काठमाडौं- नेपाली कांग्रेस र नेकपा(एमाले) शान्तिप्रक्रियालाई तत्काल अगाडि बढाउन एमाओवादीले नै तत्परता देखाउनुपर्नेमा सहमत भएका छन्। आज दुई दलको नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सातबुँदे सहमतिअनुसार नै शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको नेपाली काँग्रेसका नेता रामशरण महतले जानकारी दिए।
नेता महतका अनुसार सेना समायोजनमा एमाओवादीले नै पूर्व सहमति पालना गर्नुपर्नेमा जोड दिएको र अब कुनै सहमति आवश्यक नभएको भन्दै दुई दलले निष्कर्ष निकालेको जानकारी दिए। सेना समायोजनमा माओवादीले दुई दललाई केही लचक हुन आग्रह गरेपछि यस्तो निष्कर्ष निकालेको हो।
आजको बैठकमा आफनो तर्फबाट माओवादीले सातबुँदे सहमतिअनुसार नै सेना समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने र थप सहमति गर्नु आवश्यक नभएको निष्कर्ष निकालेको नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।
उपाध्यक्ष गौतमले राजनीतिक रुपमा निर्णय गरेर नेपाली सेनालाई राजनीतिक विवादमा तान्न नहुने निष्कर्ष निकालिएको बताए।
उनले सेना समायोजनमा अलमल गरिराखे स्वयम् माओवादीलाई नै अप्ठ्योरोमा पार्ने र सरकार समेत सङ्कटमा पर्ने भएकाले तत्काल प्रक्रिया अगाडि बढाउनु पर्नेमा दुवै दल सहमत भएको र माओवादीले पनि आफूहरुको भनाइलाई मनन गर्नुपर्ने बताए। श्रव्य सामग्री संलग्न छ। रासस