Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
बिहार- प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार यहाँ ‘ग्लोबल समीट अन चेन्जिङ विहार’ सम्मेलन उद्‍घाटन गरेका छन् ।
पहिलोपटक बिहार आएका उनले एस के मेमोरियल हलमा भव्य कार्यक्रमबीच दिउँसो ३ बजे सम्मेलन उद्‍घाटन गरेका हुन् । सम्वोधनमा प्रधानमन्त्रीले विहारले छोटो समयमा गरेको प्रगतिप्रति नेपालको ‘सकारात्मक इर्ष्या’ रहेको बताए ।
उनले बिहारसँग सहकार्य गर्न आफ्नो मुलुक तयार रहेकोसमेत उल्लेख गरे ।
सम्वोधनको पूर्णपाठ:

“परिवर्तनमयी विहार-विकासको लागि साझेादरी”

विषयक विश्व शिखर सम्मेलनमा

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्बोधन

अध्यक्ष महोदय,

श्री नीतिश कुमारजी, विहार राज्यका मुख्यमन्त्री

शिखर सम्मेलनमा उपस्थित विशिष्ट महानुभावहरु

महिला तथा सज्जनवृद,

आज यहाँहरु समक्ष उपस्थित हुन पाउँदा मलाई अत्यन्त हर्षको अनुभूति भैरहेको छ र यो शिखर सम्मेलनमा मैले नेपाली जनता र सरकारको सद्भावना तथा शुभेच्छा लिएर आएको छु । नेपालमा हामीले हामीसंग सीमाना जोडिएका पाँच भारतीय राज्यहरुमध्ये एक विहारको आर्थिक तथा सामाजिक रुपमान्तरणलाई नजिकबाट नियालिरहेका छौं । विहारसंग नेपालको सीमाना जोडिएको मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्साका लागि विहारको सडक र रेलसेवा प्रयोग हुन्छ । यसैकारणले पनि नेपालका मुख्य औद्योगिक तथा आर्थिक केन्द्रहरु विहारको सीमाक्षेत्रमा अवस्थित छन् ।
नेपाल र विहारवीच सामाजिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ, जुन देखिएको राजनीतिक सीमाको बन्धनभन्दा मुक्त र माथि छ । हामी निकट छिमेकी मात्र होइनौं, प्रकृत्तिले पनि हामीलाई मिलेर काम गर्न वाध्य पारेको छ । विहारका प्रायः सबै नदी प्रणाली हिमाली जलाधारमा आश्रति छन् । हिमाली जलाधारले भरिएका यी नदीहरु हाम्रो जीवनका आधार हुन् । यिनैले हाम्रो खेतीलाई उर्वर बनाएका छन् र अन्य आर्थिक गतिविधिका आधारशीला बनेका छन् । साथै, दुर्दिनका वखत भने यही जलसम्पदाले हामीलाई तहसनहस पारेको छ र धेरै परिवारलाई दुःख दिएको छ । हामीले सकारात्मक सहकार्यबाट नै उपलब्ध जलसम्पदाको सर्वोत्तम उपयोग गर्न सक्दछौं र नदीहरुले यदाकदा हामीलाई पुर्‍याउने भयावह क्षतिको न्यूनीकरण गर्न सक्दछौं ।
