Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सुरक्षाको दृष्टिकोणले त्यति सुखद् रहेन २०६८। सामाजिक अपराधसँगै अपहरण, हत्या, हत्या प्रयास जस्ता गम्भीर प्रकृतिका सङ्गठित आपराधिक घटना भइरहे। अन्तर्राष्ट्रिय आपराधिक समूहको क्रियाशीलता पनि घटेन यो वर्ष।
 वर्षको प्रारम्भ र मध्यमा भएका २ वटा घटनाको कारक अन्तर्राष्ट्रिय आपराधिक सङ्गठन देखिए। नेपाल प्रहरीका केही प्रहरी अधिकृत वर्षभर नै चर्चामा रहे पनि समग्र सङ्गठनको छविमा भने सकारात्मक परिर्वतन देखिएन। अर्ध सैन्य बलका रुपमा गठित सशस्त्र प्रहरी बल पनि विभिन्न विवादमा मुछियो यो वर्ष। अपराध नियन्त्रणमा सफलता नपाए पनि अपराध अनुसन्धानको सफलताले भने निरन्तरता पायो २०६८ मा :
वैशाख १ : नयाँ वर्षको स्वागत नै गम्भीर प्रकृतिको अपराधले गर्‍यो। नयाँ वर्षको बिहानीमै चक्रपथ, वसुन्धरामा पाकिस्तानी दूतावासका कर्मचारी मेहबुब आसिफको हत्या प्रयास भयो। बिहान साँढे नौ बजे डेराबाट कार्यालयमा आउने क्रममा उनलाई २ जनाले गोली हानेर गम्भीर घाइते बनाए। गोली हान्ने दुवै जना सहजै फरार भए। घटनामा २०६४ मा मारिएका जमिम साह हत्यामा संलग्न भएका अपराधी नै संलग्न रहेको प्रहरी निष्कर्ष आयो। उपचारपछि उनको ज्यान जोगियो। प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन।
जेठ १७ : ठगीको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले युनाइटेड विकास ब्याङ्कका तत्कालीन कार्यकारी प्रमुख रवीन्द्रबहादुर सिंह र सञ्चालक राधाकृष्ण अमात्यलाई पक्राउ गर्‍यो। गोर्खा विकास ब्याङ्कमा भएको अनियमिततामा संलग्न रहेको अभियोगमा तत्कालीन अध्यक्ष डिवी बम्जन पक्राउ परे। सहयोगी राकेश अडुकियालगायतकाहरु पक्राउ परी अदालतबाट धरौटीमा रिहा भए। सेयर मार्केट्स फाइनान्सका प्रमुख योगेन्द्रमान श्रेष्ठ पनि ठगी अभियोगमा पक्राउ परे।
जेठ २८ : एपिसी भ्रष्टाचार अभियोगमा मुछिएका रमेशचन्द ठकुरी प्रधान मन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त भएपछि रिक्त भएको प्रहरी महानिरीक्षकमा रवीन्द्रप्रताप शाह नियुक्त भए। वरिष्ठतामा पहिलो भए पनि अघिल्लो सरकारले चन्दलाई प्रमुखमा नियुक्त गरेको थियो।
साउन २० : कलेज पढ्दै गरेकी २१ वर्षीया रोजी महर्जन मृत अवस्थामा ललितपुरको नल्लु जङ्गलमा फेला परिन्। कलेज हिँडेकी उनी घर नफर्किएपछि अपहरणको शङ्कामा अनुसन्धान अगाडि बढाउँदा गोली हानेर उनको हत्या गरिएको खुल्यो। हत्या अभियोग उनकै ‘प्रेमी’ सुभाष उप्रेतीमाथि लाग्यो। अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा उब्जिएको शङ्काका कारण व्यावसायिक अपराधी प्रयोग गरेर उप्रेतीले रोजीको हत्या गराएको खुल्यो।
असोज ९ : घन्टाघरमा मुस्लिम शिक्षामा सक्रिय फैजान अहमदलाई गोली हानेर हत्या गरियो। इस्लामिक सङ्घका महासचिवसमेत रहेका उनी दिउस मस्जिदमा प्रार्थना गरेर घन्टाघर नजिक रहेको कार्यालय फर्कने क्रममा उनलाई त्रिचन्द्र क्याम्पसको गेटअगाडि २ जनाले गोली हानेका थिए। उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याए पनि उनी जोगिएनन्। उनको हत्यामा अन्तर्राष्ट्रिय आपराधिक समूहको संलग्नता रहेको दाबी गरिए पनि कोही पक्राउ परेका छैनन्।
