काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणको एक्लो ‘जस’ लिने प्रयास गरेपछि एमाले नेता केपी शर्मा ओलीले सरकार ढाल्ने योजना बनाएका छन् । ओलीको सरकार ढाल्ने प्रस्तावलाई कांग्रेसका उच्च नेताहरुले पनि साथ दिएका छन् ।
खाली मुलुकको भ्रमणपछि फर्किएका ओली शान्ति र संविधान निर्माणका धेरै बैठक र छलफलहरुमा भाग लिएका थिएनन् । लामो समयपछि संविधान निर्माणका विवादित विषयमा छलफल गर्न बिहीबार नयाँ बानेश्वरको शीर्ष बैठकमा सहभागी ओलीले एकाएक सरकार बदल्ने प्रस्ताव राखेका छन् । ‘ओलीले सरकार बदल्ने प्रस्ताव गर्नुभएको छ,’ कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने । उनले यसबारे सवै कुरा नखोल्ने बताए ।
माओवादी छापको संविधान बनाउने, त्यसो नभए संविधान नै बन्न नदिने र जेठ १४ पछि पनि यही सरकार टिकाउने तयारी थाहा पाएपछि ओलीले नयाँ कदम चाल्ने तयारी गरेका हुन् । उनको तयारीबारे माओवादी उपाध्यक्ष मोहन वैद्यलाई पनि जानकारी गराइएको छ ।
ओलीले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे वैद्यलाई जानकारी गराइसकेको बताएका छन् । स्रोतले ओलीको भनाई उद्धृत गर्दै भन्यो, ‘यदि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस-एमाले सहमत हुन्छन् भने वैद्यजीले सहयोग गर्नुहुन्छ ।’
ओलीको प्रस्तावमा कांग्रेस एमालेको औपचारिक प्रतिक्रिया आएको छैन । तर कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बाबुरामले सरकार टिकाउने मात्रै रवैया जारी राखे सरकार परिवर्तन गर्ने बताए ।
ओलीले पनि सार्वजनिकरुपमै सरकार ढाल्ने आफ्नो योजना खुलासा गरेका छन् । ‘हात्तीवन बैठकमा नै राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो,’ ओलीले शुक्रबार संवाददाताहरुसँग भने, ‘दुई ठूला दल सहभागी नगराई बाबुरामजीले यसै सरकारलाई राष्ट्रिय सहमतिको भन्नुहुन्छ भने हामीलाई मान्य छैन ।’