म किञ्चित संकोच नमानी भन्दछु कि पर्याप्त प्राकृतिक तथा मानवीय स्रोतले भरिपूर्ण भएर पनि हामी अझै पिछडिएका छौं । यो भूभाग विश्व मानचित्रमा अझै पनि अतिकम विकसित भनेर चिनिन्छ । तर हाम्रा पुर्खाले हामीलाई यस्तो धरोहर सुम्पेर गएका होइनन् ।
नेपालको सन्दर्भमा हाम्रो राजधानी शहर हेरौं । काठमाडौंको सम्पन्न सांस्कृतिक सम्पदा, उत्कृष्ट वास्तुकलाले भरिपूर्ण मन्दिरहरु र सार्वजनिक स्थलहरु, दुवै किनारामा पाटीपौवा तथा मन्दिरहरुले सजिएको वागमती नदी, त्यो वेलाको शहरी भवन संरचनामा देखिने कलात्मक सुन्दरता सबैले हाम्रो विगत गौरवमय थियो भन्ने संकेत गर्दछ । इशापूर्व तेस्रो शताब्दीको काठमाडौंको समृद्धिको वर्णन कौटिल्यको “अर्थशास्त्र”मा समेत पाइन्छ ।
विहारको सन्दर्भमा हामी सबैलाई थाहा छ कि यसको विगत गौरवमय थियो । इतिहासको विभिन्न कालखण्डमा विभिन्न नामले चिनिने आजको विहार प्राचीन भारतको शक्ति, विद्धता र संस्कृतिको केन्द्र थियो । यो ठाउँ जहां आज म उभिएको छु विगतमा एक समय पाटलीपुत्रका नामले चिनिन्थ्यो र यो क्षेत्रका मानिसहरुवीच मात्र होइन विश्वभरिनै वैभवशाली ठाउँका रुपमा परिचित थियो । यस क्षेत्रका नालन्दा र विक्रमशीलाको नाम त यस धर्तीमै सवैभन्दा पुराना विश्वविद्यालय रहेका ठाउँका रुपमा ख्यातिप्राप्त छन् ।
यो ऐतिहासिक विकासको दौडमा हामी कसरी पछाडि पर्‍र्यौ ? उत्पादनको कुनै खास सामाजिक विधि अन्तर्गत विकासको माथिल्लो खुडकिलोमा रहेका मुलुक तथा क्षेत्रहरुले विकासको अर्को ऐतिहासिक चरणमा समयमै संक्रमण गर्न नसक्दा पछाडि पर्दछन् । सामन्ती वा कृषि युगमा दक्षिण एसियाको यो भूभाग जहाँ नेपाल र विहार छ अरु क्षेत्र भन्दा समृद्ध थियो तर जब कतिपय आन्तरिक तथा वाहृय कारणले गर्दा नयाँ पूँजीवाद तथा औद्योगिकरणमा समयमै यो क्षेत्रले प्रवेश गर्न सकेन तब यो क्षेत्र पछाडि पर्न थाल्यो । तसर्थ यो घडीमा त्यो ऐतिहासिक संक्रमणलाई द्रुत गतिमा लैजानु आवश्यक भएको छ ।
श्री नीतिश कुमारजीको स्पष्ट दृष्टिकोणसहितको नेतृत्व अन्तर्गत विहारले आर्थिक क्षेत्रमा मात्र होइन मानव विकासका सबै सुचकहरुमा तीव्र प्रगति गरेको छ भनेर सुन्दा खुशी लाग्छ । तपाईहरुको राज्य आज भारतीय गणतन्त्रका राज्यहरुमध्ये तीव्र आर्थिक वृद्धि हासिल गर्ने राज्य भएको छ । विहारमा व्यवसायिक विश्वसनीयता उल्लेख्य रुपमा बढेको छ । हालका महिनाहरुमा विहार भ्रमणमा आउने धेरै नेपालीलहरुले फर्केर मलाई वताउने गर्छन कसरी विहारले नागरिक सुरक्षालाई मजवुत बनाएको छ र भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिलाई तिव्रता दिएको छ । धेरै नेपालीको आँखामा विहार अहिले विकास, आर्थिक उन्नति र सामाजिक समावेशीकरणको रोल मोडेल भएको छ । मलाई लाग्छ कि तपाईहरुले अझै धेरै गर्न बाँकी होला, कोशौं लामो यात्रा अझै बाँकी छ होला । तर तपाईहरुले यो छोटो अवधिमा जे जति हासिल गर्नु भयो त्यसले हामीमा पनि इष्र्याभाव जगाएको छ ।
हामी नेपालमा एउटा अतुलनीय राजनीतिक संक्रमणको चरणमा छौं । हामी निर्वाचित संविधान सभाबाट नयाँ गणतान्त्रिक संविधान निर्माण गर्ने र संघीय ढाँचामा राज्यको पूनर्संरचना गर्ने प्रक्रियामा छौं । ठूलो आँधीपछि जसरी पानी थामिन समय लाग्छ, हामी त्यस्तै एउटा चरणमा छौं । कसै-कसैलाई यो लम्बिदै गएको अस्थिरता जस्तो लाग्न सक्ला । तर सत्य त्यो होइन । हामी सहमतिको विन्दु प्राप्त गर्नका लागि लाग्ने समय र धैर्यताको बारेमा जानकार छौं । हामी सचेत छौं कि सर्वोत्तम समाधानहरु लोकतान्त्रिक विधिबाट मात्र प्राप्त गर्न सकिन्छ । हामीले यस्तो विधि अवलम्बन गरेको छौं जसमा केही सीमित व्यक्तिहरुको हालीमुहाली छैन, बरु आमजनताको व्यापक सहभागिता छ । एकदम सही भनिएको छः “लोकतन्त्रको सबैभन्दा उच्च मापन भनेको कति स्वतन्त्रता प्राप्त छ वा कति समानता प्राप्त छ भनेर होइन बरु कतिसम्म व्यापक सहभागिता छ भनेर गरिनु पर्दछ ।” यसैले हामीहरु सहभागितामूलक लोकतन्त्रको एउटा नयाँ मोडेल विकास गर्ने क्रममा छौं, जसको उत्पीडित वर्ग, जाति, क्षेत्र, महिला तथा दलीतलाई राज्यका सबै अंगमा पुर्‍याउन सकोस् ।
वर्तमान राजनीतिक रुपान्तरणलाई सबैको सहमति हुने गरी बढाउँदै गर्दा हामीहरुले वास्तवमा जनताको खुशी आर्थिक समृद्दिमा मात्र प्राप्त हुन सक्दछ भन्ने बिर्सेका छैनौ । प्रत्येक नागरिकलाई इज्जतका साथ बाँच्न पाउने हक छर त्यो हामीले सुनिश्चित गर्नु पर्दछ । त्यसपछि मात्र हामीले दिगो विकास प्राप्त गर्न सक्छौं र नयाँ राजनीतिक व्यवस्था संस्थागत हुन सक्दछ ।
हामी अहिले तीव्र आर्थिक वृद्धि हासिल गर्ने बाटोमा अगाडि बढ्न खोज्दै छौं । मलाई लाग्छ कि हाम्रो अर्थतन्त्रलाई उच्च वृद्धिको रेखामा अगाडि बढाउन हामीले विहारबाट धेरै कुरा सिक्न सक्दछौं । केही क्षेत्रमा त हामीले असल परिणामका लागि परस्पर सहकार्य पनि गर्न सक्दछौं ।
अव नेपालमा हामीले के कुरामा जोड दिदै छौं र नेपाल र भारतले परस्पर लाभका लागि कसरी सहकार्य गर्न सक्दछन् भन्ने विषयमा केही कुरा राख्न चाहन्छु ।