असोज २९ : विश्व हिन्दु युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेपछि भूमि सुधार मन्त्री रहेका प्रभु साहले अन्तत: राजीनामा दिए। काशी हत्यामा उनलाई जोगाउन प्रधान मन्त्री बाबुराम भट्टराईसमेतले प्रहरीलाई दबाव दिएको खुलेपछि साह विवादमा तानिएका थिए। अन्तत: प्रधान मन्त्रीले राजीनामा गराए।
मङ्सिर २ : क्रुर हत्याको शृङ्खला रोकिएन यो वर्ष पनि। ११ वर्षीया बालक शुभम साहको हत्या भयो अपहरणपछि। धनुषाका उनी बाफलमा बसेर हारती शिक्षा मन्दिर, बाफलमा पढ्दै गरेका थिए। उनी विद्यालय जाने क्रममै अपहरणमा परे। प्रहरीले अपहरणको अभियोगमा सात जनालाई पक्राउ गरेपछि शुभमको हत्या भइसकेको खुल्यो। प्रहरीले कलङ्की चोकमा रहेको सुपर यातायातको काउन्टरमा रहेको सुटकेसबाट उनको शव बरामद गर्‍यो।
पुस ५ : नयाँ शैलीको अपराधको उजागर पनि यही वर्ष भयो। नक्कली एटिएम बनाएर ब्याङ्कको ८० लाखभन्दा बढी रकम निकाल्ने दाजुभाइ सविन रिमाल र रितेश रिमाल पक्राउ परे। उनीहरुले पाँच महिनाको अवधिमा नबिल ब्याङ्कका विभिन्न ग्राहकको नक्कली एटिएम बनाएर रकम निकालेको अनुसन्धानमा खुलेको थियो। अन्य ब्याङ्कको समेत नक्कली एटिएम बनाउन अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध विस्तार गर्दागर्दै उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो।
पुस ६ : नक्कली भारतीय रुपियाँको कारोबारको क्रम रोक्न सकेन २०६८ ले पनि। १ करोड २२ लाख नक्कली भारतीय रुपियाँसहित काठमाडौंको कलङ्कीबाट तीन जना पक्राउ परे। प्रहरीले फिलिपिनो नागरिक डेनिस प्लोरे सञ्चेज, भारतीय नागरिक नसिभ आलम र खोटाङ चिसापानीका डिकबहादुर नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ परेका अभियुक्तहरुको बयानबाट भारतीय र नेपाली सहयोगी रहेको र फिलिपिनोले दोहाबाट भारतलाई ट्रान्जिट बनाएर सो नक्कली भारु नेपाल भित्र्याएको खुलेको थियो।
पुस २१ : लागु औषधको कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय समूहको चलखेल रोकिएन २०६८ मा पनि। चरेस, सेतो र खैरो हेरोइन बरामद हुँदै आएकामा कोकिनसमेत फेला पर्‍यो काठमाडौंमा। पेरुबाट एक किलो कोकिन लिएर नेपाल भित्रिएकी थाइ नागरिक सुपेरिटा मेनिटोस त्रिभुवन विमानस्थलमा पक्राउ परिन्।
माघ २ : अपहरणमा परेका व्यापारी पवन सङ्घाइको अपहरणको मुख्य योजनाकार रहेको अभियोगमा पूर्व मन्त्री श्यामशुन्दर गुप्ता पक्राउ परे। भैरहवामा छोराको बिहेको तयारी गरिरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी उतै पुगेर उनलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो। गुप्ताको योजनामा पुस पहिलो साता काठमाडौंको कमलादी गणेशथानबाट अपहरणमा परेका सङ्घाई १ करोड फिरौती बुझाएर अपहरणमुक्त भएका थिए। प्रहरीले गुप्तासँगै उनका चालक र सहयोगी पक्राउ गरेको थियो। गुप्ता अपहरण अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
