Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं- कार्यक्षेत्रमा हुने लैंगिक शोषणसम्बन्धी विश्वव्यापी बहस चलिरहँदा नेपालमा यो समस्या शान्ति सुरक्षाको जिम्मवारी बोक्ने प्रहरी संगठनभित्रै भयानक रहेको सरकारी सर्वेक्षणले देखाएको छ।
नागरिक दैनिकमा पत्रकार सुन्दर खनाल लेख्छन्- नेपाल प्रहरीले हालै गरेको पहिलो लैंगिक सर्वेक्षणले महिलाका लागि प्रहरीको जागिर पुरुष सहकर्मीको व्यवहारका कारण इज्जतिलो र सहज नरहेको देखाएको छ। सर्वेक्षणअनुसार पुरुष सहकर्मीहरूबाट हुने यौन दुर्व्यवहारबाट पीडितको संख्या उल्लेख्य छ। नेपाल प्रहरीमा कार्यरत ३ हजार ५ सय महिलामध्ये ८ सय २४ माथि नेपाल प्रहरीको अन्वेषण निर्देशनालयले सर्वेक्षण गरेको हो।
 
सर्वेक्षणमा ३८ प्रतिशतले आफूसामु पुरुष कर्मचारीले अश्लील शब्द प्रयोग गर्ने बताए। १५ प्रतिशतले जिस्काउने, होच्याउने, उच्छृंखल र अश्लील हाउभाउ गर्ने गुनासो गरे। पुरुष सहकर्मीले घुमाउरो पाराले घोचपेच गर्ने बताउने ३४ प्रतिशत पाइए।
पुरुष सहकर्मीबाट अश्लील व्यवहारबाहेक ठाडो यौन दुर्व्यवहार हुने विषयलाई पनि सर्वेक्षणले प्रकाशमा ल्याएको छ। सहभागीमध्ये २६ जना (तीन प्रतिशत) ले पुरुष सहकर्मीले संवेदनशील अंगमा छोएको उल्लेख गरे। १६ जना अर्थात् १ प्रतिशतले त आफूमाथि बलात्कार प्रयासै भएको जनाए।
पुस र माघमा गरिएको सर्वेक्षणमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी र पाँचै विकास क्षेत्रबाट ‘सेम्पिलिङ’ गरिएका महिला प्रहरीलाई यौन दुव्यर्वहारसम्बन्धी १९ र सेवासम्बन्धी १३ प्रश्न सोधिएका थिए।
अधिक प्रहरी महिलाले यौन दुर्व्यवहारको खतरा रहने अवस्थामा काम गर्नुपरेको पनि देखिएको छ। करिब एकतिहाइ त एक्लै रातको र बाह्य ड्युटीमा जान्छन्। ड्युटी सकेर ८५ प्रतिशत भाडाको कोठामा बस्न जान्छन्, करिब ३ प्रतिशत मात्र ब्यारेकमा बस्छन्। करिब १३ प्रतिशतले मात्र रातको ड्युटी सकेपछि मात्र बासस्थानसम्म पुर्‍याउने सुविधा उपभोग गर्न पाएका छन्। त्यति नै हाराहारीले मात्र ब्यारेकमा बस्ने सुविधा पाएका छन्। १६ प्रतिशतले रातको समयमा ड्युटी बस्दा अभद्र व्यवहार भोगेका छन्।
सर्वेक्षणमा पुरुष सहकर्मीले आफूलाई बारम्बार असजिलो लाग्ने व्यवहार गर्ने बताउने १० प्रतिशत भेटिए। आफूभन्दा माथिल्लो तहका पुरुष कर्मचारीले भनेजस्तो नगर्दा वा नमान्दा विभेद भएको बताउने ४३ प्रतिशत थिए। विभेद सबैभन्दा बढी ड्युटी धेरै लगाएर (५९ प्रतिशत) गरिएको पाइयो। त्यस्तै तालिमका बेला ‘गुरुवा’हरुबाट नराम्रो कार्य गर्न दबाब दिने वा फकाउने काम गरेको गुनासो ६ प्रतिशतले गरे।
सर्वेक्षणका अनुसार अधिकांश प्रहरी कार्यालयमा महिलाले छुट्टै शौचालय (६७ प्रतिशत) र पोसाक परिवर्तन कक्ष (७४ प्रतिशत) प्रयोग गर्न पाएका छैनन्।
४० प्रतिशतले आफूलाई नराम्रो लागेको कुरा रिपोर्ट नै गर्दैनन्। ५८ प्रतिशतले रिपोर्ट गरे पनि चित्तबुझदो समाधान ननिकालिएको अनुभव गरेका छन्। ५३ प्रतिशतले रिपोर्ट गर्ने सहज वातावरण नभएको बताएका छन्।
यौन दुर्व्यवहारबाहेक सेवा अनुभवका विषयमा पनि सर्वेक्षणले प्रहरी महिलाको असन्तुष्टि उठाएको छ। करिब ३० प्रतिशत असन्तुष्टमध्ये ५२ प्रतिशतले पक्षपातपूर्ण व्यवहार र तीन प्रतिशतले यौन शोषणलाई कारण देखाए।
अन्वेषण निर्देशनालयका प्रमुख डिआइजी विज्ञानराज शर्माले सर्वेक्षणका आधारमा नेपाल प्रहरीले लैंगिक नीति तयार गर्ने प्रक्रिया सुरु गरिसकेको जनाए।
तपाईको प्रतिक्रिया