विकासको स्पष्ट सोचः

सर्वप्रथम बाँकी विश्वलाई भेट्टाउन र त्यो भन्दा अगाडि बढ्न विकासको स्पष्ट र नयाँ सोच हुनु आवश्यक छ । विस्तारै घस्रने तरिकाले हामी त्यो गन्तव्य प्राप्त गर्न सक्दैनौं । हामीले सकेसम्म छोटो समयमा गरीवीबाट समृद्दिको दिशामा ठूलै छलाङ्ग मार्नु पर्छ । यसका लागि हामीसंग स्पष्ट सोच हुनु पर्दछ । हाम्रा प्राथमिकताहरु सही हुनु पर्दछ ।

गरीवी र बेरोजगारी तथा अर्धवेरोजगारी नै हाम्रा दुई ठूला समस्या हुन् । यी समस्या परम्परागत कृषि र ग्रामीण क्षेत्रमा जकडिएर रहेकाले कृषिको रुपान्तरण नै हाम्रो सर्वोपरी प्राथमिकता हुनु पर्दछ । बैज्ञानिक भूमिसुधारसंगै कृषिको आधुनिककरण र व्यवसायिकरणको न्यायोचित सम्मिश्रणबाट मात्र हामीले तीब्र विकासको लक्ष्य हासिल गर्न सक्छौं र सामाजिक समानता सुनिश्चित गर्न सक्दछौं । यदि वहुसंख्यक जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिएन भने विकासको कुनै अर्थ रहदैन ।

हाम्रो अर्को सोच, एउटा लामो अवधिसम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने विषयमा केन्दि्रत हुनु पर्दछ । यसका लागि हामीले उत्पादनशील क्षेत्रमा आन्तरिक तथा वाहृय लगानी ठूलो आकारमा परिचालन गर्नु आवश्यक छ । नेपालमा सन्दर्भमा पर्यटन, जलस्रोत, कृषि तथा वन, पूर्वाधार जस्ता क्षेत्रहरु हामीले लगानीका संभाव्य क्षेत्रका रुपमा पहिचान गरेको छौं । केही समय अघिमात्र एउटा उच्च-स्तरीय लगानी बोर्ड खडा गरिएको छ र सन् २०१२/१३ लाई नेपाल लगानी वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिदैछ ।

निश्चय पनि आर्थिक वृद्धिसंगै सामाजिक न्याय पनि कायम गरिनु पर्दछ । मुलुकमा वर्गीय, जातीय, लिङ्गीय र भौगोलिक असमानता उच्च रहेको सन्दर्भमा सबै नागरिकलाई समेटन सामाजिक सुरक्षाको कार्यक्रम हुनु अनिवार्य हुन्छ । अन्यथा कुनैपनि किसिमको विकास दिगो हुँदैन । सामाजिक द्वन्द्वको खतरा सधै खुलै रहन्छ ।

सुशासनः

कानूनको शासन र उत्तरदायी सरकार विना अर्थतन्त्रमा अवसरहरुको सिर्जना गर्न सकिदैन । सुरक्षा दिन सकिएन र सहयोगी वातावरण निर्माण गर्न सकिएन भने भएका आर्थिक अवसरहरुलाई पनि वास्तविक लाभमा रुपान्तरण गरेर जनता जसका निमित्त हामी राजनीति गर्छौ तिनको समृद्दिमा वृद्धि गर्न सकिदैन । सरकारले प्रभावकारी रुपमा सहयोगी, सहजकारी र असल नियामकको रुपमा काम गर्ने ठाउँमा नै आर्थिक गतिविधिहरु विस्तार हुन्छन् । हामीले नेपालमा हाम्रो सुधार कार्यक्रमको अग्रपंक्तिमा शासकीय सुधारलाई राखेका छौं । सरकारले हालै शासकीय सुधार कार्ययोजना घोषणा गरेको छ र कुनै मोलाहिजा विना कार्यान्वयन गर्न दृढ छ । हामी भ्रष्टाचार निवारण संस्थाहरु सुदृढ गर्दै छौं र भ्रष्टाचार निवारण सम्बन्धी कानूनहरु प्रभावकारी बनाउन पुनरावलोकन गर्दैछौं ।

हामीले एउटा जीवन्त लोकतन्त्रको सोच बनाउने हो भने राजनीतिक दलहरुको वित्तीय सोतका लागि पारदर्शी र उपयुक्त प्रणाली बसाउनै पर्दछ । ठूलो भ्रष्टाचारको एउटा प्रमुख कारण नै राजनीतिक दलहरुको अस्वस्थ्य वित्तीय-प्रणाली हो । हामीले नयाँ संविधान बनाउदै गर्दा भविष्यमा भ्रष्टाचार हुन नदिन तथा सुशासन प्रवर्द्धन गर्न राजनीतिक वृतका लागि उपयुक्त प्रवन्ध गर्ने सोच पनि बनाएका छौं ।

निःशुल्क तथा गुणस्तरीय शिक्षा:

दीर्घकालमा अरु केहीले भन्दा पनि बढी गुणस्तरयुक्त जनशक्तिले मुलुकलाई लाभ दिन्छ र यसका लागि आधारभूत शिक्षाको ठूलो महत्व छ, किनकि यो नै सीपयुक्त जनशक्ति विकासको आधारशीला हो । त्यही भएर हामीले आधारभूत शिक्षालाई उच्च प्राथमिकता दिएका छौं, जो निःशुल्क होस् । विभेदकारी नहोस् । एउटा अलग्गै सभ्रान्त वर्गको सिर्जना गर्ने आधारभूत शिक्षा प्रणालीले भविष्यमा विभेद र असन्तोषको विजारोपण मात्रै गर्दछ । प्रत्येक व्यक्तिले आफू सशक्तिकरण भएको महशुस गरेमा मात्र लोकतन्त्र सफल हुन सक्दछ र यो सर्वसुलभ, निःशुल्क र गुणस्तरीय शिक्षाबाट मात्र प्राप्त हुन सक्दछ ।

उच्च शिक्षा अहिलेको जमानामा विलासिताको विषय होइन । ज्ञानमा आधारित अर्थतन्त्रको आजको यो युगमा उच्च शिक्षा आर्थिक विकासका लागि एउटा अत्यावश्यक शर्त हो । निजी उच्च शिक्षा अत्यन्त महँगो र सर्वधारणको पहुँच भन्दा बाहिर छ भने सार्वजनिक उच्च शिक्षा असक्षमताले ग्रस्त छ । आधारभूत शिक्षा प्रदान गर्न सार्वजनिक स्रोतको ठूलो हिस्सा जाने हुँदा उच्च शिक्षामा सरकारी लगानी ज्यादै कम छ । सरकारी लगानी यति थोरै छ कि त्यसबाट गुणस्तरको अपेक्षा गर्न सकिने कुनै गुन्जाइस छैन । यहानिर म योग्य विद्यार्थीहरुलाई सुपथ मूल्यमा उच्च शिक्षाको अवसर दिन सार्वजनिक-निजी साझेदारीको सम्भावना देख्छु । कुनै आर्थिक स्रोत नभएका योग्य विद्यार्थीले छात्रवृत्तिमा सहज पहुँच पाउनु आवश्यक छ ।

अझ खास गरी हामीले अर्थतन्त्रको संक्रमणकालीन चरणमा विज्ञान र प्रविधिको शिक्षामा जोड दिनु आवश्यक छ ।

स्वास्थ्य सेवाः

नेपालले हालका केही वर्षहरुमा धेरै स्वास्थ्य सूचकहरुमा उल्लेख्य प्रगति गरेको छ । तथापि हामीहरु अझै पनि गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा अरु धेरै मुलुकहरुकेा तुलनामा पछाडि नै छौं । हामीले अधिकांश आधारभूत स्वास्थ्य सेवा निःशुल्क पनि गरेका छौं । तर सेवाको गुणस्तर चाहेभन्दा धेरै तल छ । हामीले आधारभूत स्वास्थ्य सेवामा ध्यान केन्दि्रत गरेका छौं, तर जव मैले क्यान्सर, मुटुरोग, मृगौला सम्बन्धी रोगहरु जस्ता खर्चिलो उपचार पर्ने रोगको उपचार गर्ने आर्थिक हैसियत नभएर विपन्न वर्गले असमयमै ज्यान गुमाउनु परेको देख्छु मलाई भित्रैदेखि पीडा हुन्छ । आधुनिक उपचार पद्धति ज्यादै प्रभावकारी छन् तर ती उत्तिकै खर्चिला पनि छन् । हामीले मुटुरोग, क्यान्सर, मृगौला रोगको उपचारका लागि केही सामाजिक सुरक्षाको कार्यक्रम चलाएका छौं । तर यो आवश्यकताको तुलनामा ज्यादै कम छ । हामीले उपचार खर्च कम गर्ने नयाँ विधिहरु सोच्नै पर्ने भएको छ । साथै विपन्न वर्गको सहज पहुँचमा यस्तो सेवा पुर्‍याउन बीमा प्रणाली स्थापित गर्नु आवश्यक छ ।