माघ ८ : पुस २७ गतेदेखि हराएकी गीता ढकालको हत्या अभियोगमा सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला पक्राउ परे। मकवानपुरको पालुङ पुगेर फर्कंदै गरेका उनलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं भित्रँदै गर्दा पक्राउ गरेको थियो। उनी पक्राउ परेलगत्तै बेपत्ता भनिएकी गीताको हत्या गरेर पुस २८ गते पालुङको सडक किनारमा शव जलाएको खुलेको थियो। १० वर्षदेखि छुट्टिएर बसेका उनले अंश विवादमा गीताको हत्या गरेको खुलेको थियो। श्रीमती हत्या अभियोगमा उनी अहिले जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
फागुन १५ : सिंहदरबारको मुखैमा रहेको नेपाल आयल निगमअगाडि भएको शक्तिशाली बम बिष्फोटमा तीन जना सर्वसाधारण मारिए। धादिङका कृष्ण तामाङ, मानबहादुर तामाङ र वीरबहादुर तामाङ मारिए। घटनाको जिम्मा संयुक्त जातीय मुक्ति मोर्चाका विश्वक्रान्ति भनिने देवराज लामाले लिए। प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा भीमबहादुर तामाङ, निमादोर्जे तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सागर लामा र सुरेश लामालाई पक्राउ गर्‍यो। तर, घटनाका मुख्य योजनाकार देवराज लामा भने फरार छन्।
फागुन २० : कालीमाटी तरकारी बजारमा भएको आगलागीमा ६ जनाको ज्यान गयो। विद्युत् सर्टबाट भएको आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको थियो। आगलागीमा तरकारी बजारका सुरक्षा गार्ड हिराबहादुर पुन, उनकी छोरी शान्ति र निरा र छोरा निराजन मारिए। आगलागीमा परेर वीरगन्जका ओमकुमार साह र धादिङका पुजन मिजारसमेत मारिए।
चैत ५ : ठगीको अभियोगमा प्रहरी हिरासतमा रहेकी भवानी तामाङले प्रहरी हिरासतभित्रै पासो लगाएर आत्महत्या गरिन्। अनुसन्धान गर्दै जाँदा घर-घरमा भुसको आगोझैं सल्किएको ढुकुटी देखियो आत्महत्याको कारण। सामान्य परिवारकी उनलाई ढुकुटीमा धोका हुँदा करिव सात करोड ऋण लागेपछि विकल्पमा मृत्यु रोजेको खुले पनि अवैध धन्दा ढुकुटी रोक्न राज्य गम्भीर भएन।
चैत ८ : अपहरणमा परेका सिरहाका व्यापारी विजय साहलाई अपहरण मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीचको भिडन्तमा २ जना मारिए। चन्द्रोदय गाविसको कमल दह नजिकको जङ्गलमा साहलाई राखेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो। जङ्गलमा पुग्दा पाँच जना अपहरणकारीबाट घेरिएका साह फेला परेका थिए। प्रहरीले उनको सकुशल उद्दार गरेको थियो।
चैत २२ : झापाका पत्रकार यादव पौडेलको हत्या भयो। एभिन्युज सहकर्मी पौडेल विर्तामोडाको एक होटलअगाडि हत्या गरिएको अवस्थामा फेला परेका थिए। प्रहरीले हत्या अभियोगमा चार जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउँदा व्यक्तिगत कारणले उनको हत्या भएको खुल्यो।
– केपी ढुंगाना
तपाईको प्रतिक्रिया