Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
ललितपुर- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट एमालेलाई पहिलो राजनीतिक शक्ति बनाइने बताए।
मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘चौथो ज्येष्ठ नागरिक गणतान्त्रिक देशदर्शन’ कार्यक्रमको आज यहाँ समापन गर्दै उनले एमालेलाई अन्य दलभन्दा ठूलो बनाई आगामी निर्वाचनमा बहुमत ल्याउने अवस्थामा पुर्‍याउन प्रतिनिधि परिषद् बैठकले निचोड निकाल्ने बताए।
सो अवसरमा एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकार अहिलेसम्मकै उत्कृष्ट कम्युनिष्ट सरकार भएको चर्चा गर्दै अहिलेको अवस्थामा उनको आदर्शलाई आत्मसात गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। त्यस्तै एमाले महासचिव ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको पर्याय भएको चर्चा गर्दै उनको आदर्शमय विचार र कार्यक्रमलाई निरन्तरता दिन एमाले प्रतिबद्धताका साथ लाग्नुपर्ने खाँचो औंल्याए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीले अहिले मुलुकमा बिपी कोइराला, मनमोहन अधिकारी र गणेशमान सिंहजस्ता व्यक्तिको अभाव खड्किएको र त्यस्ता व्यक्ति फेरि जन्मिएको भए मुलुकमा अहिलेको दुर्गति नआउने भन्दै उनको बाटो अपनाउन नेतागणहरुलाई आग्रह गरे।
मनमोहन प्रतिष्ठानका अध्यक्ष एवम् एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले जेष्ठ नागरिकको सम्मान गर्नु समाज र परिवारको अहम् दायित्व रहेको उल्लेख गरे।
ऐतिहासिक तथा धार्मिक स्थलको अध्ययन अवलोकन भ्रमण कार्यक्रममा ३२ जिल्लाका १०१ जना जेष्ठ नागरिक सहभागी थिए। भ्रमणमा सहिद परिवार तथा एकल महिलालाई पनि सहभागी गराइएको थियो।
आठ दिनसम्म चलेको सो कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई चितवन, बुटवल, लुम्बिनी, पाल्पा, स्याङ्जा, पोखरा, गोरखाको मनकामना तथा काठमाडौंको पशुपतिनाथ, बुढानिलकण्ठ, चिडियाखानाको अवलोकन गराइएको कार्यक्रम संयोजक हरिप्रसाद शर्माले बताए।
वि.स. २०५१ अर्थात् १७ वर्षअघि कम्युनिष्ट सरकारका प्रथम प्रधानमन्त्री एवम् तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीका कार्यकालमा जेष्ठ नागरिकको सम्मानमा विविध कार्यक्रम सुरु गरिएको थियो। अधिकारीको अवसानपछि उनको स्मृतिमा वि.स. २०५८ मा पहिलोपटक वृद्धवृद्धालाई मुलुकका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थानमा भ्रमण गराइएको थियो।
त्यसपछि प्रत्येक वर्ष सो कार्यक्रमलाई निरन्तरता दिँदै तेस्रो पटकसम्म सञ्चालन गरिएको थियो तर बीचमा मुलुकमा द्वन्द्व सुरु भएपछि स्थगित गरिएको थियो।
एमालेको नौ महिने सरकारका पालामा नेपालमा पहिलोपटक सामाजिक सुरक्षा भत्ताका रूपमा ज्येष्ठ नागरिकलाई मासिक रकम उपलब्ध गराउन थालिएको हो।
तपाईको प्रतिक्रिया