पूर्वाधारः

नेपालमा भौतिक पूर्वाधारको अवस्था दयनीय नै छ । असल पूर्वाधार बिना आर्थिक वृद्धि र रोजगारी सिर्जना सम्भव हुँदैन । जीर्ण पूर्वाधारकै कारण हामीले कृषि र पर्यटन क्षेत्रमा रहेको पूरै सम्भावना लाभमा रुपान्तरण गर्न सकेका छैनौं । किसानहरुले धेरै कुरा खोजेका छैनन् । उनीहरुलाई विश्वसनीय सिंचाइ प्रणाली चाहिएको छ ताकि वर्षमा एक बालीमा मात्रै आश्रति हुनु नपरोस्, बीऊ कहिले रोप्ने भनेर पानीका लागि आकासतिर हेर्न नपरोस् । उनीहरुले आˆनो अधिक उत्पादन बजारसम्म गुणस्तरमा कुनै कमी हुन नदिई पुर्‍याउन राम्रो सडकको चाहना राख्दछन् । बजार मूल्यको लाभ लिन आˆना उत्पादनहरु सुरक्षित भण्डारण गर्न उनीहरुलाई भण्डारस्थल चाहिएको छ । मूल्य अभिवृद्धि लाभ लिन छरछिमेकमै प्राथमिक प्रशोधन केन्द्र भैदिए उनीहरुलाई अझै राम्रो ।

त्यसैकारण हामीले अहिले सडक सञ्जाल विस्तार गर्न जोड दिएका छौं । जसको कारण अभिष्ट ग्रामीण क्षेत्रलाई बजार केन्द्रसंग जोड्नु रहेको छ । हामीले हाम्रो वित्तीय स्रोत सिंचाइका सबै सम्भावनाहरुलाई यथार्थमा रुपान्तरित गर्न पनि केन्दि्रत गरेका छौं । सार्वजनिक गोदामहरुको सञ्जाल विस्तार गर्न पनि ध्यान दिएका छौं ।

खानी होस् वा उद्योग, पर्यटन होस् वा कृषि, शिक्षा वा स्वास्थ्य सबैजसो आर्थिक क्षेत्रका लागि नियमित उर्जा आपूर्ति सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो । सूचना प्रविधि र सबै किसिमका ज्ञानमा आधारित उपार्जन त पूरै उर्जाको अविछिन्न आपूर्तिमा आधारित हुन्छन् । यहाँनिर सरकारका सामू ठूलो दायित्व छ किनकि यो काम निजी क्षेत्रले गर्न सक्तैन । उच्च क्षमताका विद्युत प्रसारण लाइन निर्माण र ग्रामीण क्षेत्रमा उर्जा प्रसारण लाइनको विस्तारका लागि सरकार नै लाग्नु पर्दछ । र, प्रसारण लाइन विना त निजी उत्पादकहरुले जलविद्युत आयाजनाको विकास गर्न पनि सक्दैनन् ।

