नारायणमान विजुक्छे त्यही भए पनि उनलाई पनि केही जानकारी नदिइएको उनले बताइन्।
न्याइँच्याईंले संविधानसभा विघटन भएको राति १ बजेर ८ मिनेट जाँदा लेखेको कविता सुनाइन्, जसको अंश यस्तो छ-
फुकेको शरीर अजंगको थियो।
लामो सुँड अचम्मको थियो।
हेर्दै थिए सबै, मख्ख बने सबै।
आलोचना गरे, गाली गरे, ढुंगामुढा गरे,
अहँ टसको मस भएन।
के पो रै छ भनी सलाई कोर्दा
ह्वात्त जली पो सक्यो
खङग्रङ्ग शरीरभित्र एउटा चिप्स पो निस्क्यो।
दक्षिण भन्सारबाट वीरगञ्ज नाका हँदै
आयातीत एउटा चिप्स पो रैछ।
विघटित संविधानसभा सदस्यलाई जेठ १५ सम्मको तलबभत्ताबाहेक थप ३४ हजार तलब र ३२ सय घरभाडा पनि संविधानसभा सचिवालयले उपलब्ध गराएको छ। यसबापत पूर्व सभासद्लाई जम्मा २ करोड १९ लाख ९५ हजार र बाटाखर्च ६९ लाख ७० हजार गरी कुल २ करोड ८९ लाख ६५ हजार २ सय लाग्ने संसद्को लेखा शाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया