Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
लिवाङ (रोल्पा) – ‘तपाईं को हो ? कसलाई खोज्नु भो ?’ आफ्नो घरमै पुगेका महरालाई ७० वर्षे सेते कुँवरले सोधे, ‘तल्तिर सांसद महराका छोरा हो ?’ १६ वर्षपछि घर पुगेका माओवादी नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरामा तेर्स्याएको प्रश्न हो यो ।
कान्तिपुर दैनिकमा काँशीराम डाँगी लेख्छन्- गाउँको बाजे-बज्यै नाता पर्ने सेते र उनकी ७४  वर्षीया पत्नी कृष्णाले महरा यसरी घरमै देख्दा अचम्मित भए । उनीहरूमात्रै होइन, गाउँका सबै उनलाई देख्दा तीनछक परे । सेते दम्पतीले भने, उनी यसरी भेटिएलान् भन्ने कल्पनै गरेका थिएनौं । अचम्म त महरा पनि परे, सबैभन्दा नजिकका छिमेकीले समेत उनलाई चिनेनन् ।
महराले पटकपटक ‘म तल्लो घरको कृष्णबहादुर महरा हुँ,’ भन्दै परिचय दिएपछि मात्र ती दम्पतीले विश्वास गरे । चिन्नेबित्तिकै आश्चर्य मान्दै अँगालोमा बाँधिएका उनीहरूले महरालाई निकैबेर हेरे । ‘ए तिमी महरा नाति रहेछौ नि ।’
आफ्नो गाउँ शुक्रबार पुगेका महराले तत्कालीन माओवादीले भूमिगत आन्दोलन सुरु गरेलगत्तै घर छाडेका थिए । सदरमुकाम लिबाङकै वडा नं. ७ स्थित उनको घरमा महराले १६ वर्षपछि पाइला टेकेका हुन् ।
सिलाइकटाइ तालिममा भेला भएका गाउँलेलाई महराले त्यहीँ भेटेर खुसी साटे । अघिल्ला कार्यक्रममा घर नजिकैको सदरमुकामसम्म आए पनि घर पुगेका थिएनन् । दाङ-प्यूठान-रोल्पाको सडक उनकै घर नजिकबाट गएको छ । उनी भने डेढ दशक बितिसक्दा पनि घरमा पुगेका थिएनन् ।
दुई छोरा र छोरी ज्वाइँसहित घर पुगेका महरासामु गाउँलेले विकासका योजना मागे । पहिलेजस्तै सांसद भएको धारणा राख्दै गाउँलेले सडक, खानेपानी, विद्यालय र आधुनिक खेती प्रणाली मागे । ‘हामीलाई सडक चाहियो सांसदजी ।’ गाउँका ६४ वर्षका उदीराम कुँवरले भने, ‘गाउँकै सांसद भएपछि हामीलाई विकास पनि दिनुपर्‍यो ।’ गाउँका कोही पनि मानिस ‘महरा जति माथि नगएको’ र विकास निर्माणका लागि योजना माग्न अरूलाई नचिनेको उनले सुनाए ।
गाउँलेको माग सुनिसकेपछि महराले योजना निर्माणका लागि बजेट मिलाइदिने आश्वासनसम्म दिए । ‘विकासका काम तपाईंहरूले नै गर्ने हो । पैसामात्र माथिबाट आउँछ,’ महराले भने, ‘धेरैपछि गाउँ र घरमा आउन पाएकोमा मलाई निकै रमाइलो लागेको छ ।’
रोल्पामा छिट्टै प्राविधिक शिक्षालय चलाउन लागेको सुनाउँदै महराले त्यसका लागि आफ्नो जग्गामा भवन बनाउन सहमति दिने इच्छा रहेको बताए । बौद्धिक नेताका रूपमा परिचय बनाएका उनी लामो समय बस्ने गरी दुई छोरासहित जिल्ला आएका हुन् । जिल्लामा आएका बेला महराले राजनीतिक भेटघाट, कर्मचारीबाट जिल्लाको विकास सूचकबारे जानकारी र आफन्तबाट भेट्ने कार्यक्रम बनाएका छन् ।
गाउँको सामान्य मानिस सांसद भएकोमा गर्व भएको सुनाउँदै गाउँलेले मुलुकको विकासका लागि महत्त्वपूर्ण योगदान दिइरहन शुभकामना दिए । ‘हाम्रै गाउँका महरालाई गाउँमा पाएकोमा खुसी लागेको छ,’ कुनै बेला महरा व्यवस्थापन समिति अध्यक्ष रहेको तारा माविका प्रधानाध्यापक शिवराज पोखरेलले भने, ‘उहाँले अहिले पनि यो विद्यालयलाई माया गर्नुपर्छ ।’ महराका काका चन्द्रबहादुरका अनुसार उनले लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा राम्रो काम गरेका थिए । नजिकैको पुरानो विद्यालय बालकल्याणमा विज्ञान शिक्षक हुँदा आफैंले क, ख पढेको विद्यालय तारा मावि बामरुकमा चाहिँ व्यवस्थापन अध्यक्ष थिए ।
लामो समय शिक्षक भई अप्रत्यक्ष राजनीतिमा योगदान गरेका महराले पार्टीले भूमिगत आन्दोलन थालेपछि भने विद्यालय छाडेका थिए । उनी माओवादीमा लागेपछि प्रहरीले परिवारलाई निगरानी गर्न थालेपछि महरा पत्नी सीता, छोराहरू निर्मल र रेशमका साथ दुई छोरीहरू पनि भूमिगत भए । दुई छोरामध्ये निर्मलले माओवादी लडाकुबाट स्वैच्छिक अवकाश रोजेका छन् भने कान्छो रेशमले हालै चीनमा भाषा अध्ययन पूरा गरेका छन् । दुवै छोरीको बिहे भइसकेको छ ।
०४८ मा तत्कालीन जनमोर्चाका तर्फबाट रोल्पाबाट सांसद निर्वाचित भएका महरा दुईपटक सञ्चारमन्त्री र उपप्रधान र गृहमन्त्री बने । संविधानसभा निर्वाचनमा भने उनी दाङ ३ बाट निर्वाचित भएका हुन् । उनका गाउँलेले भने त्यसबारे जानकारी नपाएको बताए । छिमेकी उदीराम भन्छन्, ‘उनी हाम्रै नेता हुन् । रोल्पाबाटै चुनाव लडेका होलान् ।’
तपाईको प्रतिक्रिया