रोजगारीको सिर्जनाः

हाम्रा आर्थिक नीतिहरुले समतामूलक आर्थिक वृद्धि हासिल गर्नु पर्दछ । आम मानिसलाई कुनै अर्थ नलाग्ने अङ्कहरुले मापन गरिने ‘उत्पादन वृद्धि’ गरेर मात्रै पुग्दैन । हाम्रो आर्थिक वृद्धि समावेशी पनि हुनु पर्दछ र युवाहरुलाई लाभदायी रोजगारीका अवसरहरु उपलब्ध गराउन सक्नु पर्दछ । पश्चिमा विकसित मुलुकहरुको विकृत आर्थिक वृद्धिको रणनीति जसले वित्तीय संकट र रोजगारीमा खती ल्यायो । त्यसबाट हामीले पाठ सिक्नु आवश्यक छ । त्यसकारण हामीले लिने प्रत्येक नीतिगत उपायले रोजगारीका लाभदायी अवसरहरु कति सिर्जना गर्न सक्यो भनेर परीक्षण गरिनु आवश्यक छ । हामीले शुरु गरेको स्वरोजगार कार्यक्रमले हजारौं यूवाहरुलाई देशभित्रै स-साना उद्यम व्यवसाय शुरु गर्न प्रेरित गरेको छ । जो अन्यथा रोजगारीका लागि विदेशिने थिए ।

वातावरणीय मुद्दाः

हामीले समावेशी आर्थिक वृद्धिमा हाम्रो ध्यान केन्दि्रत गर्दा अन्तर-पुस्ता समतालाई विर्सनु हुदैन । हाम्रा भावी पुस्ताले लागत व्यहोर्नु पर्ने आज हामीले कुनै काम गर्नु हुँदैन । आर्थिक वृद्धिका लागि उपलब्ध सबै प्राकृतिक स्रोतको उपयोग गरिनु पर्दछ । यसो गर्दा हामीले स्थानीय समूदायको हित प्रवर्द्धन गर्न ध्यान अवश्य नै दिनु पर्दछ । हाम्रो आजको विकास प्रयासको बोझ भावी पुस्ताले बोक्नु पर्छ कि भनेर पनि हामीले हेर्नु पर्दछ । नेपाल र उत्तर भारतका सबै क्षेत्र र खास गरी पुरै विहार एउटै पर्यावरणीय प्रणालीमा छौं । हामीलाई चित्त नबुझ्ला तर प्रकृतिले हामीलाई यसैगरी राखेको छ । हामीले हिमालयको उच्च पहाडी श्रृंखलादेखि दक्षिण समथर भू-भागसम्मको पर्यावरणीय प्रणाली विग्रन नदिन सहकार्य गर्नै पर्छ ।

सामाजिक सुरक्षा तथा प्रतिनिधित्व:

हालैका विश्वव्यापी आर्थिक विकासका घटनाले विपन्न र उपेक्षित वर्गको सामाजिक सुरक्षा गर्न सकिएन भने जतिसुकै समृद्ध देश भएपनि जनतालाई खुशी राख्न सकिदो रहेनछ भन्ने प्रमाणित भएको छ । न्यायोचित वितरण विनाको आर्थिक वृद्धि निश्चित रुपमा दुर्घटनाको मसला हो भन्ने कुरामा कुनै शंका छैन । हामीले नेपालमा शासकीय प्रणालीमा सबैको सहभागिता सुनिश्चित गर्न केही ठोस काम गरेका छौं भन्दा मलाई गर्व हुन्छ । हामीले संविधानसभाको निर्वाचनका लागि यस्तो निर्वाचन विधिको चयन गर्‍यौ जसले अहिलेसम्मकै सवैभन्दा समावेशी सभाको निर्माण गर्‍र्यौ भनेर सबैले प्रशंसा गर्दछन् । हामीहरु अहिले प्रत्येक शासकीय संरचनालाई अझै प्रतिनिधिमुलक बनाउन नयाँ कानूनहरु निर्माण गर्दैछौं । सवल राज्यका लागि सबैको प्रतिनिधित्व अति आवश्यक हुन्छ, जहाँ प्रत्येक नागरिकले इज्जतका साथ आˆनो वृत्ति गर्न पाओस् । प्रतिनिधित्वका सवालमा हामी केही अगाडि भएपनि सुरक्षाका दिशामा हामीले अझै थुप्रै काम गर्न बाँकी छ । नेपालमा वृद्धावस्था आय सुरक्षा र जोखिममा रहेका वर्गलाई केही सामाजिक सुरक्षाको प्रवन्ध त छ तर यो पर्याप्त छैन तथा कतिपय अवस्थामा असक्षम पनि देखिन्छ ।

