Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ – अपरहण अभियोगमा जेल परेका सभासद श्यामसुन्दर गुप्ताले आफूले पाउने तलब/भत्ता उपलब्ध गराउन जेल भित्रबाटै संसद् सचिवालयका कर्मचारीलाई दबाब दिएका छन् ।
उनले तलब सुविधा रोकिएकोमा सचिवालयको लेखा शाखाका कर्मचारीलाई पटक-पटक टेलिफोनबाट दबाब दिएका हुन् । स्रोतका अनुसार उनले ‘पटक-पटक टेलिफोन गरी किन तलब रोकियो ? तत्काल बैंकमा जम्मा गरिदिनु,’ भनेका थिए ।
आफू सभासद नै रहेको भन्दै उनले माघदेखि चैतसम्मको तलब/भत्ता तत्काल उपलब्ध गराइदिन सचिवालयलाई भनेका छन् । व्यापारी पवन संघाईलाई अपहरण गरेको अभियोगमा गत माघ २ मा गृहनगर भैरहवाबाट पक्राउ परेका सभासद गुप्ता अहिले डिल्लीबजारस्थित सदरखोरमा छन् ।
अभियोग लागे पनि सभासदबाट निलम्बित नभएको अवस्थामा सभासदलाई सुविधा दिने/नदिनेबारे संसद् सुविधासम्बन्धी ऐनमा व्यवस्था नभएकाले लेखाका कर्मचारी अन्योलमा छन् ।
‘कुनै अभियोगमा जेलमा रहेका सभासदलाई सुविधा दिने/नदिनेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा हामी अन्योलमा छौं,’ सचिवालयको लेखा शाखा प्रमुख केशवबाबु अर्यालले कान्तिपुरसित भने । अभियोग लागेका र विवादमा मुछिएका, उच्छृंखल गतिविधिमा संलग्न सभासदलाई कस्तो कारबाही हुने भन्नेबारे नियमावली बनाउन ढिलाइ भएको छ ।
गुप्ताले पुसदेखि तलबभत्ता लिएका छैनन् । तलब, पिए, घरभाडा, टेलिफोन, धारा, बिजुली, पानी र बैठकबापत करिब ६० हजार रुपैयाँ पाउँछन् । उनी कात्तिक २९ मा सभासदमा पुनर्वहाली भएका थिए । सभासदमा पुनर्वहाली भएपछि उनले गत वैशाखदेखि पुससम्म सभासदले पाउने सबै सुविधा एकै पटक सचिवालयबाट बुझेका थिए । सभासद नरहेको अवस्थाको बैठक भत्तासमेत उनले बुझेका छन् ।
उनले पुस १ गते नै माघ महिनाको समेत तलब र घरभाडाबापतको ४० हजार ५ सय ३० रुपैयाँ बुझेका थिए । सद्भावना पार्टी (आनन्दीदेवी) को कोटामा मन्त्रिपरिषद्बाट उनी सभासद बनेका हुन् । उनको पार्टी सद्भावना आनन्दीदेवीले भने उनलाई अध्यक्षबाटसमेत हटाइसकेको छ ।
राहदानी दुरुपयोग अभियोगमा जेल जीवन बिताएका मधेसी जनअधिकार फोरम नेपालका सभासद शिवपुजन रायले पनि जेलबाट छुटेपछि एकै पटक सभासद रहँदासम्मको तलब र अन्य सुविधा लिएका थिए । राहदानी दुरुपयोग अभियोगमा जेलबाट धरौटीमा छुटेका एमाले सभासद नारदमुनि रानाले भने सभासदबापतको तलब सुविधा पाएका छैनन् । लामो समय फरार माओवादी सभासद गुणाखर बस्यालले केही समयअघि मात्रै फरार रहेको ६ महिना अवधिको तलबभत्ता एकैपटक सचिवालयबाट बुझेका छन् ।
तपाईको प्रतिक्रिया