क्षेत्रीय आर्थिक एकीकरण:

मैले तपाईहरुलाई सम्वोधन गरिरहदा क्षेत्रीय आर्थिक एकीकरणका विषयमा नेपालको धारणा के हो बताउन जरुरी ठान्दछु । दक्षिण-एशियाली मुलुकहरुको क्षेत्रीय आर्थिक एकीकरणको बलियो पक्षधरका रुपमा नेपाल रही आएको छ । हामीले धेरै छलफल गर्‍यौं तर परिणाम खासै प्राप्त भएको छैन । आर्थिक एकीकरण नभएकै कारण हाम्रा मुलुकहरुका सीमा क्षेत्रहरु सवैभन्दा विपन्न छन् । नेपाल र विहार सीमाका वस्तीहरुमा यही अल्प-विकास र विपन्नता देख्न पाइन्छ ।

हामी नेपाल र भारतवीच र खासगरी सीमावर्ती भारतीय राज्यहरुसंग बलियो आर्थिक सहकार्यको पक्षमा छौँ । नेपालको प्रचुर जलविद्युत क्षमता परस्पर हितका निमित्त उपयोग गर्न सकिन्छ । पशुपतिनाथ, लुम्बिनी र जनकपुर नेपालका महान धार्मिक पर्यटकीय क्षेत्र हुन् । दुवै क्षेत्रमा संयुक्त लगानीका उपक्रमहरु खडा गर्ने प्रचुर सम्भावना छ । यस नीतिमा दुवै देशका राजनीतिक नेतृत्वमा समझदारी, सद्भावना र दुरदृष्टिको मात्र खाँचो छ । आउनुहोस् यो वुद्ध र अशोकको भूमिहरुमा रहने हामीले मानवहितका लागि सहकार्य गरौं र एक्काइसौं शताब्दीको नेतृत्व गरौं ।

निश्कर्षमा,

मलाई विश्वास छ कि यी तीन दिनहरुमा तपाईहरुले मैले भर्खरै उठाएका मुद्दाहरु छलफल गर्नु हुनेछ । निश्चय पनि यो छलफलले विहारलाई लाभ पुग्नेछ । तर तपाईहरुले यहाँ जे छलफल गर्नु हुनेछ त्यो तपाईहरुको सीमापारि नेपालमा पनि उपयोगी हुनेछ । मेरो टोलीका केही सदस्यहरु तपाईहरुबाट केही सिक्न र नेपालको अनुभव बाड्न सम्मेलन अवधिभर यहाँ रहनेछन् ।

अन्त्यमा, म श्री नीतिश कुमारजीलाई उहाँको उपलब्धीहरुका लागि बधाई दिन चाहन्छु । विहारको अग्रगामी रुपान्तरणमा योगदान पुर्‍याउने विहारका प्रत्येक नागरिकहरुलाई म बधाई दिन चाहन्छु । तपाईहरुको गौरवमय इतिहास छ । तपाई त्यही गौरवमय विगतको पुर्णप्राप्तिका निमित्त कस्सिनु भएको छ । मलाई विश्वास छ, तपाईहरुलाई अब कसैले रोक्न सक्तैन ।

यो शिखर सम्मेलनमा भाग लिन आमन्त्रण गर्नु भएकोमा म धन्यवाद दिन चाहन्छु र तपाईहरुले म र मेरो टोलीलाई दिनु भएको आत्मीय आतिथ्यले म अनुगृहित भएको छु ।

श्री नीतिश कुमारजी, म यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु ।

म यो शिखर सम्मेलनको सफलताको कामना गर्दछु र विहारका सम्पूर्ण जनताको समृद्धि र खुशियालीको कामना गर्दछु ।

यहाँहरु सबैलाई धैर्यतापूर्वक सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

५ फागुन २०६८, पटना विहार ।

तपाईको प्रतिक्रिया